‘आफूले गरेको कामप्रति म पूर्ण सन्तुष्ट छु’ : वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ



०४ पुस २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ २०३४ साल बैशाख २५ गते चुनिखेल गाउँ पञ्चायतमा जन्मिएका हुन् । औपचारिक शिक्षा एसएलसीसम्म मात्र गरेका श्रेष्ठले ११ वर्षको छँदा पढाई शुरु गरेका थिए । ढिला पढाई सुरु गरेतापनि विद्यालय टेकेको ७ वर्षमै उनले एसएलसी पास गरेका हुन् ।  नौलिन मावि चुनिखेलबाट अध्ययन शुरु गरेका उनले ८, ९ र १० कक्षा भने अरुणोदय मावि आरुबारी गई पुरा गरेका थिए ।

विद्यार्थीकालदेखि नै सङ्गठनमा आवद्ध भएका वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ विद्यालयको  कक्षामा मनिटर हुँदा समेत चुनावी पद्धति बाटै आफू चुनिएको अनुभव सुनाउँछन् । २०४५/४६ सालदेखि नै राके जुलुसमा प्रत्यक्ष सहभागी भई ०४७ सालदेखि युवा संघमा आबद्ध भएर पार्टीलाई सहयोग गरेको समेत उनी बताउँछन् । २०५० सालमा काठमाडौं क्षेत्र नं. २ युवा संघको विशेष जिल्ला कमिटीको उपसचिव भएर काम काम गर्दै ०५५ सालमा नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्यता लिएका उनले त्यसपश्चात ०५८ सालमा चुनिखेल गाउँ पार्टी कमिटी सचिव भएर काम गरेका थिए । संगठनमा सक्रियताका साथ लागेका वडाध्यक्ष श्रेष्ठको घरमा साथीभाईको जमघट तथा राजनीतिक गतिविधि बढ्न थालेपछि उनलाई सेनाले  गस्ती तथा निगरानीमा राखेका थिए । सेनाको कारण घर तथा टोल छिमेकमा समस्या आउन थालेपछि बाध्य भएर उनी खाडी मूलुक जानु परेको अनुभव समेत सुनाउँछन् । त्यहाँ उनले ३०/३२ महिना बिताएका थिए ।

२०६१ सालमा नेपाल आएर ०६२/६३ को जनआन्दोलनमा कमाण्डरको रुपमा १९ दिने आन्दोलनलाई सफल पार्न तत्कालिन नेकपा एमालेका जिल्ला कमिटी सचिव निर्मल कुईकेलसँग साझेदारी गरेका थिए ।

वडावासीको साथ सहयोगको लागि पहिल्यैदेखि अग्रसर वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘मर्दा पर्दा म सबै भन्दा अगाडी नै पुग्ने गर्छु म कोही कसैको दु:ख हेर्न सक्दिन ।’ सोही ठाउँमा पहिला एउटा एम्बुलेन्स समेत नभएर विरामी हुँदा माटो ढुङ्गा बोक्ने निसान गाडीमा गर्भवति महिलालाई अस्पताल समेत लान बाध्य हुनुपरेको घटना सुनाउदै अध्यक्ष श्रेष्ठले त्यसछि आफैँले एउटा अल्टो गाडी किनेर आफ्नै खर्चमा गाउकै निमित्त एउटा एम्बुलेन्सको जस्तो काम गरेको बताए ।

