यी हुन् जाडोमा स्वस्थ अनि उपयोगी तरकारी



२६ मंसिर २०७६, काठमाडौं

जाडोयाममा शरिरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान जरुरी छ। यो बेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ।

त्यसैले जाडोयाममा उपयोगि तरकारीको बारेमा जान्नुहोस्ः

मेथी

मेथीको दाना तरकारीमा नियमित फुराउँदा स्वादिष्ट मात्रै बन्ने नभएर स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी मानिन्छ। चिसो मौसममा विभिन्न संक्रमणबाट बच्न मेथीको साग अझै बढी स्वस्थकर हुन्छ। मेथीमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ।

नियमित खाँदा रक्तचाप नियन्त्रण गर्दछ। त्यस्तै, मेथीको सागमा पाइने गेलोप्टोमाइनन नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरिरमा कोलेस्ट्रोलको मात्रासमेत नियन्त्रण गर्छ।

रायो

रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी मध्ये एक पनि हो। रायो जाडोयाममा स्वास्थ्यका दृष्टिले समेत एकदमै लाभदायिक मानिन्छ। रायोको सागमा पाइने भिटामिन ‘ए’ ले चिसो याममा बढी हुने बाथ, कफ जस्ता रोग नियन्त्रण गर्दछ।

रायो भिटामिन ‘सी’ को राम्रो स्रोत भएकाले नियमित सेवन गर्दा रुघाखोकी लाग्दैन। साथै, यसले जाडोमा बाथरोगीका लागि हड्डी दुख्ने समस्याबाट समेत राहत दिन्छ।

तामा

जाडोमा तामाको सुप स्वास्थ्यका लागि एकदमै लाभदायी हुन्छ। तरकारी, अचार र सुप बनाएर खान सकिने बाँसको तामाले उच्च रक्तचाप, मुटुरोग, अत्यधिक कालेस्ट्रोलजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ।

बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा एकदमै कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि फाइदाजनक हुन्छ।

च्याउ

च्याउ सेलेनियमको राम्रो स्रोत हो। यसले स्नायु प्रणालीलाई बलियो बनाई शरिरमा रक्तचाप बढ्न नदिनुका साथै रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ। चिसो मौसममा च्याउको सुप बनाएर खान सकिन्छ।

यसमा प्रशस्त मात्रामा पाइने खनिजले चिसोमा हुने मांसपेसीको दुखाइ कम गर्छ। बाथरोगीका लागि फाइदा गर्छ। त्यस्तैः च्याउ रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

गोलभेँडा

भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइने गोलभेडामा स्वादमा मात्र नभई स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ। सबै जसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोमा स्वास्थ्यमा लागि थप लाभदायी मानिन्छ।

जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग तथा छाला सुक्खा हुने समस्या नियन्त्रण गर्दछ। गोलभेँडामा पाइने लाइकोपिनले शरिरमा बोसो कम गराउँछ।

प्रतिक्रिया दिनुहोस्