[भ्रमण वर्षको पूर्वसंध्या]बौद्धनाथमा यत्रतत्र फोहोरको बोरा, सम्बन्धित निकाय मूकदर्शक



०८ मंसिर २०७६, काठमाडौं

‘बौद्धनाथ स्तुपा’ विश्व सम्पदा सूचीमा सूचीकृत विश्वको एक स्थल हो। यो अर्थमा बौद्धनाथ साँच्चै नै विश्वमा एक हुनुपर्छ। जसको लागि अहिले जस्तो छ, त्यस्तै अवस्थामा रहँन दिनु भएन। भनाइको तात्पर्य बौद्धनाथलाई जसरी हुन्छ, सफा अनि सुग्घर राख्नुपर्‍यो।

यत्रतत्र फोहोर छरिएको देखिनु, स्तुपाका भित्तामा आकार आकारका प्वालहरु देखिनु, लत्रिएका तारहरु लथालिङ्ग हुनु, अनि बोरामा प्याकिङ्ग गरिएका फोहोर पर्यटक बस्न राखिएको बेञ्चमुनि राखिनु बौद्धनाथका विशेषता जस्तै भइसक्यो।

हातका औंलाहरू छिट्टै सकिन्छन्, बौद्धनाथका खराबीलाई हातका औंलाहरू भाँचेर गन्ने हो भने।

कतै यत्रतत्र फोहोरहरु देखिन्छन् त कतै पर्यटकहरु बस्न बनाइएको बेञ्चमुनि बोरामा प्याक गरेर फोहोरहरु राखिएका छन्। तर, सम्बन्धित निकाय भने यसमा मूकदर्शक जस्तै बनेको छ।

बौद्धनाथको मूल ढोकानेर पर्यटक बस्ने बेञ्चमुनि देखिएको फोहोरको बोरा

दैनिकजसो सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने ठाउँमा यस्तो देखिनु साँच्चै नै निन्दनीय विषय हो।

नदेखेझैं फोहोर

बौद्धनाथ क्षेत्र विकास समिति र मेलम्ची घ्याङ गुठीले खटाएका सुरक्षाकर्मीहरु दिनैभरि स्तुपाभित्रै डुलिरहेका हुन्छन्।

तर, उनीहरु फोहोरको डङ्गुर/बोरा देखे पनि नदेखेझैं गरेर हिँड्छन्। विकास समितिका अध्यक्ष चद्रमान लामाले महिनौं अगाडि नै फोहोर व्यवस्थापन अभियान संचालन गर्ने बताएपनि हालसम्म बौद्धनाथको अवस्थामा भने परिवर्तन भएको देखिँदैन।

बौद्धनाथ स्तुपाको पूर्वपट्टि देखिएको अव्यवस्थित फोहोर

तुरुन्तै फोहोर हटाउन लाउँछुः वडाध्यक्ष लामा

बौद्धनाथ अवस्थित वडा, वडा नं ६ का अध्यक्ष दिपेन्द्र लामाले उक्त फोहोरबारे जिज्ञासा राख्दा फोहोर तुरुन्तै हटाउन लाउँछु भनेर प्रतिक्रिया दिए।

‘पहिले त त्यस्तो थिएन। अहिले पछिल्लो दिनहरुमा त्यहाँ एकदमै धेरै फोहोर देखिन थालेको छन् रे। म पनि त्यहाँ पुग्न पाएको छैन।’ अध्यक्ष लामाले भने, ‘त्यहाँ घुम्न आउने पर्यटकले भन्दा पनि त्यहाँका पसले तथा होटलेहरुले फोहोर फाल्ने गरेको भन्ने सुनेको छु। म तुरुन्तै उनीहरुलाई फोहोर हटाउन लाउँछु।’

‘नेपाल भ्रमण वर्ष’लाई असर?

नेपालले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाउने तीव्र तयारी गरिरहेको छ।

तर, भ्रमण वर्षको पूर्वसंध्यामा बौद्धनाथजस्तो विश्व सम्पदा सुचीमा सुचीकृत स्थलको ताल भने नाजुकै छ।

त्यहाँ त्यस्तो देखिनु ‘नेपाल भ्रमण वर्ष’ सफल नहुनु हो भनेर पनि बुझ्न सकिन्छ। सरकारको २० लाख पर्यटक भित्र्याउने चाहनालाई यो अवस्थाले लत्याउँछ भनेर नभन्न सकिँदैन।

प्रतिक्रिया दिनुहोस्