हाल बूनपा १३ मा आफ्नै एम्बुलेन्स हुँदा थप सहज भएको महसुस गर्न पाएकोमा उनी खुशी ब्यक्त गर्छन् । काम गर्दै जाने सिलसिलामा आफूले धेरै संगठनमा बसेर विभिन्न काम गरेको समेत उनी बताउँछन् । २०७४ सालको स्थानीय निर्वाचनमा आफ्नो लागि भन्दा पनि गाउँ समाजको लागि मैले उम्मेदवारी दिनुपर्छ र गाउँको सेवा गर्न समेत गाउँलेहरुले तपाई नै अध्यक्षमा उठ्नुपर्छ भन्ने प्रताव राखेर आफूलाई सर्वसम्मतीका साथ वडाध्यक्षमा निर्वाचित भएको बताउँछन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा उपत्यकाको सबैभन्दा पहिलो निर्वाचित जनप्रतिनिधि हुँदा निकै हर्षित भएको बताउने उनी भन्छन्, ‘बूनपा १३ नगरकै अविकसित ठाउँ थियो त्यसमा सबैभन्दा समस्या बाटाको थियो । निर्वाचन भए पश्चात मैले बाटोको लागि पहल गरे । त्यसपछि यहाँसम्म बस आउने सडकको निर्माण गरियो । त्यसले हालसम्म पनि निरन्तरता पाईरहेको छ । यो वर्ष सम्पूर्ण बाटोको काम पुरा गर्न प्रतिबद्ध छु । विकास निर्माणको पहिलो आधार भनेकै पुर्वाधार हो त्यसमा पनि सडक, खानेपानी, शिक्षा र स्वास्थ्यमा विशेष जोडका साथ काम गरिरहेको छु ।’

सडक बाटोमा विशेष जोड
नेपाल सरकारको मातहतमा सडक विभागद्वारा निर्मित चुच्चेपाटी–कपन–फैका–चुनिखेल–चपली जाने सडक करिव ३ किमी सम्पन्न हुन लागेको उनी बताउँछन । वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘सडकमा सबैभन्दा बढि जोड दिएको छु किनकी सडक नै  भएन भने अन्य विकास निर्माण हुन सक्दैन । सापाटार, चुनिखेल ८५० मिटर ढल सहितको पिच र ढलान, त्यसैगरि बूनपा ८ संयुक्त बसपार्क बाट टुपेकको उक्कालोसम्म ४५० मिटर बाटो पिच भएको छ । टुपेकको वरालो लगभग ३०० मिटर ढलान भएको छ । त्यसैगरि गाम्चा नौलिनथानमा लगभग २०० मिटर ढलान सम्पन्न भएको छ । बूनपा १३ मा करिव १५ वटा सडकमा काम भईरहेको छ । त्यसमा पनि हाल तिब्रता पाएका भने पिकप्वाईन्टबाट टुसाल जाने बाटो ढल सहित ५०० मिटर पिच हुँदै, चियानेखोला दुई साइड गरेर १० किमि सडक ट्रयाक खोल्न ३ करोडको ठेक्कामा वाल लाउने काम हुँदै, कृषि सडक निर्माण सम्पन्न, चियाने खोलाको वताबु कृषि सडक र नायबु कृषि सडकमा दुईवटा कलभर्ट पुल निर्माण सम्पन्न तथा टुपेक नाठ्यश्वरी मार्गमा ट्रयाक खोल्न ग्रावेलिङ र ढल हाल्ने काम सम्पन्न भएको छ । त्यस्तै गाम्चामा नयाँ सडक बनाउने कार्य जारी रहेको तथा बूनपा १३ को सबैभन्दा बढी सँस्कृति झल्किने गाम्चा, टुपेक र टुसालका सबै पुुराना बस्तिहरुमा ढल सहितको ईट्टा बिछ्याउने कार्य सम्पन्न समेत सम्पन्न गरिरकेका छौं ।’

पार्क निर्माण
बूनपा १३ को टुसालमा एउटा पार्क निर्माण सम्पन्न गरि हाल अर्काे पार्क समेत निर्माणाधिन रहेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘गाम्चा भद्रकाली थानमा निर्माणाधिन पार्क सम्पन्न हुने अन्तिम चरणमा छ भने टुपेकमा एउटा पार्क निर्माण जारी रहेको छ । त्यसैगरि सापाटारमा एउटा पिकनिक स्पोर्टस् स्टाईलको पार्क निर्माण गरिरहेका छौं ।’

शैक्षिक पाटो
वडाभित्रका सामुदायिक विद्यालय २०७२ सालको भुकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएपछि सार्वजनिक जग्गा संरक्षण गरी नौलिन माविका २ वटा भवन निर्माण सम्पन्न गरिसकेको समेत वडाध्यक्ष श्रेष्ठ जानकारी गराउँछन् । उनी भन्छन्, ‘अर्को भवन निर्माणको कार्य हुने तयारीमा रहेको छ । त्यसैगरि जनउद्वार माविमा ४ कोठे भवन निर्माण सम्पन्न भएको छ ।’

