किन हुन्छ पाठेघरको मुखको क्यान्सर? ८ प्रतिशत महिलाले मात्रै गराउँछन् यसको परीक्षण



०२ पुष २०७६, काठमाडौं

समयमै परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारे जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको स्टेप्स सर्बे अनुसार पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने महिला ८.२ प्रतिशत मात्र रहेका छन्। त्यस्तै, गरी विगत ५ वर्ष भित्र पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने महिला ५.९ प्रतिशत रहेको पाइएको छ।

पाठेघरको मुखको परीक्षण पछि आएको नतिजाका कारण स्वास्थ्य उपचार लिएका महिलाको प्रतिशत ६३.५ मात्र रहेको सर्वेले देखाएको छ। यो सर्वे १५ देखि ६९ वर्षका महिलाहरुमा गरिएको हो। प्रादेशिक अवस्था परिषद्ले पाठेघरको मुखको परीक्षण गराउने महिलाहरुको कुन प्रदेशमा कति छन् भनेरसमेत सर्वे गरेको छ।

जस अनुसार पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने महिला सबैभन्दा बढी कर्णाली प्रदेशमा १५.८ प्रतिशत रहेका छन्। त्यस्तै, सबैभन्दा कम प्रदेश नं १ का ३.६ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको परिक्षण गराउने गरेको पाइएको छ।

कुन प्रदेशका कति महिलाले गराउछन् पाठेघरको मुखकोे क्यान्सरको परीक्षण

प्रदेश नं. १ ३.६

प्रदेश नं. २ ६.३

प्रदेश नं. ३ ८.६

गण्डकी प्रदेश १२.८

प्रदेश नं. ५ ९.८ कर्णाली

प्रदेश १५.८

सुदुरपश्चिम प्रदेश ८.८

पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ३० वर्षभन्दा कम उमेरका महिलालाई यो क्यान्सर हुने सम्भावना निकै कम हुन्छ। ४० वर्ष उमेरमाथिका महिला तथा महिनावारी बन्द भएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहन्छ।

शारीरिक यौनसम्पर्क नभएका महिलामा यो क्यान्सर हुँदैन। पुरुषसँग शारीरिक यौनसम्बन्ध भईसकेका महिलालाई मात्र योे क्यान्सर हुने सम्भावना रहन्छ। पुरुषले धेरै महिलासँग असुरक्षित यौन सम्बन्ध राखेमा पनि महिलामा क्यान्सर सर्न सक्छ।

किन हुन्छ? पाठेघरको क्यान्सर

– महिलाले धेरै पुरुषसँग असुरक्षित यौन सम्बन्ध राखेमा

– सानो उमेरमै विवाह गरेमा

– सानो उमेरमा यौन सम्बन्ध राखेमा

– धेरै बच्चा जन्माएमा

– सानो उमेरमा बच्चा जन्माएमा

– धेरै गर्भाधारण गरेमा

– सुर्तीजन्य पदार्थ तथा रक्सी सेवन गरेमा

– ५ वर्षभन्दा बढी समयसम्म परिवार नियोजनको चक्कि सेवन गरेमा

प्रतिक्रिया दिनुहोस्