करातेमा नेपालका १० स्वर्ण पदक



१८ मङ्सिर २०७६, काठमाडौं

काठमाडौँमा जारी तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेको कुमुतेतर्फ नेपालकी अनुपमा मगरले स्वर्णपदक हात पार्नुभएको छ ।

महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६–३ ले पराजित गर्नुभयो । त्यसअघि अनुपमा श्रीलङ्काकी विजेकुन मोहम्मदलाई ७–४ ले पराजित गर्दै फाइनमा पुग्नुभएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्यपदक जित्यो । यससगैँ करातेमा नेपालको स्वर्ण पदक सङ्ख्या १० पुगेको छ ।

यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठ र टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर तथा टिम काता महिलामा निर्मला तामाङ र सङ्गीता मगर सरु कार्की तथा ५५ केजीमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाउनुभएको थियो । त्यसैगरी ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजी मुनी कुसुम खड्का, ५० केजी मुनि अनु अधिकारी ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्णपदक जित्नुभएको थियो । करातेमा अहिलेसम्म कुनै पनि स्पर्धामा नेपाल पदक विहीन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्