आजको सम्पादकीय : सहरलाई हरियो बनाऊ र गाई चीनबाट किन ल्याउने ?



२० मङ्सिर २०७६, काठमाडौं

आज काठमाडौं उपत्यकाबाट प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले भ्रष्टाचार, जनताका समस्या, विकास निर्माणका कार्य विस्तार गर्दा पर्न सक्ने वातारणीय असर एवं आसन्न भ्रमण वर्ष २०२० को तयारी तथा समस्याका विषयमा सम्पादकीय लेखेका छन् ।

नयाँ पत्रिकाले काठमाडौं उपत्यकामा रिङरोड विस्तारको पहिलो चरणमा कलंकी–कोटेश्वर क्षेत्रमा रहेका रुख काटिए र तिनका विकल्पमा अन्य रुख रोपेर सहरलाई हरियो बनाउने योजना अझै पनि नभएको भन्दै सहरलाई हरियो बनाउन आग्रह गरेको छ । अब दोस्रो चरणमा कलंकी–चावहि खण्डमा पुनः रुख काटिँदै गरेको उल्लेख गर्दै ‘सहरलाई हरियो बनाऊ’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –देशभर रुख रोप्छौँ भनेर साढे दुई करोड रुख रोप्ने दायित्व बोकेका संस्था आ–आफ्नो जिम्मेवारीबाट भागेका छन् र सरकार लाचार भएको छ ।

काठमाडौँमा रहेको सिंहरदरबार अरु जिल्लामा पुग्यो कि पुगेन भन्ने प्रश्न गर्दै नेपाल समाचारपत्रले भ्रष्टाचारको विकेन्द्रीकरण भएको बताएको छ । आज प्रकाशित सम्पादकीयअनुसार प्रादेशिक व्यवस्था सुरु गर्दा केन्द्रको सरकार गाउँगाउँमा भनियो तर आम नागरिकले त्यस्तो महशुस गर्न पाएनन् बरु केन्द्रमा रहेको भ्रष्टाचारको रोग प्रदेश र स्थानीय सरकारले पनि सिको गरेरका छन् । पछिल्लो समयमा सार्वजनिक भएका तथ्यले स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको देखाएको छ ।

आजको गोरखापत्रले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा प्रभावी र महत्वपूर्ण मनिने प्रमुख जिल्ला अधिकारीको पदमा महिला राष्ट्रसेवको संख्या बढ्दै गएको उल्लेख गरेको छ । ‘प्रमुख जिल्ला अधिकारीलगायत राजनीतिक र नीतिगत पदमा महिलाको नेतृत्व हुनसक्ने अवस्थालाई समावेशी नेपालको संविधानलगायतका कानुनी संयन्त्रले प्रत्याभूत गरेका छन्,’ सहभागिताको सुखद परिणाम शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ, ‘सार्वजनिक सेवामा समावेशीकरणका लागि राज्यले अबलम्बन गरेको सकारात्मक विभेदको नीतिअनुरुप क्रमशः सुखद परिणाम देखिन थालेका छन् ।’

नागरिक दैनिकले सरकारले कृषी उपजलाई वर्गीकरण गर्दा उखुलाई नगदेबालीको रुपमा राखेपनि व्यापारमा किसानले त्यस्तो महशुस गर्न नपाएको उल्लेख गरेको छ । ‘नगदे बाली उखुको कारोबार वर्षौँदेखि उधारोमा चलिरहेको छन्,’ सम्पादकीयमा भनिएको छ, ‘अब उधारोमा उखु दिने चलन पनि फेर्नुपर्छ । सरकारले उधारोमा खरिद गर्न नपाउने नियम बनाए मात्र किसानका समस्या समाधान हुनेछन् ।’

सरकारले चीनबाट १७ हजार गाई ल्याउन लागेको विषयलाई अन्नपूर्ण पोस्ट्ले सम्पादकीय बनाएको छ । ‘गाई चीनबाट किन ल्याउने ?’ शीर्षकमा देखिएको सम्पादकीयअनुसार विमानमा ल्याउने भनिएका ती गाईको ढुवानी नै प्रतिगोटा ४ लाखभन्दा बढी पर्ने र त्यो रकम चीनले नेपाललाई दिने सहायता रकमबाट कट्टा गरिने छ । यति महँगा गाई ल्याउनका लागि अनुदानको रकम खर्च गर्नुको सट्टा ती गाईका लागि छुट्टाइएको ३२ अर्ब रुपैँया आमलाभको क्षेत्रमा लगानी गर्न उचित हुन्छ ।

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन तीन सातामात्र बाँकी रहँदा भ्रमण वर्षको तयारी सुस्त भएको उल्लेख गर्दै आज कारोबार दैनिकले सम्पादकीयमा लेखेको छ । भ्रमण वर्षका विषयमा आम जनतालाई सही तवरले जानकारी दिन नसकेको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ –हामी किन भ्रमण वर्ष मनाइरहेका छौं भन्ने आम सर्वसाधारणसमेत पहिले नै स्पष्ट हुनुपर्छ । अभियान सफल हुन पूर्वतयारी नै प्रमुख हो, त्यसमा हामी चुकेका छौं ।

त्यस्तै आर्थिक अभियानले पनि भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड प्रमुखविहीन हुने अवस्था आउन लागेको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –योग्य र पर्यटन क्षेत्र बुझेका तथा व्यवस्थापन ज्ञान भएका व्यक्तिलाई मसयमै नियुक्त गरिएको भए बोर्ड थप प्रभावकारी हुने थियो ।

प्रतिक्रिया दिनुहोस्