इराकी प्रधानमन्त्रीद्वारा राजीनामा



१५ मंसिर २०७६, काठमाडौं

इराकी प्रधानमन्त्री अडेल अब्दुल महदीले पदबाट राजीनामा दिएका छन्।

पछिल्ला दिनहरुमा राजधानी बग्दाद र दक्षिणी इराकमा सरकार बिरोधी गतिविधिहरु बढ्दै गएपछि प्रधानमन्त्री अब्दुल महदीले पदबाट राजीनामा दिएका हुन्।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र जनजीविकाका मुद्धा सम्बोधन नगरेको भन्दै पछिल्ला दुई महिनायता इराकमा भएका सरकार विरोधी प्रदर्शनहरु हिंसात्मक बन्दै गएका छन्।

सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा कयौं सर्वसाधारण मारिएका छन् भने हजारौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

शुक्रबार एकै दिन आन्दोलनका कारण ४० भन्दा बढी सर्वसाधारण मारिएपछि प्रधानमन्त्री महदीलाई सरकार छोड्न दवाव परेको हो।

आइतबार बस्ने संसद बैठकले प्रधानमन्त्री महदीको राजीनामा पत्रबारे छलफल गर्ने बताइएको छ। प्रदर्शनकारीहरुले सार्वजनिक र निजी सम्पतिमाथि तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरुले अत्याधिक बल प्रयोग गरेको बताइएको छ।

इराकका शीर्ष धार्मिक नेताले पनि शुक्रबार जारी राजनीतिक संकट समाधानका लागि राजीनामा दिन प्रधानमन्त्रीर्लाइ सुझाव दिएको बताएका थिए।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्