‘बूनपा ११ लाई नगरकै पर्यटकीय हब बनाउँछु’ : वडाध्यक्ष अधिकारी



१० मंसिर २०७६, काठमाडौं

वि.संं. २०२७ सालमा जन्मिएका बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी सामान्य परिवारमा जन्मिएर सरकारी विद्यालयमा अध्ययन गर्दै कक्षा ८ बाटै राजनीतिमा प्रवेश गरेका हुन् ।

सानैदेखि चन्चले र जिज्ञासु स्वभावका वडाध्यक्ष अधिकारीले २०४६ सालमा एसएलसी पास गरेका हुन् । एसएलसी लगत्तै जीवनमा केहि गर्नुपर्छ भन्ने उद्देश्य लिएका अधिकारीले २०४७ सालमा नेपाली सेनाको खुल्ला प्रतिस्पर्धाबाट तेस्रो स्थानमा नाम निकाल्न सफल भएका थिए । शिर्ष तीनमा नाम भएता पनि उनले तालिमको समयावधी पुरा नहुँदै सेनाभित्रको अपाच्य गतिविधिका कारण जागिर छाड्ने निर्णय गरे ।

२ दाजु र १ दीदी सहित परिवारमा कान्छो सन्तानका रुपमा जन्मिएका वडाध्यक्ष अधिकारी २०४९ सालमा बैवाहिक जीवनमा बाँधिएका हुन् । हाल उनका एक छोरा र एक छोरी रहेका छन् ।

जागिर खाएर अरुको मातहतमा बस्नुभन्दा समाज परिवर्तनको लागि केही गर्नुपर्छ भन्ने धारणा राखेका उनले २०५१ सालमा राधाकृष्ण बहुउद्देश्यीय सहकारीको स्थापना गरी केही व्यक्तिहरुलाई रोजगारी समेत दिएका थिए । सहकारीलाई निरन्तरता दिदैं थप कृषिमा पनि केहि गर्नुपर्छ भनी वडाध्यक्ष अधिकारीले २०५७ सालमा कुखुरा फार्म खोलेका थिए । आफूजस्तै व्यवसायी हुन अरुलाई समेत प्रोत्साहन गरेका अधिकारीलाई त्यसमा खासै सफलता मिलेन ।

व्यवसाय सोचेअनुरुप नचलेपछि वडाअध्यक्ष अधिकारीले ०५९ बाट यातायात क्षेत्रमा समेत हात हालेका थिए । यातायात क्षेत्रसँगै उनले ०६० मा आफ्नै जग्गामा बालुवाखानी समेत संचालन गरेका थिए । पुनः २०६४ बाट यातायात व्यवसायलाई निरन्तरता दिँदै उपत्यका स्वयम्भु बस व्यवसाय समितिको कोषाध्यक्ष रहेर दुई कार्यकाल काम गरेको अनुभव समेत उनी सुनाउँछन् ।

राजनीतिक यात्रा
कक्षा ८ बाटै राजनीतिमा प्रवेश गरेका वडाध्यक्ष अधिकारीले विभिन्न आवश्यकता परिपूर्ती गर्न व्यवसायसँगै राजनीतिक यात्रा समेत जारी राखेका थिए । वि.सं २०४४ सालमा युवा संघमा आवद्ध भएका उनले २०४८ सालमा युवासंघ क्षेत्रीय सहसचिवको भूमिका निर्वाह गरी पार्टीको काम गरेका थिए ।

वि.सं. २०५२ सालमा जिल्ला समन्वय समितिको सदस्य भएका उनी २०५४ सालको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कपन गाविस वडा नं ४ को वडा सदस्यमा निर्वाचित भएका थिए । उनीसँग कपन गाविस विकास निर्माण अनुगमन समितिको पार्टी प्रतिनिधि, नागरिक वडा मञ्च संयोजकको समेत अनुभव रहेको छ ।

