कसरी बनाउने विवाहपछिको जीवन खुसीमय?



०२ पुष २०७६, काठमाडौं

जीवनभर साथका लागि बिवाह गरिन्छ। त्यसैले, विवाहपश्चात् जीवनलाई सुखद् बनाउनका लागि एक–अर्कालाई बढीभन्दा बढी समय दिन आवश्यक पर्दछ। पति–पत्नीसँगै बिताएको समयले एक–अर्कामा खुसीको सञ्चार गर्छ।

विवाहपश्चात् विभिन्न समस्या आउन सक्छन्। त्यस्ता समस्यालाई सुल्झाएर अगाडि बढ्नुको विकल्प रहँदैन। यस्तो अवस्थामा एक–अर्काको सल्लाहमा समाधानको खोजी गर्न आवश्यक हुन्छ।

भविष्य सफल हुनुलाई मात्र दाम्पत्य जीवन सफल भएको मानिदैन। त्यसैले, हरेक काम गर्दा पति–पत्नीबीचको सौहार्दतामा अगाडि बढ्नुपर्छ। एकले अर्कालाई सम्झाउने, सल्लाह–सुझाब आदान–प्रदान गर्ने गतिविधिलाई निरन्तर कायम राख्नुपर्दछ।

कतिपय अवस्थामा पति–पत्नीबीच फरक मत र विचार हुन सक्छ। जुन कुरा विवाहपूर्व थाहा नहुन सक्छ। यस्ता विषयले सौहार्द वातावरण खल्बल्याउन सक्छ। त्यसैले, विवाहपपश्चात् एक–अर्काको सोच र विचारलाई सम्मान गर्दै अगाडि बढ्नु नै एक मात्र उत्तम विकल्प हुन्छ।

व्यावहारिक जिम्मेवारी निर्वाह गर्नुले मात्र विवाहको गरिमालाई बचाई राख्दैन। त्यसैले, घुम्न जाने, सरप्राइज पार्टी दिने वा आफ्नो पार्टनरलाई जे मन पर्छ त्यस्ता गतिविधि गर्दा सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ।

आफ्नो पार्टनरलाई कहिल्यै पनि दुर्व्यवहार गर्नु हुँदैन। एक्लै हुँदा गल्तीको महसुस गराउने गतिविधि गर्दा सम्बन्धमा दरार उत्पन्न हुन सक्छ। बाहिरी साथीको आवश्यकतामा घरबाहिर बस्ने, काममा मात्र केन्द्रित हुनेजस्ता गतिविधिलाई नियमितता दिनुहुँदैन। यस्तो गतिविधिले एक–अर्काप्रति असमझदारी उत्पन्न गर्न सक्छ।

कम्तीमा वर्षको २–४ पटक जीवनसाथीसँग केही दिनका लागि घुम्न निस्कनु राम्रो हुन्छ। यसरी घुम्न निस्कँदा एक त जीवनमा यादगार क्षण थपिँदै जान्छन्, अर्को एक–अर्काबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ। यसो गर्दा जीवनसाथीले खुलेर मनको कुरा व्यक्त गर्ने मौका पनि पाउँछन्।

शारीरिक सुखले मात्र सम्बन्धलाई घनिष्ठ बनाउँदैन। त्यसैले शारीरिक सम्बन्धमा भावना पनि जोडिन आवश्यक हुन्छ। कहिल्यै पनि जीवनसंगीनीलाई एकलव्य र आसहायको अनुभूति गराउनु हुँदैन । यसो गर्दा पछुताउने दिन आउन सक्छ।

प्रतिक्रिया दिनुहोस्