पूर्वसभामुख महराको निवेदनमाथि अदालतमा सुनुवाई शुरु



०४ पुष २०७६, काठमाडौं

आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख कृष्णबहादुर महराले दिएको निवेदनमा सुनुवाई शुरु भएको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाशीध नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा महराको निवेदन उपर भइरहेको हो। आफूलाई पुर्पक्षमा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा उच्च अदालत पाटन पुगेका थिए।

सरकारी वकिलको कार्यालय पनि महराको निवेदनसँगै उनीविरुद्धको मुद्दासहित उच्च अदालत पुगेको छ। दुवै निवेदन एकै ठाउँमा राखेर अहिले सुनुवाई चलिरहेको हो।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको थियो। त्यसैअनुसार महरा अहिले डिल्लीबजार कारागारमा थुनामा छन्।

उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंबाट यसअघि नै महरा प्रकरणको सबै विवरण माग गरेको थियो। पछिल्लो विवरणअनुसार शाहीले अदालतमा दिएको इन्कारी बयानसमेत उच्च अदालत पुगेको छ।

शाहीले महराविरुद्ध प्रहरीले अनावश्यक चलखेल गरेको भन्दै उच्च अदालतसमेत पुगेकी थिइन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्