
०२ मंसिर २०७६, काठमाडौं
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३ स्थित खखना मां.विमा नेपाली सेनाले सञ्चालन गरेको १० दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत मङ्गलबार एक महिलाको पाँच किलोको ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा भइरहेको निःशुल्क शल्यक्रिया शिविरमा नेपाली सेनाका डा. सुमना थापाको नेतृत्वको टोलीले पाठेघरमा रहेको ट्युमर निकाल्न सफल भएको हो।
जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने ६२ वर्षीया कोशीदेवीको पाठेघरको शल्यक्रिया गर्दा त्यसभित्र रहेको ४.९ किलोको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरिएको हो।
खखना मा.विमा बिरामी पहिचान गरी जिल्ला अस्पताल जलेश्वरमा शल्यक्रियाका लागि आएकी ती महिलालाई नेपाली सेनाको आर्मी अस्पताल काठमाडौँबाट आएको सर्जनसहितको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरी ट्युमर निकालेको हो।
नेपाली सेनाको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा अहिलेसम्म ९५ जनाको शल्यक्रिया गरि सकिएको जनाएको छ।





