नेता नेपाल र बेलायती राजदूतबीच भेटवार्ता



०४ पुष २०७६, काठमाडौं

नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिट र पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ।

नेकपाको विदेश मामला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र बेलायती राजदूत पालिटबीच शुक्रबार कोटेश्वरमा भेटवार्ता भएको हो। भेटघाटका क्रममा उनीहरुबीच नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा बेलायतको सहयोगका बारेमा कुराकानी भएको नेपालको सचिवालयले जनाएको छ।

नेता नेपालले बेलायत–नेपालबीच लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै सम्बन्धलाई थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए। भेटमा बेलायती राजदूत पालिटले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र सुन्दर अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरेकी थिइन्।

द्विपक्षीय भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्ष एवम् सहयोग र सम्भावनाका विषयमा समेत कुराकानी भएको सचिवालयको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्