प्रेस रिभ्यू : भेन्टिलेटरमा राखेर प्रमको उपचार, भएको के हो ?



११ मङ्सिर २०७६, काडमाडौं

आज मंसिर ११ गते बुधबार आजका दैनिक पत्रिकाहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिबारे समाचारहरु प्रकाशित भएका छन् ।

कान्तिपुर दैनिकका अनुसार ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्याइएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो। सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा। रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो। शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ। विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट)मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’रहेको उल्लेख छ।

अस्पताल पुग्नु अघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियो/थिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन। उनको उपचार प्रकृया र शारिरीक स्थितिलगायतको विश्लेषणका आधारमा केहि विशेषज्ञले अस्पताल पुग्नु अघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन्। ‘प्रधानमन्त्रीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोधात्मक क्षमता घटाउने औषधि) खाइ राख्नु भएको छ। यो औषधिले गर्दा एपेन्डिसाइटिसको दुखाइ कम भएर समयमै थाहा नहुन पनि सक्छ’, एक मृगौला रोग विशेषज्ञले भने, ‘पुरै पेट खोलेर शल्यक्रिया गर्नु पर्नाको कारण या त एपेन्डीक्स फुटेकै हुनु पर्छ नभए पेट भित्र पिप, पानी आदि जमेको हुनु पर्छ।’

यता, नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्रीको बिहान ११ बज्दानबज्दै अप्रेसन सुरु गरिएको थियो । एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो । अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो । यसका लागि उनलाई ‘एनेस्थेसिया’दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो । ‘पेटमा संक्रमण कति फैलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो । संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने । अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ । तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् । अप्रेसनपछि अपेक्षित समयमै उनलाई होस आएको थियो । तर, मध्यरातसम्म पनि उनलाई भेन्टिलेटरमा राखिएको छ । त्यसैले उनले बोलेर कुरा गर्न पाएका छैनन् । ‘मुखमा मास्क लगाइएको छ, त्यसैले उहाँले बोल्न मिल्दैन । तर, इसाराले कुरा गर्नुभएको छ । मास्क हटाइदिनूस् भनेर अनुरोध गर्नुभएको थियो । तर, हामीले हटाएका छैनौँ,’ डाक्टरले भने ।

नागरिक दैनिकका अनुसार प्रधानमन्त्री अबका केही दिन अस्पतालमै रहने भएका छन्। शल्यक्रियापछि चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले उनलाई त्यहीं भर्ना गरिएको छ। हाल उनलाई अस्पतालको आइसियूमा उच्च निगरानीमा राखिएको छ। अस्पतालले साँझ साढे सात बजे विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली मंगलबार र बुधबार अस्पतालमै रहने बताए। ‘बाहिर आएजस्तो तीन दिन भन्ने होइन, चिकित्सकले केही दिन भन्नुभएको छ। त्यसकारण आज र भोलि अस्पतालमै रहनुहुन्छ। आवश्यक चेकजाँचपछि उहाँलाई निवास पठाउने कि अस्पतालमै आराम गराउने भन्नेबारेमा चिकित्सकको परामर्श आवश्यक पर्छ’, थापाले मंगलबार साँझ भने।

अन्नपूर्ण पोष्ट दैनिकमा नक्कली भ्याटमा ११ अर्बको मुद्दा शीर्षकमा समाचार छ । राजस्व अनुसन्धान विभागले ११ अर्ब रुपैयाँ राजस्व छलीको अनुसन्धान टुंग्याएको छ। गत वर्ष सुरु गरिएको नक्कली भ्याट बिल (मूल्य अभिवृद्धि कर बिजक) को अनुसन्धानमा विभागले ६ अर्ब ८२ करोड रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिसकेको छ। थप मुद्दा दायर गर्ने तयारी भइरहेको महानिर्देशक दीर्घराज मैनालीले बताए। नक्कली भ्याट बिल कारोबारमा उच्चतम कारोबार गर्ने फर्मले ७० करोडसम्म कारोबारमा मुद्दा खेप्नुपर्नेछ। विक्रेता फर्मले उनीहरूसँग वस्तु किन्ने कम्पनीका नाममा देखाएको कारोबार उक्त फर्महरूसँग भिडाउँदा नमिलेपछि खातापाता नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। यसमा एक सय २५ विक्रेताले कारोबार देखाएका नौ सय खरिदकर्ता फर्म छन्। अनुसन्धानकै क्रममा विभागले नक्कली भ्याट बिल उत्पादन गरेर बिक्री गर्ने तीन गिरोहलाई नियन्त्रणमा लिई अनुसन्धानपछि मुद्दा दायर गरिसकेको छ। विभागका अनुसार नक्कली भ्याट बिल बनाएर वस्तु आयात गर्दा राखेको भ्याट क्रेडिट मिलान गरी उल्टै सरकारलाई ठग्ने काम भएको छ। कतिपयले भने वस्तु बिक्री गरेर उपभोक्ताबाट भ्याट उठाएर पनि सरकारलाई बुझाएनन्। बरु भ्याटमा दर्ता भएका अरू फर्मसँग कारोबार भएको देखाए। मुख्य विक्रेताले भ्याटमा दर्ता भएका अर्को तहको फर्मसँग कारोबार देखाए पनि नक्कली पाइएको छ।

नयाँ पत्रिका दैनिकमा नेपाल र चीनले बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिएस) दुई वर्षभित्र सक्ने गरी जिम्मेवारी बाँडफाँड गरेको समाचार छ । चीनले अध्ययनको सबै प्राविधिक काम गर्ने तथा सोको लागत व्यहोर्ने र नेपालले स्थानीयसँग सम्बन्धित मुआब्जा, बस्ती व्यवस्थापनलगायत विषयलाई सम्बोधन गर्ने सहमति भएको हो । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई देशका उच्च अधिकारीबीच भएको बैठकको सहमतिअनुसार नेपालले आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई), वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० गर्नुपर्नेछ । त्यस्तै, अध्ययन क्षेत्रमा सुरक्षा उपलब्ध, आवास व्यवस्थापन, फिल्ड संरचना निर्माणलगायत दायित्व पनि नेपालकै हुनेछ । चीनले प्राविधिक पाटो तीन चरणमा सम्पन्न गर्नेछ । जसअन्तर्गत पहिलो चरणमा हवाई सर्वेक्षण नक्सांकन (एरियल सर्भे म्यापिङ), दोस्रो चरणमा भौगर्भिक अध्ययन र तेस्रो चरणमा अलाएन्मेण्टको काम हुने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए । अध्ययन खर्च सबै चीनकै अनुदान हुने सहमतिमा उल्लेख छ । प्रतिवेदन तयार गर्न तीन अर्ब लाग्ने अनुमान छ । अध्ययनमा चिनियाँ प्राविधिकहरू नै सहभागी हुनेछन् ।

नागरिक दैनिकमा तेस्रो मुलुकसँग व्यापार तथा पारवहानमा पहुँच विस्तार गर्न नेपाललाई तीनवटा जलमार्ग र थप दुई नाकासम्म ब्लक कार्गो ढुवानी सुविधा दिन भारत सहमत भएको छ । पो पारवहन क्षेत्रमा नेपालका लागि नयाँ फड्को हो । काठमाडौँमा मङ्गलबार सुरु नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन द्विपक्र्षीय बैठकमा नेपालको उक्त प्रस्तावमा भारतीय अधिकारीले सहमति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्