इराकको सरकार विरोधी आन्दोलनमा मृत्यु हुनेको संख्या ४ सय नाघ्यो



२१ मंसिर २०७६, काठमाडौं

इराकको राजधानी बग्दादमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सात जनाको मृत्यु भएको छ।

बन्दुकधारीको गोली लागेर कयौं घाइते भएको बताइएको छ। घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

ट्रकमा आएका बन्दुकधारीहरुले अल सिनाक पुल नजिकै एउटा व्यापारीक भवनमा गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै बीबीसीले जनाएको छ।

सरकार विरोधी प्रदर्शनहरु जारी रहेका बेला बन्दुकधारीहरुले जथाभावी गोली चलाएर सर्वसाधारणलाई त्रसित पार्न खोजेको आन्दोलनकारीहरुले आरोप लगाएका छन्।

बन्दुकधारीले प्रदर्शनकारीहरुलाई लक्षित गरेर गोली चलाएको बताइएको छ। राजधानी बग्दादमा हिजो पनि संधिग्ध व्यक्तिले छुरा प्रहार गर्दा १३ जना घाइते भएका थिए।

सरकारको विरोधमा भइरहेका प्रदर्शनहरु अस्वभाविक रुपमा बढीरहेपनि समस्या समाधानका लागि कुनै पहलकदमी नगरिएको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ।

गत अक्टुबरबाट शुरु भएको आन्दोलनका क्रममा ४ सय भन्दा बढी मारिएका छन् भने २० हजार घाइते भएको बताइएको छ। जनजीविकाका सवालमा चासो नदेखाएको भन्दै आन्दोलनकारीले सरकारको राजीनामा, संसद विघटन र राजनीतिक प्राणालीको सुधारको माग गर्दै आएका छन्छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्