धनुषा बम काण्डः …अनि पड्कियो त्यो रातो झोला



२८ मंसिर २०७६, काठमाडौं

शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं ५ महेन्द्रनगर बजारस्थित राजेश्वर शाहको परिवार खाना खाएपछि सुतिसकेको थियो।

राति करिब ११ बजेको समयमा घरका कोही एकजना शौचालय जान उठ्दा घरको गेटमा रातो झोला देखियो। त्यसपश्चात् परिवारमा हल्लाखल्ला भयो। सबै जना उठे र डरले घरै खाली गरेर बाहिर निस्के।

घरमूली राजेश्वर २/३ सय मिटर टाढाको इलाका प्रहरी कार्यालयमा प्रहरीलाई खबर गर्न पुगे। परिवारका अन्य सदस्य केही पर रहेको आफ्नै अर्को घरमा गए। इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अमिर दाहालको नेतृत्वमा केही प्रहरीको टोली राजेश्वरको घर आइपुग्यो।

प्रहरी निरीक्षक दाहालले राजेश्वरको घरको गेटमा रहेको रातो झोला हेरेर भेन, ‘ए! यो केही पनि होइन। डराउनु पर्दैन, आउनुस् सबैजना घरमा।’ घाइते राजेश्वरकी १४ वर्षीया छोरी निक्की शाहको भनाइलाई उद्धृत गर्दै राजेश्वरका सालो सुरेश शाह बताउँछन्।

बम ब्लास्ट भएको स्थान अर्थात् राजेश्वरको घरको ढोकाः

प्रहरीले नै केही होइन भनेपछि, राजेश्वर परिवारका सबै सदस्य मूल घरमै फर्किए। त्यसपछि रातो झोलानजिक जाँदै निरीक्षक दाहालले घरमूली राजेश्वर शाहलाई झोला खोल्न लगाए। तर झोलान जिक पुग्दा नपुग्दै ठूलो आवाजमा त्यो विस्फोट भयो। र, राजेश्वर र उनका छोरा आनन्द ठाउँको ठाउँको ढले। बमको छर्राले लागेर निरीक्षक दाहालसहित प्रहरी जवान रिजन महतो, अनि घरमूली राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि गम्भीर घाइते भए।

धनुषामा बम विस्फोट हुँदा प्रहीसहित ३ को मृत्यु, २ गम्भीर घाइते

घटनामा राजेश्वरका बुवा भिखारी शाह र अर्की छोरी निखी शाह घाइते भएका छन्। भिखारीको जीउभरि छर्रा लागेको छ। प्रहरीकै लापरबाही तथा अज्ञानताले ठूलो दुर्घटना भएको स्थानीय बासिन्दाको भनाइ छ।

अहिले राजेश्वरको घरमा रुवाबासी छ। कोही बोल्न सक्ने अवस्थामा छैनन्।

प्रतिक्रिया दिनुहोस्