सबै वडावासीको घरमा पानी सहितको धारा
तत्कालै ८ सय घरधुरीलाई घरघरमा पानी सहितको धारा वितरण गर्न अग्रसर वडाध्यक्ष श्रेष्ठले खानेपानीका पाईप विछ्याउने र डिप बोरिङको काम सम्पन्न हुन लागेको जानकारी गराए । उनी भन्छन्, ‘पाँच लाख लिटरको एउटा ट्याङकी र २ लाख ५० हजार लिटरको अर्को ट्याङकी निर्माण सम्पन्न भईसकेको छ । त्यसैगरि अर्को पाँच लाख लिटरको ट्याङकी बनाउने स्थानको खोजी भईरहेको छ । त्यस कारण यो वर्ष सबै वडावासीको घरमा पानी सहितको धारा जडान हुनेमा मैले विश्वास लिएको छु ।’

नगरकै एक मात्र एम्बुलेन्स सेवा
स्थानीय तह निर्वाचित भए पश्चात वडाध्यक्ष श्रेष्ठले बूनपा १३ को स्वास्थ्य चौकी भवन निर्माणका लागि ‘खुकुरीको धार’मा बसे जत्तिकै जोखिम मोलेर निर्माण कार्य सम्पन्न गरेको बताए । उनले भने, ‘हाम्रो वडाको एम्बुलेन्स सेवाले हाल सिङ्गो नगरपालिकालाई भएको फाईदा पुगेको छ । विगतदेखि नै बूढानीलकण्ठ नगरपालिकाको एक मात्र एम्बुलेन्स सेवा बूनपा १३ ले दिएको छ । सो एम्बुलेन्स बूनपा १३ लाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत प्राप्त भएको हो ।

बूनपा १३ लाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने
बूनपा १३ मा अहिलेसम्म जति पनि विकास निर्माण सहजै रुपमा सम्पन्न गर्न  सिङ्गो वडावासीले सहयोग गरेको बताउने उनी कुनै सडक निर्माण होस् या सार्वजनिक जग्गा संरक्षणमा चुनौति आए समाधानका लागि वडावासीको ठूलो सहयोग रहेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘यो क्षेत्र एकदम पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो र यहाँ पर्यटक भित्र्याउन सजिलो पनि छ । नमूना पर्यटकीय क्षेत्रको रुपमा चिनाउन, होमस्टे संचालन, पिकनिक स्पोर्ट र पार्कको रुपमा विस्तार गरेर आन्तरिक र वाह्य पर्यटकलाई आकर्षण गर्न नमुना पर्यटकीय क्षेत्र बनाउने लक्ष्य लिएको छु ।’

मठमन्दिर निर्माण
माथिल्लो टुसालमा भद्रकाली मन्दिर पूर्ण रुपमा निर्माण सम्पन्न भईसकेको बताउँने वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले टुपेकमा गणेश मन्दिर पुन निर्माणमा रहेको र गाम्चाको भद्रकाली मन्दिरमा वडाबाट बजेट छुट्याई निर्माण सम्पन्न हुन लागेका समत बताए ।

चुनिखेल एकिकृत नमूना नयाँ सहर बन्दै
चुनिखेल एकिकृत नमूना नयाँ सहर बनाउन गुरुयोजना तयार गरी डिपिआर तयार भईसकेको समेत उनी बताएँछन् । उनी भन्छन्, ‘तीन हजार रोपनी जग्गाको व्यवस्थित शहरमा बाटो, ढल, खानेपानी, बिजुली बत्ति लगायतका सेवा सुविधा दिने गुरु योजाना छ ।’

युवा तथा महिला लक्षित कार्यक्रम
बूनपा १३ मा सहकारी व्यवस्थापन सम्बन्धि तालिम, कृषि सम्बन्धि कार्यक्रम, मौरीपालन तालिम लगायत मौरीको घार समेत वितरण गरिएको बडाध्यक्ष श्रेष्ठ बताउँछन् । उनले कृषिलाई पहिलो प्रथामिकतामा राखी कृषि औजर तथा अनुदान लगायतका कार्यहरु गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्