बूनपा ११ मा प्रचुर पर्यटकीय सम्भावना
निर्वाचनताका घोषणापत्रमा उल्लेख गरिएअनुसार नै आफूले काम गरिरहेको बताउने वडाध्यक्ष राजु अधिकारीले बूनपा ११ लाई बूढानीलकण्ठ नगरपालिकाकै मुख्य पर्यटकीय हब बनाउने लक्ष्य लिएका छन् । उनी भन्छन्, ‘हाम्रो वडामा धेरै बौद्ध गुम्बा र धार्मिक पर्यटकीय स्थलहरु मात्र नभएर काठमाडौं भ्याली नै देखिने उच्च भू-बनोट रहेकोले यस स्थानमा प्रचुर पर्यटकिय सम्भाबना रहेको छ ।’

घोषणापत्रमा जनाए अनुसार वडावासीमा पानी सहितको धारा, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, सडक निर्माण लगायतका मुख्य एजेण्डाहरु रहेता पनि आफ्नो वडामा खानेपानीको समस्या अझै समाधान नभएकोमा उनी केही सन्तुष्ट देखिन्थे ।

शैक्षिक कार्यक्रम
वडाभित्र भएका तीनवटै सामूदायिक विद्यालयमा प्राविधिक शिक्षाको शुरुवात गर्ने सोच अनुसार भौतिक संरचना र आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरेको उनले बताए । ग्रामशिक्षा उमाविमा ईलेक्ट्रोनिक ईन्जिनियरिङ प्राविधिक शिक्षा संचालन गराउन सफल भएका वडाध्यक्ष अधिकारीले वडा भित्रका ७ वटा प्राईभेट विद्यालयमा समेत शैक्षिक सुधार गर्दै अगाडी बढ्ने योजना रहेको जनाए ।

बूनपा ११ मा खानेपानी समस्या समाधान हुँदै
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा खानेपानीको कुनैपनि श्रोत नभएको कारण शिवपुरी बालुवाखानी सरसफाई योजनाबाट चार सय घरधुरी, राममन्दिर खानेपानी डिप बोरिङबाट थप चार घरधुरी लाभान्वित भईरहेको उनी बताउँछन् ।  वडाध्यक्ष अधिकारी भन्छन्, ‘फिल्टर प्लान्ट सहितको विन्दवासिनी र कपनटार खानेपानी उपभोक्ता समितिको काम सम्पन्न भई छिट्टै खानेपानी वितरण हुने क्रममा छ । प्राविधिकका अनुसार आठ सय घरधुरीले उक्त खानेपानीको उपभोग गर्न पाउनेछन् ।’ पैंयुटार चियान डाँडा खानेपानी उपभोक्ता समितिको ट्याङ्की निर्माण, बोरिङ र पाईपलाइन बिस्तार तथा खादादहको बोरिङबाट थप वडावासीहरु लाभान्वित हुनेमा उनी विश्वस्त देखिन्छन् ।

खानेपानीको दीर्घकालिन समस्या समाधान गर्न डा. राजन भट्टराईको महत्वपूर्ण भूमिका
कपन क्षेत्रमा खानेपानीको दीर्घकालिन समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महत्वपूर्ण भूमिका खेलिरहेको समेत उनले प्रष्ट पारेका छन् । उनी भन्छन्,‘खानेपानीको समस्या मात्र नभएर समाधानको श्रोत समेत नभएको बूनपा ११ मा खानेपानीको दीर्घकालिन समस्या समाधान गर्न डा. राजन भट्टराईको पहलमा मेलम्ची खानेपानी आयोजनाको टेण्डर आह्वान भई काम शुरु हुने अन्तिम तयारीमा रहेको छ ।’

बूनपा ११ प्रभावकारी स्वास्थ्य सेवा
स्थानीय तहको निर्वाचनपछि बूनपा ११ स्थित स्वास्थ्य चौकीमा वडा तथा नगरवासीको सेवा र सुविधाको लागि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न सफल भएको वडाध्यक्ष अधिकारी बताउँछन् । वडाको पहलमा विभिन्न चरणमा वडावासीलाई स्वास्थ्य परिक्षण, स्वास्थ्य शिविर र आखा शिविर समेत गरेर सेवा प्रवाह गरेको समेत उनले बताए ।

