भारतीय कांग्रेसको ट्वीट, नेपाली प्रधानमन्त्रीको रिट्वीट: भएको के हो?



०५ पुष २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीको भिडियो रिट्वीट भएको छ।

प्रधानमन्त्री ओलीको आधिकारिक ह्यान्डलबाट गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडियो रिट्वीट भएको हो। भारतीय कंग्रेसको आधिकारिक ट्वीटरमा राखिएको उक्त भिडियोलाई ‘शिभम विज’ नाम गरेका ट्वीटर ह्यान्डलले रिट्वीट गरेको थियो।

उक्त भिडियोलाई नै प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट भएको हो। शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीको ह्यान्डलबाट गान्धीले बोलेका भिडियो रिट्वीट भएको थियो। अहिले भने त्यो रिट्वीट हटाइएको छ।

गान्धीले भारतमा हाल जारी नागरिकता विधेयकविरूद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय दल भाजपाको आलोचनामा गर्दै ट्वीटमा राखेको भिडियो प्रधानमन्त्री ओलीको ह्यान्डलबाट रिट्वीट भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चर्चा गरेका छन्।

भिडियोमा गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले जनताको आवाज सुन्नुपर्ने उनले भिडियोमा बताएकी थिइन। प्रधानमन्त्री ओलीको ह्यान्डलबाट गान्धीले गरेको ट्वीट रिट्वीट भएपछि कलकता डेटलाइनबाट द टेलिग्राफको अनलाइन संस्करणले ‘रहस्यमय’ भन्दै समाचार नै बनाएको छ।

गान्धीको ट्वीट ओलीको ह्यान्डलबाट रिट्वीट भएको भुटानका पत्रकार तेञ्जिङ लामसाङले लेखेका थिए।

योसँगै प्रधानमन्त्री ओलीको ह्यान्डलबाट रिट्वीट गरेको स्क्रिनसट राखेर नेपालमा पनि चर्चा भइरहेको छ।

छानबिन हुँदैछः प्रमका प्रेस सल्लाहकार सूर्य थापा

घटनाबारे छानबिन भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

‘हाम्रो आइटी टिमले छानबिन गरिरहेको छ।’ उनले भने, ‘कसैले पासवर्ड दुरूपयोग गरेको हो कि भनेर खोज्दै छौं।’ पासवर्ड दुरूपयोग गरी कसैले ह्याक गरेर रिट्वीट गरेको पनि हुन सक्ने अनुमान उनले गरे।

यदि उनको ह्यान्डल ह्याक नै भएको भए पनि यति चाँडै कसरी रिट्वीट हटाउन सकिन्छ? उनको निजी सचिवालयका सदस्यले जानेर वा नजानेर रिट्वीट गरेका हुन् कि? प्रश्न उठेको छ।

उक्त ट्वीटर ह्यान्डल प्रधानमन्त्री र उनको सचिवालयले सञ्चालन गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्