समाजसेवी गौचनलाई डा. अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड



२४ मंसिर २०७६, काठमाडौं

सामाजिक तथा राजनीतिक अभियन्ता बिमला गौचन ‘डा. भीमराव अम्वेडकर अवार्ड २०१९’ बाट सम्मानित भएकी छिन्।

भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित उक्त अवार्डबाट यस वर्ष समाजसेवी गौचन सम्मानित भएकी हुन्।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा.अम्बेडकर एक्सिलेन्सी सर्भिस् अवार्डबाट सामाजिक अभियन्ता गौचनलाई सम्मानित गरेको हो।

विभिन्न सामाजिक संघ संस्थामा कृयाशील अग्रज समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्षसमेत हुन्।

यसैगरी डा. अम्वेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छिन्। जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याएबापत् लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ।

जातीय विभेदविरूद्ध अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय विभेदविरूद्धको अभियान समेत चलाईरहेकी छिन्।

यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए।

भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्वेडकर अवार्डबाट सम्मान गर्दै आएको छ।

दक्षिण एशियाका समतावादी अभियन्ता डाक्टर अम्वेडकर सामाजिक समावेशिकरणका अभ्यासकर्ता हुन्।

प्रतिक्रिया दिनुहोस्