बूढानीलकण्ठ नगरपालिका विकास र सुशासनमा प्रतिवद्ध छ : नगरप्रमुख खरेल



१९ मंसिर २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको पाँचौं स्थापना दिवसमा नगरप्रमुख उद्धव प्रसाद खरेलले आफ्नो नेतृत्व जनताको आवश्यकता अनुसारको विकास र सुशासनको सवालमा प्रतिवद्ध भएको बताउँदै जनतालाई अनावश्यक दु:ख दिने, पैसा माग्ने काम जनप्रतिनिधि र आफ्ना कर्मचारीबाट नभएको दावी गरेका छन्।

नगरप्रमुखको पूरा सम्बोधन :

२०७१ साल मंसिर १६ गते झण्डै ३ दर्जनभन्दा बढी नगरपालिकाहरु एकैचोटी घोषणा गरिए । त्यहि समयमा ६ वटा गाउँ विकास समितिहरु मिलाएर बूढानीलकण्ठ नगरपालिका बन्यो। २०७२ बैशाखमा विनाशकारी भूकम्प आयो । त्यो बिचमा यहाँ कुनै ठाउँ थिएन, कुनै कार्यालय थिएन । यहाँ ६ वटा गाउँ विकास समितिका कार्यालयहरुबाट कार्य सम्पादन हुन्थ्यो । सुरुमा १७ वटा वडामा नगरपालिका विभाजन गरिएको थियो । त्यसबेला पर्याप्त कर्मचारीहरु थिएनन् । पुराना स्थानमा भैरहेका कर्मचारीबाट हामीले हाम्रो सेवा प्रदान गरेका थियौँ ।

२०७१ सालमा नगरपालिका घोषणा भएपछि २०७२ सालको विनाशकारी भूकम्पको बेला हामीले कसरी व्यवस्थापन गर्‍यौं होला ? त्यसबेलाका हाम्रा नगरपालिकाका साथीहरु, नगर सर्वदलीय संयन्त्रमा बस्ने मेराआदरणीय मित्रहरु या विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु त्यसबेला उहाँहरुले र हामीले जिम्मेवारीपूर्वक धेरै मेहेनत गर्नुपर्‍यो ।

त्यसपछि १७ वटा वडाबाट १३ वटा वडामा पुन संरचना भयो । २०७३ मंसिर १६ गते हामीले तेस्रो नगर स्थापना दिवस मनाउँदा प्रशासकीय भवन किन नबनाउने भनेर हाम्रो तत्कालीन समिति र त्यसबेलाका कर्मचारी मित्रहरुको सल्लाहले सबैभन्दा पहिलो उपत्यका भित्रका १८ वटा नगरपालिका मध्ये हामीले भवन निर्माणको सिलान्यास गर्न सक्यौँ । पहिला एकतले मात्र बनाउने हाम्रो योजना थियो । त्यसबेलाको सर्वे गर्ने डिजाइनले एउटा गाडी बेच्ने स्वरुम जस्तो डिजाइन गरिदिएछन् । हामीले गाडी बेच्ने सिसमहल बनाउन चाहेको होइन, हामीले नेपाल कला र संस्कृतिले भरिएको बूढानीलकण्ठ सिंहदरबार बनाउन चाहेका हौँ । जसका कारण हामीले त्यस डिजाइनको सम्पूर्ण ग्राफ परिवर्तन गर्‍यौं । हामीले भित्रका कति कोठाहरुको संरचना पनि परिवर्तन गर्‍यौं । हामीले दोस्रो पटक २०७४ साल मा टेन्डर आह्वान गर्‍यौं । दोस्रो टेन्डरमा २ तल्ला निर्माण गर्नको लागि हामीले आह्वान गरेका थियौँ । जसका कारण यो भवन निर्माणका लागि समय लागेको हुनाले २०७६ साल मंसिर १६ गते, ठिक ३ बर्षभित्र हामीले यो भवन उद्घाटन गर्न सफल भएका छौँ । यो बूढानीलकण्ठ नगरवासीको ढुकढुकी हो । यो मन्दिर हो र यसबाट कसैलाई दुशासन हुने काम हुने छैन । यो बूढानीलकण्ठ नगरवासीको सधै भलो गर्ने थलोको रुपमा रहनेछ ।

यसलाई एउटा शान्ति दिने मन्दिरको रुपमा हामी विकसित गर्न चाहन्छौँ । यहाँ केही निर्माणका कामहरु भने अझैं गर्न बाकिँ नै छन् । हामी अब २ बर्ष भित्रमा गरिसक्ने छौँ । यो अहिले मुख्य भवन मात्र सुरुवात भएको छ । यसका लागि मेरा नगरसदस्य, कर्मचारी गरी करिब ३ सय जनाको एउटा टिम रहेको छ । यो टिमले जनतालाई दु:ख दिने, जनताको काममा ढिलासुस्ती गर्ने कुरामा सहमत हुन सक्दैन । यो नगरपालिका सुशासन, पूर्वाधार विकास, पिछडिएका वर्गको हित गर्ने र त्यसपछि कृषि, पशुपालन तालिम र यहाँको पर्यटन लागि आवश्यक पर्ने मुख्य आधारका साथ हामी अगाडी बढ्नेछौँ ।

