आजको सम्पादकीय : मनबाटै भत्काऔँ अमानवीय छाउघरहरु



१८ मङ्सिर २०७६, काठमाडौं

आज काठमाडौं उपत्यकाबाट प्रकाशित भएका विभिन्न राष्ट्रिय दैनिकले सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यमान सामाजिक कुरुरीति, देशको समसामयिक राजनीति, आर्थिक एवम् जनताका दैनिक सममस्याका विषयलाई सम्पादकीय बनाएका छन् ।

आजको नयाँ पत्रिकाले छाउगोठमा बसेकी साँफेबगर नगरपालिका–३ अछामकी २१ वर्षीया महिला पार्वती बुढा राउतले सोमबार ज्यान गुमाएकी विषयलाई आधार बनाएर सामाजिक कुरीतिविरुद्ध आज सम्पादकीय लेखेको छ । ‘अमानवीय छाउगोठ’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –महिनावारी नियमित, प्राकृर्तिक, स्वाभाविक र अत्यावश्यक प्रक्रिया भएपनि यसलाई अपवित्र ठान्ने अन्धविश्वासले महिलालाई छाउगोठमा निसास्सिएर अकालमा ज्यान गुमाउनका बाध्य बनाइरहेको छ । त्यसविरुद्ध लड्न सरकारी र गैरसरकारी निकायको समेत दीर्घकालीन, सक्रिय, सचेत र परिणाममुखी क्रियाकलाप जरुरी रहेको छ ।

त्यस्तै कान्तिपुर दैनिकले पनि महिनावारी भएका महिलालाई छाउघर पठाउने सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय जिल्लामा विद्यमान कुरीतिका विषयमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –परम्पराका नाममा कुरीति भोग्न अभिशप्त कैयौंको ज्यान वर्षौदेखि गइरहेको छ । यो हाम्रा कातिपय प्रथा र परम्पराले महिलामाथि थोपरेका विभिन्न हिंसामध्येको एउटा दरलाग्दो रुप हो । यसले महिलाको वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोसेको छ । कानुनले दण्डनीय मानेपनि कार्यान्वयन भएको छैन, त्यसतर्फ सबैतहका सरकारको ध्यान जान जरुरीछ, यसविरुद्ध प्रतिरोधात्मक अभियान छेडिनुपर्छ ।

नागरिक दैनिकले देशभरका विभिन्न तहका ५२ रिक्त जनप्रतिनिधिको पद पूरा भएको र त्यसको नतिजाले सबै राजनीतिक शक्तिलाई गहिरो सन्देशसहित भावी राजनीतिक कार्यदिशा प्रदान गरेको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । ‘यस पटकको निर्वाचन परिणाम सत्तारुढ र प्रमुख विपक्षी दुवैलाई आफ्नो कार्यशैली परिवर्तनका लागि मौका दिने ढंगले आएको छ,’सम्पादकीयम भनिएको छ, ‘ आम मतदाताको अपेक्षा समयमै बुझ्न सक्दा मात्र राजनीतिक दलले अपेक्षित गति लिन सक्छ ।’

‘यसरी नै चम्काउनू देशको नाम’ शीर्षकमा सम्पादकीय लेख्दै अन्नपूर्ण पोष्टले सागको १३ औं संस्करणमा नेपाली खेलाडीले उत्साहजनक प्रदर्शन गरेको भन्दै खेलाडी र आयोजकलाई शुभकामना व्यक्त गरेको छ । ‘देशको लागि भिडेका पौरखी खेलाडीहरु पुज्य पात्र हुन् । देशको इज्जत राख्ने ती कर्मठ सेवकलाई अन्तर्मनबाटै शुभकामना,’ सम्पादकीयमा भनिएको छ, ‘धेरै खेल खेल्नु छ । सुरुकै गतिमा कीर्तिमान र पदक आर्जन गर्न खेलाडी सफल भइरहुन्…खेलाडी र आयोजक सबैलाई हार्दिक शुभकामना ।’

गोरखापत्र दैनिकले हालै सम्पन्न उपनिर्वाचनमा जनता र दलले उत्साहजनक सहभागिताले देश लोकतान्त्रिक अभ्यासमा अभ्यस्त हुँदै गएको उल्लेख गरेको छ । ‘परिपक्वतातिर लोकतान्त्रिक अभ्यास’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –निर्वाचनमा अपनाइएको सुरक्षा व्यवस्था, जनसहभागिता, दल तथा प्रतिस्पर्धीमा विकसित सहिष्णुताका कारण नेपालमा निर्वाचनजस्तो लोकतान्त्रिक अभ्यास र अवस्था परिपक्वतातर्फ अग्रसर भएको पुष्टि गर्छ ।

त्यस्तै आजको नेपाल समाचारपत्रले राजधानीको ट्राफिक जामले झन्डै ४० लाख मानिस आक्रान्त भएको विषयलाई सम्पादकीय बनाएको छ । ‘सीमित बटो र असीमित सवारीसाधनका कारण ट्रफिक जामको मुख्य कारण बनेको छ,’ सम्पादकीयमा भनिएको छ, ‘जामका कारण एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारीसाधनसमेत मारमा पर्ने गरेका छन् । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।’

सरकारले पूँजी बजारप्रति बेवास्ता गरेको विषयमा आजको आर्थिक अभियानले सम्पादकीय लेखेको छ । ‘नेपालको सेयरजबजार परिपक्व भएको छ भनिए पनि व्यावहारमा त्यस्तो देखिँदैन, अर्थात् सूचक र कम्पनीको विवरण हेरेर लगानी गर्नेहरु अझै निकै कम छन्,’ सम्पादकीयमा भनिएको छ, ‘ पूँजीबजार सुधारका लागि धितोपत्र बोर्डले सेयर शिक्षा कार्यक्रमलाई अझ बढी प्रभावकारी ढंगमा अघि बढाउनुपर्ने देखिन्छ ।’

त्यस्तै आज अर्को आर्थिक दैनिक पत्रिका कारोबारले एजुकेसन कन्सल्टेन्सीहरुमार्फत वैदेशिक रोजगारी जाने नेपालीमाथि भइरहेको ठगीको विषयलाई सम्पादकीय बनाएको छ । ‘वैदेशिक रोजगारीमा नघटेको ठगी’ शीर्षकामा लेखिएको सम्पादकीयमा भनिएको छ, ‘लामो समयदेखि एजुकेसन कन्सल्टेन्सीहरु विकसित मलुकहरुमा रोजगारी र जनशक्ति प्रतिस्थापनका मध्यस्तकर्ता कम्पनीजस्तो भूमिकामा काम गरिरहेका छन्, यो ठगीको मूल कारण हो ।’

प्रतिक्रिया दिनुहोस्