बाबुरामको ‘हिसिला सपना’ चकनाचुर



०५ पष २०७६, काठमाडौं

आगामी ९ माघमा राष्ट्रिय सभा चुनाव हुँदैछ। जसका लागि गत बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच दुई बुँदे सहमति भएको छ।

उक्त दुई बुँदे सहमतिले समाजवादी पार्टी नेपाललाई भने ठूलो धक्का पुगेको छ।

माघ ९ मा १८ जना सदस्यका लागि निर्वाचन हुँदैछ। १९ जना सदस्यको पद रिक्त हुने भएपनि एक जना भने राष्ट्रपतिले मानोनित गर्ने प्रावधान छ। निर्वाचन हुन लागेको १८ सदस्यमध्ये प्रदेश २ बाट ४ जना सांसद निर्वाचित हुँदै छन्। उक्त ४ सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो।

त्यसका लागि समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एकचोटी कुराकानी पनि गरिसकेका थिए।

अध्यक्ष प्रचण्डले राष्ट्रिय सभामा तालेमल गर्ने आवश्वासन पनि दिएका थिए। ‘त्यसका लागि थप कुरा पछि गरौंला’ प्रचण्डले भनेका थिए। प्रचण्डसँग छलफल गरेर उपेन्द्र यादव बंगलादेशको भ्रमणमा निस्के।

जब उनी भ्रमणमा निस्के, त्यसपछि यता नेपालमा भने अर्कै हुन थाल्यो। यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसँग पनि यो कुरा राखेका थिए।

यादवले राष्ट्रिय सभाको चुनावमा आफूहरुले नेकपासँग तालमेल गर्न लागेको र तपाईँहरु के गर्नुहुन्छ गर्नुस् भनी प्रतिक्रिया दिएका थिए। त्यसले संयोजक महतोलाई निकै पिरोलिरहेको थियो।

एकीकरणको कुरा आफूहरुसँग गर्ने र चुनावी तालमेल नेकपासँग गर्ने यो सहयीय हुँदैन भनी महतोले आफ्नो ध्यान नेकपातिर सोझ्याएको राजपा नेपालका अध्यक्षमण्डलका एक सदस्य बताउँछन्।

यो कुरा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कानसम्म पुग्यो। उनले आफ्ना पक्षका नेताहरुलाई राजपा नेपालका नेताहररुसँग कुरा गर्न लगाएका थिए।

प्रधानमन्त्री ओलीले त्यतिकै पनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन पराइरहेका थिएनन्। ‘राजपा नेपालका नेताहरुसँग कुरा गरेपछि तत्कालै छलफल गर्ने कुरा तय भयो। बैठक बस्नुअघि नै सहमति पत्र तयार भइसकेको थियो। धेरै लामो छलफल पनि भएन। एजेण्डामा प्रवेश गर्यो। उता प्रधानमन्त्री ओली पनि तयार थिए। यता राजपा नेपालका नेताहरु पनि भित्रैदेखि तयारी भएर आएका थिए।’बालुवाटार श्रोतले भनेको थियो। “प्रचण्डले भने यति चाँडै के को आपत्ति भन्दै छलफल टार्न खोजेको थिए। प्रचण्डका इच्छा यत्ति छिट्टै छलफल नटुगिंयोस् भन्ने थियो। तर प्रधानमन्त्री ओली र राजपा नेपालका नेताहरु माइण्ड मेकअप गरेर आएका हुनाले तुरुन्तै तुरुन्तै काम भयो।”

हिसिलालाई राष्ट्रिय सभा सदस्यः

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारबाट हट्न दवाव दिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सभामा हिसिला यमीलाई सदस्य बनाउने बचन दिएका थिए।

पार्टीलाई सरकारबाट बाहिरिने दवाव नदिनुस् भन्दै हिसिला यमीलाई राष्ट्रियसभाका सदस्य बनाउने आफूले प्रयास गर्ने पनि अध्यक्ष भट्टराईलाई वचन दिएका थिए।

सोही आधारमा दुवैजनाबीच अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रियसभामा सिटको तालमेल गर्ने कुराकानी भएको थियो।

हिसिलालाई राष्ट्रिय सभा सदस्य बनाउने बाबुरामको सपना रहेनः

नेकपा र राजपाबीचको सहमतिसँगै हिसिला यमीलाई राष्ट्रिय सभाको सदस्य बनाउने बाबुरामको सपना चकनाचुर भएको छ।

उप–चुनावमा राजपा नेपालले समाजवादी पार्टीसँग तालमेल गर्न आग्रह गरेको थियो। तर, सो पार्टीले कुनै वास्ता गरेन। समाजवादी पार्टीले पार्टी एकीकरणको कुरा गरे पनि व्यवहारमा नदेखाएको गुनासो राजपा नेपालका नेताहरुको छ।

त्यही भएर राष्ट्रिय सभाको निर्वाचनमा समाजवादी पार्टीको बाटो नपर्खेर नेकपासँग तालमेलको लागि हात बढाएको ती दलका नेताहरु बताउँछन्।

तालमेल यहीँ रोकिन्छ?

नेकपा र राजपाबीचको सहकार्य यतिमा मात्र रोकिने छैन, सम्भवतः। किनकी, उनीहरुबीच प्रदेश नं. २ को सरकार पनि मिलेर बनाउने आन्तरिक सहमति भएको छ।

राजपा नेपालका एकजना महासचिवले भनेका छन्, ‘फागुनसम्ममा नेकपा र राजपा नेपालको संयुक्त सरकार बन्छ।’ संघीय सरकारमा पनि कतै न कतै राजपा नेपालको सहभागिता हुन्छ भने उता २ नं. प्रदेशमा अविश्वासका प्रस्ताव ल्याएर समाजवादी पार्टीका मुख्यमन्त्रीलाई हटाएर नेकपा र राजपा नेपालमध्येबाट मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली संविधान संशोधनका लागि पनि केही लचिलो देखिन्छन्। अगामी दिनमा वार्ता र संवादमार्फत् यसलाई अगाडि बढाउन कुराकानी भइरहेको स्रोतले बताएको छ।

नेकपा–राजपा सहमति ‘दोहोरो चरित्र’: समाजवादी 

समाजवादी पार्टी नेपालले नेकपा–राजपाबीचको सहमतिलाई दोहोरो चरित्रको संज्ञा दिएको छ।

‘यो कुरा चुनावमा सबैसँग ट्याक्टिकल कुरा भइरहेको थियो। यसलाई ठूलो कुरा मानिदैँन। लोजिकल रुपमा हामीलाई गाली गर्ने राजपाले सत्तारुढ दलसँगै २ बुँदे सहमति गरेर दाहोरो चरित्र देखायो।’समाजवादी पार्टीका प्रचार विभागका प्रमुख प्रशान्त सिंहले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्