थोरै पैसाले हामी मान्छे त बनेका छौँ तर नगरमा बस्ने नगर संस्कृतिमा अभ्यस्त हुन सकेको अवस्था देखिदैँन । एकदमै वरिष्ठ नागरिक पनि आफ्नो घर अगाडी फोहोर भएको कुराबारे बेखरब रह्यो भने यो नगरपालिका बन्न सक्दैन । तसर्थ आम नगरवासीहरुले पालना गर्नै पर्ने नियम तथा आचारसंहिताको रुपमा १३० बुदेँ आचारसंहिता तयार गरेका छौँ । आज हामीले त्यो जारी गर्न सकेनौँ ।

बूढानीलकण्ठ नगरपालिका निर्माणको लागि हरेक नागरिकले सोचेन भने,आफ्नो तर्फबाट केही गर्न सकेन भने, यो नगरपालिका कसैले ठेक्का लिएर बन्दैन । सरकारले मात्र नगरपालिका बनाउन सक्दैन । त्यसैले आ-आफ्नो ठाउँबाट आफ्नो भूमिका निर्वाह गरी सकारात्मक रुपमा यसलाई सहयोग पुर्याउनु भयो भने यो नगरपालिकाले अब आउने २ बर्षभित्र यसको मुख्य जग बसाल्ने छ । यसको जगमा नगरपालिकाले सबैभन्दा अग्रगामी विकासको एउटा परिणाम दिन सक्नेछ भन्ने म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।

अहिले बूढानीलकण्ठ नगरपालिकामा प्रदेश सरकारबाट ३ दर्जनभन्दा बढी योजनाहरु संचालित छन् । संघीय सरकारबाट पनि यहाँ १५ वटा भन्दा बढी सडक निर्माण भैरहेका छन्। १२ वटा भन्दा बढी पार्कहरु निर्माण भैरहेका छन्। ६ वटाभन्दा बढी खानेपानी आयोजनाहरु संचालनमा छन् । त्यसकारण हामी सुशासन सवालमा हामी प्रतिवद्ध छौँ। जनतालाई अनावश्यक दु:ख दिने, पैसा माग्ने, जनतालाई घुमाएर कुरा गर्ने गरेका छैनौँ । यो भवनको प्रथम तल्ला पुरा भैसकेपछि यो डिजाइन परिवर्तन गरेर हामीले साढे २ तल्लाको बनाएका छौँ । अझैपनि हामीलाई एउटा हल र क्यान्टिन चाहिएको छ । यहाँ आइसकेपछि सबैले फ्रेश भएर बाहिर जान सक्ने एउटा स्रोत केन्द्रको रुपमा विकास गर्ने सोच बनाएका छौँ । यसका लागि हामी आगामी २ बर्ष तत्लीन भएर लाग्नुपर्ने छ । आज हामी निर्वाचित भएर आएको २ बर्ष ६ महिना भएछ । यो बिचमा हामीसँग अझै सडक निर्माणका कामहरु बाकीँ छन् । ठेकेदारका कारण सडक निर्माण काम पुरा भएको छैन । अहिले नेपाल सरकारले ठेकेदारहरुलाई/ निर्माण व्यवसायीहरुलाई अलि छिटो काम गर्न निर्देशन दिएकोले अहिले काम विस्तारै अघि बढ्दै छ । यो नगरपालिकाभित्र रहेको धुलो, मैलो, फोहोर मुक्त र सफा नगरपालिका बनाउनको लागि नगरवासीहरुले पनि ध्यान दिनुपर्छ । नगरपालिकाले लागू गरेका नियमको पालना नगरवासीले पालना गर्नैपर्छ, यदि त्यसो नगरेमा नगरपालिकाको विकासमा ढिला हुन सक्छ । मैले सुशासन, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण तथा हामीले गर्ने हरेक विकासका कामहरुमा जोखिमलाई न्युनीकरण गर्ने सोच बनाएका छौँ । यी ५ कामहरु हामीले मात्र नभएर अन्य राजनीतिक पार्टीले पनि घोषणा गरेका छन् । हाम्रो र अन्य पार्टीको घोषणापत्रको आधारमा हामीले यी कामहरु अगाडि बढाउने छौँ । यो नगरपालिकामा कसैले पनि विकास निर्माणमा अप्ठ्यारो पार्ने अवस्था सिर्जना गरेका छैनन् । तपाईहरुले दिनुभएको सकारात्मक सोचलाई हामीले सहजै स्वीकार गर्नेछौँ । आज यो नगरपालिका घोषणा भएको ५ औँ बर्ष लागेको अवसरमा आगामी दिनमा नगरपालिकालाई अगाडि बढाउन यहाँ उपस्थित सम्पूर्णको सहयोग जरुरी भएको बताउन चाहन्छु ।

यो पनि पढ्नुहोस्

नेकपाको चुनावी घोषणा पत्र १ ईन्च तलमाथि नगरी लागू गर्छाै : उप–प्रधानमन्त्री पोखरेल

प्रतिक्रिया दिनुहोस्