वडाध्यक्षको घरबाट विप्लव समूहका ९ कार्यकर्ता पक्राउ



१० मंसिर २०७६, काठमाडौं

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका वडा नं १५ बाट ९ जनालाई पक्राउ गरेको छ।

उनीहरु नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएका बताइएको छ। धरान उप महानगरपालिकामा आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचन विथोल्ने उद्देश्यले यस्ता गतिविधि हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गर्दै आएको छ।

त्यसका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय धरानबाट परिचालन गरिएको प्रहरीको विषेश टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए।

विप्लव समूहको नाममा ठूलो रकम चन्दा मागेको गुनासो प्रहरी समक्ष पुगेको थियो। त्यसपछि प्रहरी परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार सोमबार साँझ धरान १५ का वडाध्यक्ष नरेश इवाराम लिम्बूको पुरानो घरमा डेरा गरी बस्ने उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा संखुवासभा सिलिचौंङ ३, ताम्कु घर भई हाल धरान ८ बरगाछी बस्दै आएका सुबास राई, धरान ८ का संजेश राई, संखुवासभा सिलिचौङका दिपेन्द्र राई, प्रबिन राई, उदिप रसाइली, उमेश राई, पदम राई, महेन्द्र राई र धरान ८ भोटेपुल बस्ने रमेश भन्ने कुमार ढकाल छन्।

उनीहरुको कोठाको खान तलासी लिँदा मोबाइल सेट थान १०, सिम १२ थान, नयाँ २.५ लिटरको प्रेशर कुकर थान १, आर्थिक सहयोग गरिदिन हुन भन्ने नेकपा विप्लवको हस्ताक्षर भएको पत्र थान २, नगद रकम १,१२,५०० (एकलाख बाह्र हजार पाँच सय), डायरी थान १, मोटर साइकल थान २ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

वडाध्यक्ष नरेश इङवारामले भने आफू पनि पक्राउ परेको भन्ने कुराको खण्डन गरेका छन्। उनले आफ्नो पुरानो घरमा गएको चैतदेखि डेरा गरेर बस्दै आएका ती युवाहरुसँगै आफू पनि पक्राउ परेको भन्ने कुरा झुठा भएको बताए।

प्रतिक्रिया दिनुहोस्