सुत्केरी महिलाको स्याहार कसरी गर्ने?



१२ मंसिर २०७६, काठमाडौं

विशेष गरी बच्चा जन्मेको ६ हप्तासम्मको अवधिलाई सुत्केरी स्याहार भन्ने वुझिन्छ। यो एक परिवारका र एउटी आमाका लागि निकै खुसीको क्षण त हुँदै हो। ९ महिनासम्म आफ्नो गर्भमा बच्चा हुर्काएर जन्म दिने आमाले समायोजन हुनुपर्ने र उपचारका साथै स्याहार पाउनुपर्ने समय पनि हो।

यस अवस्थामा पूर्ण रूपमा आराम गर्नुपर्छ। साथै सुत्केरीपछिको चेकअपका लागि अस्पताल गइरहनुपर्छ। महिलालाई विशेषगरी पहिलो बच्चाको प्राप्तीपश्चात् सुरुवाती क्षणमा प्रत्येक दिनको व्यस्थापन निकै चुनौतीपूर्ण नै हुन्छ। बच्चाको स्याहारमा सम्पूर्ण ध्यान दिनुपर्ने हुन्छ भने आमाले आफ्नो स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ।

प्रायः नयाँ आमाहरू कम्तीमा ६ हप्तासम्म काममा फर्किन सक्दैनन्। कामकाजी महिला छन् भने एकातिर कामको पनि मानसिक चाप हुन्छ भने अर्कोतर्फ शरिर सामान्य अवस्थामा फर्किन समय लाग्छ। नयाँ बच्चालाई पटक–पटक आमाको दूध चुसाउनुपर्छ।

बच्चामा पनि हरेक दिन परिवर्तन देखापर्छ। आमाले निदाउन पनि राम्रोसँग नपाउने हुनाले थकानका साथै मानसिक असन्तुलन पनि देखिन सक्छ। तर, खुसीको कुरा, यी सब कुरा बिस्तारै नियमित बन्दै जान्छन्, अर्थात् बच्चाको र आमाको परिवारमा समायोजन हुँदै जान्छ।

घरमा नयाँ बच्चा आएपश्चात् पूरै परिवारको संरचनामा बदलाव आएको अनुभूति हुन्छ।

यो समयमा श्रीमान्–श्रीमतीले एक–अर्कालाई राम्रोसँग समय दिन पनि भ्याउँदैनन्। यसबाट उत्पन्न हुने कठिनाइले केही असमझदारी पनि सिर्जना हुन सक्छ। तर, धैर्य र समझदारीले बिस्तारै समाधान पनि दिँदै जान्छ।

हरेक परिवारमा परिवर्तन आउँछन् भन्ने बुझ्नुपर्छ। बच्चा हुर्कंदै गर्दा सबै असहजता भुल्दै गइन्छ।

प्रसूतिपश्चात् यी कुराहरुमा ध्यान दिनुहोस्ः

प्रशस्त आराम गर्नुहोस्

सुत्केरीअवस्थामा सबैभन्दा बढी ध्यान पुर्याउनुपर्ने कुरा प्रशस्त आराम नै हो। बच्चा सुतेको समयमा आमा पनि सुतिहाल्नुपर्छ।

सरसफाइमा ध्यान दिनुहोस्ः

सुत्केरी समयमा ध्यान नदिएर जोखिम निम्त्याउन सक्ने अर्को महत्वपूर्ण कारण सरसफाइको कमी हो। आमा र बच्चा दुवैको स्वास्थ्यका लागि सरसफाइ उत्तिकै महत्वपूर्ण कुरा हो।

स–सानो लापारवाहीका कारण पनि बच्चामा इन्फेक्सनको जोखिम हुने हुँदा निकै सचेत हुनुपर्दछ।

सहयोग लिनुहोस्ः

परिवार तथा साथीभाइसँग सहयोग लिन कहिल्यै नहिच्किचाउनुहोस्। बच्चालाई खाना तयार गर्ने, लुगाफाटोको व्यवस्थापन गर्ने लगायत कुरामा आफैँ नखटुनुहोस्।

स्वस्थ खाना खानुहोस्ः

सुत्केरी अवस्थाबाट छिटो रिकभर हुने एक मात्र उपाय भनेको स्वस्थ र पोसिलो खाना हो। यो समयमा महिलाको टिस्यु ड्यामेज हुने भएकाले टिस्यु रिकभरीका लागि पनि पौष्टिक आहार जरुरी हुन्छ।

आमाको दूध बच्चाले खाइरहने हुनाले झोलिलो खानेकुरा पनि खानुपर्दछ। तर, धेरै घिउ भने खानुहुँदैन। प्रोटिनयुक्त खाना प्रशस्त खानुपर्छ।

सन्तुलित व्यायाम गर्नुहोस्ः

धेरै मानिसमा भ्रम छ– सुत्केरीले व्यायाम गर्नुहुँदैन। चिकित्सकको सल्लाह लिएर मात्रै सुरुमा घरवरपर हिँड्ने गर्नुपर्छ।

तर त्यस्तो हैन कि, बिस्तारै व्यायाम बढाउँदै लानुपर्छ। व्यायामले शक्ति बढाउनुका साथै फुर्तिलो रहन सहयोग गर्दछ।

प्रतिक्रिया दिनुहोस्