पौडेल–सिटौला समूहको बहिष्कारबीच कांग्रेस बैठक शुरु



२९ मंसिर २०७६, काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ।

बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह भने सहभागी छैन। आफूहरुको माग सम्बोधन नभएको भन्दै पौडेल–सिटौला समूहले बहिस्कार गरेको बताइएको छ।

आज नेता पौडेल बैठक छाडेर पाथिभराको दर्शनका लागि ताप्लेजुङ पुगेका छन्। अहिले सानेपामा देउवा पक्षीय नेताकै सहभागितामा केन्द्रीय समिति बैठक बसिरहेको हो।

आन्तरिक किचलोमै अल्झिने कांग्रेसले संसदमा प्रतिपक्षको भूमिका कसरी खेल्छ?

देउवा पक्षका केन्द्रीय सदस्यमात्रैले पनि बैठकमा बहुमत पुग्छ। पौडेल पक्षले १४ औं महाधिवेशनको कार्ययोजना केन्द्रीय समिति बैठकमा ल्याइनुपर्ने माग गरेको छ।

तर देउवा पक्ष भने त्यसमा तयार छैन। पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा पक्षको अडान छ।

यही विषयमा कुरा नमिल्दा पौडेल पक्षले बिहीबारको बैठक पनि बहिस्कार गरेको थियो। यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमती छ।

पौडेल पक्षको बहिष्कारबीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्