
१५ मंसिर २०७६, काठमाडौं
नेपाल टेलिकमले एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रायोजन गर्ने भएको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल टेलिकम आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजन गर्ने भएको हो । प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२,००,०००।– (बत्तिस लाख) रुपैयाँ उपलब्ध गराउने छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् ।
सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्नेछन् । जर्सीको अगाडि भागको माथि दाहिने पट्टि नेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिने छ । त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँ पट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ । त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवर्द्धनात्मक सामग्रीहरुमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीहरुको निःशुल्क प्रयोग गर्न सक्नेछ ।

उक्त अवसरमा प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकता समेत थप मजबुत हुने बताउँदै यस्तो कार्यमा सहयोग गर्न पाएकोमा कम्पनी गौरवान्वित भएको बताए । उनले आगामी एक वर्ष कम्पनीको व्यावसायिकता र नेपाल पुलिस क्लबका खेलाडीको खेलजीवन साथसाथै लैजान पाएकोमा खुशी पनि व्यक्त गरेका छन् ।





