बूढानीलकण्ठ नगरपालिकाको मुख्यालय उपप्रधानमन्त्री पोखरेलद्वारा उद्घाटन हुने



१४ मंसिर २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको नवनिर्मित भवन नगर स्थापना दिवसको अवसर पारेर मंसिर १६ गते नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा उद्घाटन हुने एक पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

बूनपा १० का वडाध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईका अनुसार १४ रोपनी क्षेत्रफलमा बनेको तीन तले नवनिर्मित भवनको लागत १० करोड ९ लाख ४३ हजार रहेको जानकारी दिदैं उद्घाटन समारोहमा स्थानीय संस्कृति झल्किने खालका विभिन्न झाँकी तथा नृत्यहरु प्रदर्शन हुनेछ ।

उद्घाटन समारोह भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिकाले पाँच व्यवस्थापन समिति बनाएको छ । जसमा बूनपा २ का वडाध्यक्षको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, बूनपा १० का वडाध्यक्षको संयोजकत्वमा प्रचार–प्रसार समिति, बूनपा ८ का वडाध्यक्ष सुमन तमाङको संयोजकत्वमा अतिथि सत्कार तथा जलपान व्यवस्थापन समिति, बूनपा १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक समिति, कार्यपालिका सदस्य संगम गहतराजको संयोजकत्वमा सवारी (पार्किङ्ग) व्यवस्थापन समिति बनाएको छ ।

कार्यक्रममा बूनपाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले वि.सं. २०७१ मा गठन भएका नगरपालिका मध्ये आफ्नै भवनमा सर्ने पहिलो नगर बूढानीलकण्ठ नगरपालिका भएकोमा खुशी व्यक्त गरे । विगतमा नगरका विभिन्न शाखाहरु भिन्न–भिन्न स्थानमा संचालन हुँदा नगरवासीलाई समस्या परेको बताउँदै अब भेटनरी बाहेकका सम्पूर्ण शाखाहरु एउटै भवनबाट संचालन गर्दा सेवामा सहजता हुने जानकारी गराए ।

कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. ४ र ५ का संघीय तथा प्रदेश स्तरीय सांसदहरूको उपस्थिति रहने तथा छिमेकी नगरपालिकाका प्रमुखहरुको समेत उपस्थित हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्