जहाँ डाक्टरलाई बलात्कार गरि मारेका थिए, त्यहीँ लगि पुलिसले बलात्कारीहरुलाई गोली ठोकिदियो..



२० मङ्सिर २०७६,नयाँ दिल्ली

दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरू “प्रहरी इन्काउन्टर”मा मारिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एक हप्तासम्म हिरासतमा रहेका ती सदिग्ध आरोपी व्यक्तिहरु शुक्रवार बिहान दक्षिणी भारतीय शहर हैदराबादमा भाग्न खोज्दा गोली हानिएको प्रहरीले जानकारी दिएको छ । ती सदिग्ध आरोपीहरु सुरक्षा अधिकारीबाट हतियार लिन खोज्दा सुरक्षाबलले गरेको कारबाहीमा उनीहरु मारिएका उप प्रहरी आयुक्त प्रकाश रेड्डीले एएफपीलाई बताउनु भएको छ ।

यी चार जनामाथि गत नोभेम्बरमा भारतको हैदराबाद शहर निवासी २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार गरी हत्या गरेको आरोप छ । तेलङ्गना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रबार बिहान ३ बजेतिर उनीहरूको एउटा “भिडन्त” मा मृत्यु भएको हो । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको छ ।

यी चारै जना संदिग्ध अपराधीलाई पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर प्रहरीले अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुखले बताउनु भएको छ । त्यहाँ उनीहरूले आफूहरुमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार यस झपडमा परी दुई प्रहरी अधिकारी घाइते भएका थिए ।

पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिहरुलाई कडा कारबाहीको माग गर्दै भारतभरी प्रदर्शन जारी रहेको छ । भारतको संसद्मा बोल्दै सांसदहरुले ती व्यक्तिलाई सार्वजनिकस्थलमा उभ्याएर मार्नुपर्ने माग गरेका थिए । भारतीय सांसद जया बच्चनले संसद्मा बोल्दै सो धारणा राख्नुभएको थियो ।

सामूहिक बलात्कार र हत्याको विभिन्न राजनीतिक दलका कैयौँ सांसदले निन्दा गर्नुभएको छ । हराइरहेकी ती पशु चिकित्सकको जलेको शरीर गत साता फेला परेपछि भारतभरी विरोध प्रदर्शन भएका छन् ।

गत बुधवार साँझ स्थानीय समयानुसार ६ बजेतिर २७ वर्षीया ती महिला आफ्नो स्कूटरमा घरबाट निस्किएकी थिइन् । केही समयपछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी बहिनीलाई फोनबाट दिएकी थिइन् ।

महिला विरुद्ध हिंसाका विभिन्न चर्चित घटनामा सार्वजनिकरूपमा चर्को आक्रोश देखिए पनि भारतमा बलात्कार तथा हिंसाका घटना रोकिएका छैनन् ।

सांसदले महिलाका निम्ति देश सुरक्षित बनाउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो घटना सम्पूर्ण देशका लागि लज्जास्पद भएको र यसबाट सबैको मन दुखेको बताउनुभएको छ । साथै यस घटनाको निन्दा गर्ने आफूसँग उचित शब्द नभएको पनि उहाँले बताउनु भएको छ ।

सन् २०१२ को डिसेम्बर महिनामा दिल्लीमा एक महिलाको बसभित्र भएको सामूहिक बलात्कार र यसपछिको हत्याको प्रयासको घटनापश्चात् ल्याइएका कडा कानुनले महिला विरुद्धका अपराधमा कम गराउने अपेक्षा गरिए भए पनि त्यसो हुन नसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्