
०९ मंसिर २०७६, काठमाडौं
नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको हो ।
नक्सा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । उनले भने, डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं । यही विधिबाट रेखांकन गरिएको जानकारी समेत दिए । नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए ।
सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्सा तयार पारिएको विधि समेत उल्लेख गरे ।
नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए । उनले भने, हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको बताए । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो ।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्सा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरुै धन्यवाद छ ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गन नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे । उनले भने,भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक ।
पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । नक्सा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । संयुक्तराष्ट्रसंघसम्म नक्सा पुर्याउनेबारे विचार गरिएको उनको भनाई थियो ।





