आजको सम्पादकीय : सफल साग, झनै सफल देखिए खेलाडी



२६ मङ्सिर २०७६, काठमाडौं

आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले हालै सम्पन्न दक्षिण एसियाली राष्ट्रका महाकुम्भ खेल मेलाका रुपमा परिचित दक्षिण एसियाली खेलकूद(साग)मा नेपाललाई प्राप्त भएको सफलता एवं मानव विकास सूचकांक(एचडीआई)मा नेपालको स्तर झिनो सुधार भएको विषयलाई सम्पादकीय बनाएका छन् ।

दक्षिण एसियाली राष्ट्रका महाकुम्भ खेल मेलाका रुपमा परिचित दक्षिण एसियाली खेलकूद(साग) को १३ औं संस्करणमा इतिहास रच्ने काम भएको उल्लेख गर्दै नागरिक दैनिकले ‘सागको एतिहासिक सफलता’ शीर्षकमा सम्पादकीय देखेको छ । सम्पादकीयमा भनिएको छ–खेलाडीहरुले खेल क्षेत्रमै समर्पित भएर आफ्नो जीविका निर्वाह गर्न सक्ने वातावरण निर्माण गर्नेतर्फ सरकारदेखि खेलकुद परिषद्सम्म सबैले सोच्नैपर्छ, र त्यसतर्फ सचित कदम चाल्नैपर्छ ।

त्यसैगरी आजको अन्नपूर्ण दैनिकले पनि साग सामान्यरुपमा व्यवस्थापकीय कमीकमजोरीबाहेक समग्र प्रतियोगिता सफल भएको उल्लेख गर्दै ‘जब देशको शिर उठ्यो’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘अहिले राज्यले खेलकुद क्षेत्रमा गरेको लगानी पर्याप्त देखिँदैन । सरकारले नारामा खेलाडीलाई राष्ट्रको गहना भन्ने तर व्यवहारमा आफूलाई आवश्यक पर्दा लगाउने र काम सकिएपछि फुकालेर दराजमा थन्क्याउने परम्पराको अन्त्य हुनुपर्छ,’ सम्पादकीयमा भनिएको छ ।

त्यसैगरी कान्तिपुर दैनिकले ‘सफल साग अझ सफल खेलाडी’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयका अनुसार प्रतियोगितामा समावेश खेल, खेलाडी र पदक संख्याका दृष्टिकोणले नेपालले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो महोत्सव भएकाले यो आयोजना हाम्रो राष्ट्रिय कार्यदक्षताको एउटा परीक्षा पनि थियो, जसमा मुलुक राम्रै नम्बरका साथ उत्तीर्ण भएको छ ।

नयाँ पत्रिकाले भने मंगलबार अपराह्न दशरथ रंगशालाबाहिर प्रहरीले अनावश्यक बल प्रयोग गरेको र बाँकेको कोहलपुरमा प्रहरीले देखाएको चरित्रबारे सम्पादकीय बनाएको छ । सम्पादकीयमा भनिएको छ– बाँकेको कोहलपुर र दशरथ रंगशालामा प्रहरी जनतासित उग्र रिसायो, अनावश्यक बल प्रयोग ग¥यो र उसले आफैलाई क्षति पु¥यायो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडीपी)ले सार्वजनिक गरेको विश्व विकास प्रतिवेदनमा नेपालले झिनो सुधार गरेको उल्लेख गर्दै कारोबार दैनिकले ‘मानव विकासमा कमजोर अवस्थाका संकेत’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– मानवीय पुँजी विकासका लागि औपचारिक तथा अनौपचारिक शिक्षा, स्वास्थ्यका साथसाथै उनीहरुको जीवनस्तर सुधारका लागि आयमूलक गतिविधिमा पनि लागनी गर्नुपर्ने हुन्छ । त्यसका लागि अब मानवीय पुँजी विकासको नीति बनाउनुपर्छ ।

आजको आर्थिक अभियानले पनि मानव विकास सूचकांक(एचडीआई)मा नेपालको स्तर झीनो सुधार भएको विषयलाई सम्पादकीय बनाएको छ । झिनो सुधारले राष्ट्रको लक्ष्यमा चुनौति थपेको विश्लेषण गर्दै सम्पादकीयमा भनिएको छ– मध्यमस्तरको मानव विकास सूचकांक लागि मूल्य सून्य दशमलव ६३४, औपत आयु ६९ दशमलव ५ वर्ष, विद्यालय शिक्षा ११ दशमलव ७ वर्ष र प्रतिव्यक्ति कूल राष्ट्रिय आय ६ हजार २४० पीपीपी डलर हुनुपर्छ । नेपालको अन्य सूचक यस तहअनुसार भएपनि आयका हिसाबले भने मध्यमस्तरको जीवनस्तरभन्दा निकै तल रहेको देखिन्छ । यसले सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौति थपिएको देखिन्छ ।

आज नेपाल समाचारपत्रले नेपाली कांग्रेसभित्र मौलाउँदै गएको भागवण्डा र गुट–उपगुटको राजनीतिलाई अन्त्य गरी एकढिक्का बनाउने प्रतिवद्धता जनाएका सभापतिले झनै मौलाउने अवस्था सिर्जना भएको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । कांग्रेस बलियो बन्नका लागि नेतृत्वले पूरा गरेका बाचा पूरा गर्नुपर्नेमा जोड दिँदै सम्पादकीयमा राजनीतिक दलभित्र सुधार आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्