स्वास्थ्यमन्त्री भानुभक्त ढकालः स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ



१७ मंसिर २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन्। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका हुन्।

अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा डाक्टरले गर्ने १०ः०० देखि ५ः०० बजेसम्मको ड्यिटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव आएको बताए। मन्त्री ढकालले भने, “सेवाको जिम्मा लिएर यस्ता काम गर्नेलाई अव कारवाही गरिन्छ, सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिकमा चलाउने बेथितिको अव अन्त्य हुन्छ।”

बजारमा औषधि महङ्गा छन् र औषधि नै किन्न नसकेर मान्छेहरु रोगसँग लड्न पाएका छ्रैनन् भन्ने सुनेको उल्लेख गर्दै अब औषधि उपचारका सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उनले बताए। स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई पूर्णरुपमा नियन्त्रण गरिने बताए।

उनले कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएकाले अब स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गरिने उनको भनाई थियो। स्थानीय तहमा हस्तान्तरण भएका अस्पताललाई सहयोग गर्ने दायित्वबाट सरकारपछि नहट्ने उल्लेख गर्दै उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्