नेकपाको चुनावी घोषणा पत्र १ ईन्च तलमाथि नगरी लागू गर्छाै : उप–प्रधानमन्त्री पोखरेल



१९ मंसिर २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका पाँचौ स्थापना दिवसको अवसरमा उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीय सरकारले गर्ने भनेर नेकपाले जनतामाझ गरेको चुनावी घोषणापत्र अनुसारको काम १ ईञ्च तलमाथि नगरी पुरा गर्ने बताएका छन् ।

स्थापना दिवसमा पोखरेलले गरेको सम्बोधन :

बूढानीलकण्ठ नगरपालिकाले एउटा महत्वपूर्ण काम सम्पन्न गरेको छ । पाचौँ स्थापना दिवसको अवसरमा नगरपालिकाबाट सम्पन्न गर्नुपर्ने कामहरुलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न, जनतालाई सेवा प्रदान गर्न, आफूले गर्नुपर्ने कामहरुलाई व्यवस्थित ढङ्गले सम्पादन गर्न उपयुक्त हुने हिसाबले आफ्नो भवन निर्माण गरेको छ ।

नगरपालिकाको प्रशासनिक भवनको सिलन्यास तेश्रो स्थापना दिवस र उद्घाटन पाँचौं स्थापना दिवसमा गरिएको छ । नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर आफ्नो महत्वपूर्ण कामहरु सम्पन्न गर्दै आएको छ । आउने दिनमा पनि यस नगरपालिकाले आफ्नो कामलाई निरन्तर अगाडि बढाउने छ भन्ने मलाई विश्वास छ।

नगरपालिका प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधि साथीहरुलाई विशेष आग्रह गर्न चाहन्छु कि तपाईहरुले सम्पादन गर्ने कामहरु जनताको सेवाको लागि, जनतालाई सुविधा प्रदान गर्नको लागि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत जनताले जे चिज प्राप्त गर्नुपर्ने हो त्यो चिज प्राप्त गर्नको लागि महत्वपूर्ण केन्द्रको रुपमा यो स्थापित बनोस् । हामीहरुले प्रणालीमा परिवर्तन गर्‍यौं, हिजोको प्रणाली अब रहेन । त्यो प्रणालीमा परिवर्तन गरेको कुरालाई राजनीतिक ढङ्गले २०६३/६४ मा हामीले घोषणा गर्‍यौं । अब देश संघीय लोकतन्त्रमा प्रवेश गर्‍यो भनेर घोषणा गर्‍यौं ।  हिजो सरकार परिवर्तन भैरहन्थे, अहिले पनि कति मानिसहरुलाई लाग्ला सरकार परिवर्तन भयो । लगभग २ तिहाई आएको छ भनेर तपाई हामीले देखेका छौँ । तर कुरा त्यस्तो मात्र होइन । यो प्रणालीमा परिवर्तन भएको हो । हिजो एउटा सरकार थियो। आज ७५३ वटा सरकारहरु छन् । हिजो केन्द्रिय तहमा एउटा सरकार थियो, अब तीन तहमा सरकार छन् । यो सरकार घोषणा मात्र गरिएको होइन संविधानमा किटानी व्यवस्था गरियो र तिनै सरकारले गर्ने कामहरु केके हुन् भनेर विधिगत रुपमा उल्लेख गरियो ।

संविधान पल्टाएर हेरौँ संघीय सरकारले के गर्ने हो ? प्रदेश सरकारले के गर्ने हो ? र स्थानीय सरकारले के गर्ने हो भनेर ? संविधानमा कामहरु किटान गरिएका छन् । मैले यो प्रसंग किन उल्लेख गरेको भने अब संविधानले दिएको अधिकारहरु स्थानीय सरकारले आफूले गर्ने कामहरु सम्पादन गर्नुपर्छ । अब माथि सरकारको मुख ताक्ने कुरा होइन, अब संविधानले दिएका अधिकारहरुलाई स्थानीय सरकारले प्रयोग गरेर भूमिका खेल्नुपर्दछ । यस हिसाबले उसले अब कार्य सम्पादन गर्न थाल्नुपर्छ । हाम्रो अभ्यास भनेको माथिको मुख ताक्ने छ, अब त्यो जरुरत छैन । अब तपाईले गर्न सक्ने काम आफैँ गर्नुस् तपाईले गर्न नसकेका कामहरु प्रदेश सरकारको तर्फबाट हुन्छ र प्रदेश सरकारभन्दा माथिका कामहरु गर्नुपरेमा संघीय सरकारले गर्छ । अब यसमा अलमल गरियो भने जनतालाई सेवा सुविधा दिन सक्दैनौँ । त्यसैले अब हरेक स्थानीय सरकारहरु, निर्वाचित साथीहरुले जनतालाई सेवार सुविधा दिनको लागि माथिको मुख ताकिरहनु पर्दैन । धेरै कुराहरु यहीँबाट गर्न सकिन्छ । त्यसमा अब कसैले रोकछेक गर्न सक्दैन । हामीले यो कुरालाई बुझेका छौँ तर व्यवहारमा लागू गर्न सकेका छैनौँ । त्यसकारण हिजोकै मनस्थिति अनुरुप माथिबाट भएन, गरिएन भन्ने खालका कुराहरु आउने गर्छन् । अब हामीले त्यस हिसाबले सोच्नुहुदैँन । बूढानीलकण्ठ नगरपालिका नेपालकै सबैभन्दा ठूलो नगरपालिका हो । यो नगरपालिका हर हिसाबले ठूलो छ, ठूलो भएकै कारणले यसको अगाडि अवसरहरु पनि छन् र चुनौतीहरु पनि छन् ।

