आजबाट बूढानीलकण्ठ नगरपालिका आफ्नै सुविधा सम्पन्न भवनमा (फोटो फिचर)



१६ मंसिर २०७६, काठमाडौं

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाँचौ नगर स्थापना दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाको तीन तले प्रमुख प्रशासकीय भवन उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले, ‘सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताए ।’

कार्यक्रमका विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले, ‘नगरपालिकाले प्रदान गरिरहेको सेवा अझ चुस्त र प्रभावकारी बनाउन नवनिर्मित भवनले थप सहयोग पुग्ने बताए ।’

प्रदेश सभा सदस्य दीपक निरौलाले, ‘विकासमा अगाडि बढिरहेको बूढानीलकण्ठ नगरपालिकाको नवनिर्मित भवनबाट नगरवासीले एकीकृत सेवा पाउने जानकारी गराए ।’

अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले,‘एकीकृत योजना बनाएर विकास निर्माणको कार्य अघि बढाउनुपर्ने बताउँदै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गतवर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यसवर्ष पनि रु एक–एक करोड छुट्याइएको बताए ।’

कार्यक्रमका सभाध्यक्ष तथा नगरप्रमुख उद्धवप्रसाद खरेलले, ‘विकास निर्माण र सुशासनमा अगाडि बढिरहेको नगरपालिकाको नवनिर्मित भवनले जनसेवा र पारदर्शीतामा अझ सघाउने बताए ।’

नयाँ नगरपालिकामध्ये बूढानीलकण्ठ नगरपालिका उपत्यकामै निर्माण सम्पन्न भई आफ्नो भवनमा सर्ने पहिलो नगरपालिका बनेको छ । भवन निर्माणको कूल लागत १० करोड नौ लाख ४३ हजार रहेको छ ।

कार्यक्रमको संचालन नगर प्रवक्ता नवराज भट्टराईले गरेका थिए भने कार्यपालिका सदस्यहरु सुमित्रा त्रिपाठी पाण्डे, शान्ता ढकाल, दुर्गा थापाले अतिथिहरुलाई खादा ओढाई सम्मान गरेका थिए । नगर उपप्रमुख रमादेवी राईले सहभागीहरुलाई स्वागत मन्तव्यबाट सम्बोधन गरेकी थिईन भने प्रमुख अतिथिले शिलालेख अनावरण तथा झण्डोत्तोलन गरी नवनिर्मित भवनको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ र कुसुम कुमार कार्कीले पनि स्वागत मन्तव्य राखेका थिए भने भवन निर्माणमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।         

 

प्रतिक्रिया दिनुहोस्