पुर्वाधार निर्माण
वडा भित्रका विभिन्न स्थानमा भित्रिबाटाहरु एक किलोमिटर पिच र ७ सय मिटर ढलान सम्पन्न गर्न सफल भएको उनी सुनाउँछन् । आनीगुम्बा डुवान क्षेत्रलाई डुवान मुक्त गर्न ढल जाम हुने ठाउँमा पुनः नयाँ संरचना निर्माण गर्ने क्रममा १४ करोडको टेण्डर आह्वान भई निर्माण कार्य अगाडी वढ्ने क्रममा रहेको समेत उनले जानकारी गराए ।

वडामा विभिन्न सीपमूलक तालिम
वडा कार्यालयले वडावासी महिला दीदीबहिनी तथा युवालाई लक्षित गरि अचार बनाउने, सिलाई बुनाई, गुडिया बनाउने, साबुन बनाउने लगायतका तालिम प्रदान गर्दै आइरहेको उनले बताए । विद्यार्थी लगायत अन्यलाई क्षमता अभिवृद्धि गर्न, उद्घोषण तालिम, आत्मरक्षा सम्बन्धी तालिम, विद्यालयका विद्यार्थीलाई संगीत, सहकारी कार्य संचालन सम्बन्धी तालिम प्रदान गरिरहेको वडाध्यक्ष अधिकारी बताउँछन् ।

बत्ती नपुगेको पैंयुटार उज्यालोमय
२० वटा पोलहरु विस्तार गरि लाईन तथा ईन्टरनेट सेवा वडावासीको पुहुँचमा पुर्याउन सफल भई साल्बिटारका ४०० घरधुरीलाई उज्यालोमय बनाएकोमा वडाध्यक्ष राजु अधिकारी खुशी व्यक्त गर्छन् ।

वडाभित्र सीसीटिभि तथा सडकबत्ती जडान
वडावासीको जनधन, शान्ति सुरक्षाका लागि प्रहरी प्रशासन तथा वडा कार्यालयलाई प्रत्यक्ष जानकारी हुने गरी वडाका विभिन्न मुख्य पाँच वटा चोकमा सीसीटिभि जडान गरिएको उनले बताए ।

वडाका महत्वपूर्ण ठाउँ तथा विभिन्न मुख्य चोकमा २०० वटा सडकबत्ती राखिएकोले वडावासीलाई साँझ बिहान हिड्डुल गर्न सहज हुनुको साथै विभिन्न अपराधिक गतिविधिमा समेत कमी आएको उनी बताउँछन् ।

बूनपा ११ मा ८ रोपनी सार्वजनिक जग्गा संरक्षण
वडावासीको सहयोगमा सरकारी स्वामित्वमा रहको सार्वजनिक जग्गामा बस्ती बसेको ठाउँलाई विस्थापित गरि सार्वजनिक जग्गा संरक्षण गर्न आफू सफल भएको समेत उनी बताउँछन् । वडाध्यक्ष अधिकारी भन्छन्, ‘जंगलादेवी वरपर नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा थियो त्यसलाई हामीले सामुदायिक स्वामित्वमा ल्याउन सफल भएका छौं । साथै फुलबारी टोलको सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्तीलाई समेत बिस्थापित गरी खानेपानी आयोजना संचालन गरिहेका छौं ।’

शहिदपार्क बूढानीलकण्ठ प्रवेशद्वार गेट निर्माण सम्पन्न भई हाल संचालनमा रहेको र झण्डापार्क वरपरको सार्वजनिक जग्गालाई समेत संरक्षण गरी त्यहाँ व्यवस्थित  पार्कको विकास गर्ने योजना रहेको वडाध्यक्ष राजु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्