साउथवेस्टनले गर्‍यो महिला हिंसा विरुद्ध र्‍याली



०९ मंसिर २०७६, काठमाडौं

‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ को अवसरमा काठमाडौँको वसुन्धरामा अवस्थित साउथवेस्टन स्कुलका कक्षा ९ का विद्यार्थीको आयोजना तथा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र गोङ्गबु र सामुदायिक सेवा केन्द बाँसबारीको सहकार्यमा महिला हिंसा विरुद्ध र्‍याली निकालिएको छ । साउथवेस्टन स्कुलका कक्षा पाँचदेखि कक्षा दशसम्मका विद्यार्थीहरू ब्यानर र प्लेकार्डसहित सहभागी भएको उक्त कार्यक्रम गोङ्गबुको बी. जी. मल नजिक पुगेर अनौपचारिक कोणसभाबाट समापन भएको थियो ।

टोखा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष जोग प्रसाद नेपालले कोणसभालाई सम्बोधन गरेका थिए । सोही क्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले महिला हिंसा अन्त्यको लागि सबैलाई हातेमालो गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा महिला मञ्चको तर्फबाट वक्ता भूमिका सुवेदीले महिला हिंसाका प्रवृत्तिहरू प्रष्ट पार्दै यसको अन्त्य हुनुपर्ने कुरामा जोड दिएकी थिइन् । अर्का वक्ता देवमाया आचार्यले महिला हिंसासँगै पुरुष हिंसा पनि अन्त्य गर्नुपर्ने बताईन् । सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष राकेश सिंहले यस्तो कार्यक्रम आयोजना गरेकोमा साउथवेस्टन स्कूलको प्रशंसा गरेका थिए । साउथवेस्टन स्कूलका अध्यक्ष टीकाराम महराले विद्यालयले पढाइका अतिरिक्त विद्यार्थीहरूलाई खेलकुद, समाजसेवा र राष्ट्रिय चासोका कार्यक्रमहरूमा सहभागी हुन प्रोत्साहन गर्ने गरेको कुरा दर्साएका थिए ।

कार्यक्रममा साउथवेस्टन स्कूलका विद्यार्थीहरूले कविता, नृत्य र सडक गीति नाटक मार्फत महिला हिंसा अन्त्यको लागि आह्वान गरेका थिए । साउथवेस्टन स्कूलको कक्षा दशमा अध्ययनरत छात्रछात्रा डेनियल शेरचन र इशु बस्नेतले कोणसभाको कार्यक्रम सञ्चालन गरेका थिए । कक्षा नौमा अध्ययनरत छात्रा स्वस्तिका ढकालले स्वागत मन्तव्य राख्दै नारीहरूको सम्मान गर्दा देश सम्मानित हुने विचार राखेकी थिइन् । साथै विद्यार्थी सिद्धान्त घिमिरेले ‘महिला हिंसा अन्त्य गरौँ’ शीर्षकमा कवितावाचन गरेका थिए ।

‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ को अवसरमा विश्वका विभिन्न देशहरूमा जस्तै नेपाल सरकारले विगतका वर्षहरूमा ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गर्दे आएको छ । भने यस वर्ष ‘महिला हिंसा विरुद्धको वर्ष अभियान’ को कार्यक्रम सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्