अब यसको अनूकुलतालाई ख्याल गरेर यसको विकासको लागि, यहाँ जनतालाई सेवा सुविधा दिने हिसाबले काम सम्पन्न गर्नुपर्ने कुरामा ध्यान दिनु जरुरी छ । यहाँका अनेक विकासका कुराहरु जस्तै– पर्यटन विकास, यहाँ केन्द्रीय सरकारले कुनै हस्तक्षेप गर्दैन । यो बूढानीलकण्ठ क्षेत्रलाई एउटा पर्यटकीय क्षेत्र बनाउनु पर्छ भन्ने हिसाबले सरकारले सय वटा पर्यटकीय  गन्तव्यमा  बूढानीलकण्ठ नगरपालिकालाई पनि एउटा गन्तव्य स्थल रोजेको छ। अब यसलाई कसरी राम्रो बनाउने, कसरी व्यवस्थित बनाउने भन्ने जिम्मा कसको हो ? यो जिम्मेवारी त नगरपालिकाबाट लिनुपर्‍यो । यो नगरपालिकालाई स्थानीय सरकारको तर्फबाट विकास गर्न जोड दिनुपर्‍यो । अब हामी यहाँका जनप्रतिनिधिहरुले आफ्नो स्वार्थलाई ध्यानमा राखेर यसलाई व्यवस्थित एउटा पर्यटकीय गन्तव्य स्थल बनाउने कुरामा बाधक बन्छौ भने दोष कसलाई दिने ? यो बूढानीलकण्ठ यति पुरानो मन्दिर, सारा धर्मवालम्बीहरु, सांस्कृतिक सम्पदामा रुची राख्नेहरु आउन चाहन्छन् । तर आज हाम्रो बूढानीलकण्ठ मन्दिरको अवस्था हेर्नुहोस् कस्तो छ ? यसमा दोष कसलाई दिने ? त्यसलाई हामी किन व्यवस्थित गर्न सक्दैनौ ? यसलाई निर्वाचित प्रतिनिधिहरुले नेतृत्व गर्ने हो, जनताको साथ सहयोग लिने हो र यसलाई सुन्दर ठाउँ बनाउने हो ।

यहाँका प्राकृतिक साधन र स्रोतको सुनिश्चित गर्ने कुरामा अब कसैले माथिबाट बक्रदृष्टि दिदैँन । यहाँका सार्वजनिक सम्पतिको रक्षा गर्ने कुराको मूल जिम्मेवारी यहाँको नगरपालिकाका साथीहरु र यहाँका जनताको हो। यहाँका सार्वजनिक सम्पतिको अतिक्रमण गर्ने, त्यसलाई मिचेर जबरजस्ती गर्ने, राजनीतिको दबाबमा त्यो सिर्जना गर्ने, विभिन्न व्यक्तिहरुको सहयोग लिएर त्यो कुरा पुरा नगर्ने अनि कसरी बन्छ बूढानीलकण्ठ ? त्यसकारणले अव्यवस्थित बसोवास, जस्तो पायो त्यस्तै संरचना निर्माण गर्नु हुदैँन, संरचनै बनाउनु हुदैँन भनेको होइन। तर व्यवस्थित संरचनाहरु निर्माण हुनुपर्‍यो । यसको लागि नगरपालिका र स्थानीय जनता मिलेर योजना बनाउनु जरुरी छ । त्यस कारणले हामी सित यतिधेरै सम्पदा छन्त्य, त्यसको रक्षा गर्ने जिम्मा हाम्रो हो । त्यसकारण  बूढानीलकण्ठ नगरपालिकाका मेयरको अगुवाईमा व्यवस्थित मास्टर प्लान बनाउने, त्यो मास्टर प्लानलाई लागू गर्नको लागि तपाईहरु नगरपालिकाबाट के सक्नुहुन्छ गर्नुस्, प्रदेश सरकारले गर्ने कुरा गर्छ । यदि प्रदेश सरकारले पनि गर्न नसक्ने कुराहरु आयो भने तपाईहरुको मास्टर प्लानलाई पुरा गराउनको लागि जे जिम्मा लिनुपर्छ त्यो जिम्मा लिने काम मेरो हो । तर तपाईसित बूढानीलकण्ठ नगरपालिका कस्तो बनाउने भन्ने मास्टर प्लान हुनुपर्‍यो। बरु समय लगाएर त्यसको एउटा व्यवस्थित मास्टर प्लान बनाउनुस् र त्यो मास्टर प्लानको कुन अंश तपाई पुरा गर्ने हो गर्नुस्, कुन अंश प्रदेश सरकारलाई गराउने हो गराउनुस् र कुन अंश माथिबाट गर्नुपर्ने हो त्यसको लागि तपाई भन्नुस् । त्यसमा कहाँ गएर, के गरेर, कसरी स्रोत जुटाउने र सम्पादन गर्ने भन्ने कुराको जिम्मा हामी लिन्छौँ । तर यसको पहलकर्ता तपाईहरु हुनुहुन्छ ।

