नव-निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले लिइन् शपथ



०१ पुष २०७६, काठमाडौं

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले शपथ ग्रहण गरेकी छिन्।

कास्की क्षेत्र नं २ को उप निर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्। उनलाई उप–सभामुख शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मतान्तरले पछि पार्दै गत १४ मंसिरमा सम्पन्न उप निर्वाचनमा कास्की क्षेत्र नं २बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

सभामुख नभएको बेला सपथ
गत उप निर्वाचनमा कास्की क्षेत्र नं २ बाट निर्वाचित विद्या भट्टराईलाई सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्‍ने विवाद भइरहेको बेला उप–सभामुखले नै पहिलो पटक शपथ ग्रहण गराएकी हुन्।

‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने छ,’ संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख गरिएको छ।

संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ। तर, संविधानको धारा ९१ ९४० मा रहेको सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उप–सभामुखले गर्ने व्यवस्थालाई टेकेर उनलाई शपथ खुवाइएको हो।

गत १४ मंसिरमा देशका ५२ ठाउँमा उप निर्वाचन भएको थियो। उप निर्वाचनमा कास्की क्षेत्र नं २ बाट निर्वाचित भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन शपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ।

कास्की क्षेत्र नं २ तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्