
०२ पुष २०७६, काठमाडौं
थुलुङ समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समितिले न्यून मूल्य तथा एकलौटी निर्णयमा बेचिएको थुलुङ (राई) सामाको जग्गा कालो ब्यानर टाँस गरी रोक्का गरेको छ।
सरोकार समितिले वर्तमान सामाका अवैधानिक केन्द्रीय पदाधिकारीहरुको राजीनामा, विशेष एकताको भेलालगायतका १० बुँदे माग राख्दै सामाका वर्तमान कार्यवहाक अध्यक्ष राम थुलुङद्वारा विक्री भएको जग्गा रोक्का गरेको हो।
बुधबार बिहान सरोकार समितिका संयोजक जनीकुमार राईसहित भक्तपुरको नखेल पुगेको थुलुङ राईको टोलीले जग्गामा कालो ब्यानर राखी जग्गा रोक्का गरेको हो।
आफूलाई प्राप्त प्रमाणका आधारमा विक्रेताले लाखौं रकम हिनामिना गरेको सरोकार समितिले आरोप लगाएको छ। यस्तै समितिले अवैधानिक सामाको समितिले त्यस्तो निर्णय गर्न नमिल्ने जनाएको छ। “अवैधानिक समिति भनेपछि त्यसले केही गर्नै सक्दैन। उसलाई केही पनि अधिकार नै हुँदैन। कुनै पनि संस्थागत सम्पत्ति विक्री–वितरण गर्नुपरेमा केन्द्रीय समितिले निर्णय गरी महाधिवेशनले पारित गर्नुपर्ने हुन्छ।” समितिका संयोजक जनीकुमार राईले भनेका छन्, ‘वर्तमान समितिले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ।’

यसअघि जग्गा संस्थाका कार्यवहाक अध्यक्ष राम थुलुङको एकलौटी निर्णयमा चलनचल्तीको भन्दा कम मूल्यमा विक्री गरेको सरोकार समितिले जनाएको छ। जग्गा २ करोड ६ लाख ४० हजारमा बेचेको भएपनि सरोकार समितिसँग थुलुङले भने आफूले १ करोड ८५ लाख मात्रै लिएको दावी गर्दै आएका छन्।
जग्गा विक्री भएलगत्तै ठूलो हिस्साको रकम हिनामिना भएको भन्दै सामाका संस्थापक सचिव जनीकुमार राईको संयोजकत्वमा ‘थुलुङ राई समुदायको हिनामिना जग्गा संरक्षण सरोकार समिति’ गठन भएको थियो।
“हामीले सामाका पदाधिकारीहरुलाई फोनमार्फत् र प्रत्यक्ष भेटेरै पनि वास्तविक कुरो के हो? बसेर छलफल गरी समस्याको समाधान गरौं भनी समय माग्दा समेत समय उपलब्ध नगराई चुप लागेर थकाएर घनचक्करमा फसाउने प्रयत्न गरिरहेको हुँदा समुदायको हितार्थ थुलुङ समुदायको जग्गामा भइरहेको सबैखाले क्रियाकलाप रोक्का गर्ने निर्णय गरी विरोधस्वरुप कालो ब्यानर झण्डा गाडेका छौं।” सरोकार समितिका संयोजक जनीकुमार राईद्वारा प्रेसित अपिलमा भनिएको छ।

यस्तै समितिले विश्वका सम्पूर्ण थुलुङ राईहरु एक जुट भई समस्याको समाधान गर्नुपर्ने बताएको छ। किरात राई थुलुङको साझा संस्थाको रुपमा परिचित संस्था थुलुङ(राई) सामाको स्थापना १९ वर्ष अगाडि कमल राईको अध्यक्षतामा थुलुङ किरातहरुको भाषा, संस्कृति भेषभूषा तथा मुन्दुम जोगाउने उदेश्यले भएको थियो।
सरोकार समितिको मागहरुः
१, सामाले ४ रोपनी जग्गा कुन प्रयोजनको लागि किन्यो र बेच्यो– प्रष्ट पार।
२, सामाको जग्गामा भइरहेको सम्पूर्ण गतिविधिहरु तुरुन्त बन्द गर।
३, जग्गा बेच्दा सामाले कुन सर्वोच्च निकायको अनुमतिले बच्यो?
४, जग्गा हिनामिना गर्ने उद्देश्यले नबेचिएको हो भन्ने पारदर्शिताको प्रमाण पेश गरी सरोकारवालाहरुलाई चित्त बुझ्ने आधारहरु के के हुन्? स–प्रमाण प्रस्तुत गरियोस्।
५, निष्पक्ष छानबिनको लागि सामाका वर्तमान पदाधिकारी लगायत केन्द्रीय समितिले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ।
६, सामाको चलअचल सम्पत्तिको पारदर्शिताको प्रमाण पेश गर्न जोडदार माग गर्दछोै ।
७, यूके सामा र हङकङ सामाले अधिवेशन गर्न र जग्गा नबेच्न भनी पठाएको सुझाव पत्रलाइ किन गुपचुप राखी बेवास्था गरियो? स्पष्टिकरण चाहियो।
८, निर्धारित समयभित्र महाधिवेशन नगरिनुको पछाडि कुन स्वार्थ थियो?
९, थुलुङ समुदाय र सरोकारवालालाइ किन बेवास्था गरियो?
१०, एकताको विशेष महाधिवेशन तुरुन्त बोलाइयोस्।
सम्बन्धीत समाचारः
थुलुङ[राई]सामाको जग्गा एकलौटी निर्णयमा विक्री, २१ लाख बढी घोटला