बूढानीलकण्ठ नगरपालिकाप्रति हामीलाई गर्व लाग्छ । हाम्रो मेयर साब जनताको बीचमा भिजेको हुनुहुन्छ । यहाँ नियम विपरित काम गरेको टिप्पणी हामीले कतै सुन्नुपरेको छैन । तर यत्तिले पुग्दैन । एकजना मात्र राम्रो मान्छे भएर पुग्दैन, तपाईले राम्रो बूढानीलकण्ठ बनाउनुपर्छ । त्यो राम्रो बूढानीलकण्ठ बनाउन तपाईले अगुवाई गर्नुपर्छ भन्ने मेरो माग हो । म ५ नम्बर निर्वाचन क्षेत्रको प्रतिनिधि भएको नाताले पनि यो काम गर्ने कुरामा म सधैँ तपाईहरुलाई साथ दिनेछु । यहाँको जलस्रोतलाई कसरी प्रयोग गर्ने, पिउने पानीलाई कसरी व्यवस्थित गर्ने, यहाँको जंगल विनास हुन कसरी रोक्ने भन्ने बारे समग्र रुपमा केही नगरपालिकालाई नमूनाको रुपमा छनोट गर्दा बूढानीलकण्ठ पारेका छौँ। देशभरिका १२ वटा नगरपालिकामा बूढानीलकण्ठ नगरपालिका पारियो।

त्यसमा यो नगरपालिकाको एकीकृत विकासको लागि भनेर संघीय सरकारले १ अर्ब छुट्याएको छ । माथिबाट गर्ने कुरा हामीले पारेका छौँ अब त्यो बजेट लिनको लागि तपाईहरुले योजना बनाउन जरुरी छ । त्यसमा अहिले ३० करोड मात्र बजेट आएको छ तर तोकिएको रकम प्राप्त गर्ने सामर्थ्य त हामीमा पनि हुन जरुरी छ । हामीले अब हाम्रो सामर्थ्य आर्जन गर्नु जरुरी छ । तपाईहरु भ्रममा नपर्नुस् यो सरकार आफ्नो प्रतिबद्धता अनुसार काम गर्छ । त्यो प्रतिबद्धता हिजो निर्वाचनको समयमा हामीले घोषणापत्र मार्फत जनताका बिचमा गरेका छौँ । त्यो प्रतिबद्धतालाई कार्यान्वयन हामी गर्छौ । हामीले जे बोलेका छौँ, जे प्रतिबद्धता गरेका छौँ, त्यसबाट हामी १ इन्च तलमाथि हुदैँनौँ । त्यो प्रतिबद्धता हामी पुरा गर्छौ ।

हामी आवधिक निर्वाचनमा विश्वास गर्छौ, जनताको विश्वासले दिएको मतमा विश्वास गर्छौ । हामीले राम्रो काम गर्‍यौं भने जनताले हामीलाई स्यावासी दिन्छन् तर काम बिगार्‍यौं भने जनताले हामीलाई मन पराउँदैनन् । कतिलाई अहिलेको सरकारले के गर्ला, कसो गर्ला भन्ने डर होला । तर अहिलेको सरकारले आफ्नो प्रतिबद्धता अनुसार काम गर्छ । त्यसैले तपाईहरुले संघीय सरकारको बारेमा चिन्ता लिनु पर्दैन । हामीले राजनीतिमा प्रतिस्पर्धा गर्‍यौं, कसैले जित्यौ, कसैले हार्‍यौं तर विकास निर्माणमा हामी एउटै हुनुपर्छ । विकास निर्माणका काम हुनु भनेको हामी सबैको लागि हो । विकास निर्माण र समृद्धि हाम्रो साझा भएकाले यसको लागि हातेमालो गरेर हिडौँ । देश बनाउने कुरा कुनै एउटा  पार्टीको मात्र होइन र हुन सक्दैन । हामीले जनताको हितमा काम गर्ने कबुल गरेका हौँ भने मिलेर जानुपर्छ ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठ नगरपालिका विकास र सुशासनमा प्रतिवद्ध छ : नगरप्रमुख खरेल

प्रतिक्रिया दिनुहोस्