बालमैत्री नगर बनाउन वेशीसहर नगरपालिकाको प्रतिवद्धता



२७ मंसीर २०७६,बेशीसहर, लमजुङ

बालमैत्री स्थानीय शासन सम्वन्धि १ दिने अभिमुखीकरण गोष्ठी वेशीसहरमा सम्पन्न भएकोछ ।

अभिमुखीकरण कार्यक्रम वेशीसहर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुको सहभागिता भएको थियो । गोष्ठीको समन्वय वेशीसहर नगरपालिका र बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च काठमाडौंले गरेको थियो । त्यसै गरि गोष्ठीको आयोजना ग्रामीण सामुदायिक विकास केन्द्र (RCDC-Lamjung) लमजुङ र आर्थिक सहयोग वर्ल्ड भिजन इन्टरनेशनल नेपालले गरेको थियो । कार्यक्रममा वेशीसहर नगरपालिकाको प्रमुख, उपप्रमुख र कार्यपालिकाका सदस्यहरु गरि १७ जना, शिक्षा र स्वास्थ्य शाखाको प्रमुखहरु, नगरप्रमुखको प्रेस सल्लहाकार, कार्यक्रम अधिकृत, पत्रकार लगायत आरसीडिसी र वर्ल्ड भिजन इन्टरनेशनल गरि ३६ जनाको सहभागिता रहेको थियो ।

यस कार्यक्रमको अध्यक्षता वेशीसहर नगरपालिकाको उपप्रमुख एवं स्थानीय बालमैत्री शासन समन्वय समितिको संयोजक लक्ष्मी देवी अधिकारीले गर्नुभएको थियो । त्यसै गरि कार्यक्रमको प्रमुख अतिथि वेशीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल रहनु भएको थियो । कार्यक्रम संचालन आरसीडिसीका फिल्ड अधिकृत सोवित बहादुर थापाले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत र गोष्ठीको उद्धेश्य माथि आरसीडिसीका अध्यक्ष राजेन्द्र वोहराले प्रकाश पार्नुभएको थियो । त्यसै गरि बाल संरक्षणको बारेमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालय काठमाडौंको बाल संरक्षण संयोजक निर्मला के.सी.ले सहजीकरण गर्नुभएको थियो ।

नेपालको संविधान २०७२, बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि -२०६८ साथै बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि २०७० को सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले गर्नुभएको थियो । त्यसै गरि बालबालिका सम्वन्धि ऐन र अन्य कानुनी प्रावधानहरुको बारेमा छलफल गरिएको थियो । बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति २०६८ परिच्छेद – ५ को दफा १८ मा व्यवस्था भएका उपलब्धी मापनका न्युनतम सुचकहरुको बारेमा छलफल गरिएको थियो । बालमैत्री स्थानीय शासन लागु भएको घोषणा हुन ३९ वटा सुचकहरु पुरा भएको हुनुपर्दछ जानकारी गराईएको थियो ।

कार्यक्रममा वेशीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले वेशीसहर नगरपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको पालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । यस आ.व.मा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र आरसीडिसीको सामाजिक परिचालनमा वडा नं. १ र ६ लाई बालमैत्री स्थानीय शासन लागु भएको घोषणा गर्ने र यी वडाहरु घोषणा गर्दा भएका सिकाईहरुको आधारमा आगामी आ.व.हरुमा अन्य वडाहरु घोषणा गर्न स्रोत परिचालन गर्ने जानकारी गराउनु भएको थियो । वेशीसहर नगरपालिकालाई बाल हित अनुकुल बनाउन बालबालिका सम्वन्धि ४ वटा निर्देशिकाहरु बनाईएको जानकारी गराउनु भयो । वेशीसहर नगरपालिकाले बनाएको शिक्षा सम्वन्धि निर्देशिकामा बालबालिकाको सहभागिता वढाउन विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको सहभागिता सुनिश्चिता र जोखिममा परेका बालबालिका लाई पोषण सहयोग गरेको जानकारी गराउनु भयो । त्यसै गरि वडा नं.१ र ६ का वडा अध्यक्षहरुलाई बालमैत्री वडा घोषणा प्रक्रिया अगाडी वढाउन कटिवद्ध भई लाग्न निर्देशन दिनु भएको थियो । यस्ता अभियानहरु संचालन गर्न इन्छा शक्ति आवश्यक पर्दछ । इच्छा शक्ति भएमा स्रोतको समस्या हुदैन भन्दै सरोकारवालाहरुलाई विश्वस्त बनाउनु भएको थियो । कार्यक्रमको अध्क्षता गरिरहनु भएको वेशीसहर नगरपालिकाको उपप्रमुखले आफु बालमैत्री स्थानीय शासन समन्वय समितिको संयोजक भएको हुदा हाम्रै कार्यकालमा वेशीसहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्ययोजना वनाउने र घोषणा कार्यविधि कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोत व्यवस्थापनमा निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वेशीसहर नगरपालिकाको निर्णय वमोजिम वडा नं. १ र ६ लाई बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणाको तयारी सन्र्दभमा भएका प्रयासहरुको जानकारी एवं घोषणा कार्यविधिको वारेमा दुवै वडामा सहजीकरण गरिएको थियो । वडा नं. १ र ६ को वडा कार्यालयमा वडा स्तरीय बालमैत्री स्थानीय शासन समन्वय समितिका संयोजक एवं वडा अध्यक्ष श्री बलराम श्रेष्ठ र भोज वहादुर रिमालको अध्यक्षतामा भएको छलफल कार्यक्रमको सहजीकरण N-CFLG Forum का संयोजक तिलोत्तल पौडेलले गर्नुभएको थियो । यस कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका शिक्षकहरु, बालक्लवका प्रतिनिधिहरु, सामुदायिक संस्थाको प्रतिनिधिहरु, स्वास्थ्य चौकीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम आरसीडिसीका फिल्ड अधिकृत वाट संचालन भएका थिए । त्यसै गरि कार्यक्रम संयोजन र व्यवस्थापन आरसिडिसीकै तालिम संयोजक रेणु शाही ठकुरीले गर्नु भएको थियो । दुवै वडाहरुको छलफल कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल केन्द्रिय कार्यालय काठमाडौंको बाल संरक्षण संयोजक निर्मला के.सी.र N-CFLG Forum काठमाडौं सुमिक्षा खडका को सहभागिता रहेको  थियो ।

प्रतिक्रिया दिनुहोस्