सन् २०३५ सम्ममा चीनले प्रतिघण्टा ४५०० किलोमिटर गुडने द्रुत रेल बनाउँछ : चिनियाँ प्रो.डा. लिमिङ



०६ मंसिर २०७६, काठमाडौं

नेपाल चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आज काठमाडौंमा आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा चिनियाँ पार्टी स्कूल एकेडेमीका भाईस डिन प्रोफेसर डा. ओयु लिमिङले सन् २०३५ सम्ममा चीन आधारभूत आधुनीकीकरणमा प्रवेश गर्ने बताउँदै उक्त समयसम्ममा उच्च स्तरको रेल सेवाको गति प्रतिघण्टा पैतालिस सय किलोमिटर हुने दावी गरे ।

प्रोफेसर लिमिङले अहिले विश्वको सबैभन्दा बढी उच्च गतिको रेल यातायातमा तेह्र लाख ६० हजार किलोमिटर रेल मार्ग निर्माण गरी प्रतिघण्टा तीन सय ५० किलोमिटर गतिको ट्रेन चलाईरहेको समेत जानकारी गराए ।

पश्चिमा देशहरुले तीन सय बर्षमा प्राप्त गरेको उपलब्धी चीनले ७० बर्षमा नै प्राप्त गर्नुमा कम्युनिष्ट पार्टीको नीति र नेतृत्व सही छ भन्ने प्रमाणित गरेको बताए ।

यो पनि हेर्नुहोस् :

बर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एण्ड रोड परियोजनाले शान्ति कुटनीतिको सन्देश दिदै हरेक देशहरुलाई विकासको साझेदार बनाउने संकल्प गरेको समेत जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बसन्त कुमार नेम्वाङले राष्ट्रपति सीको भ्रमणले पार्टी–पार्टी र देश–देश बिचको विश्वास र पारस्परिक सम्बन्ध बढाउन आशा पलाएको बताए ।

संस्थाका उपाध्यक्ष सांसद गणेश ठगुन्नाले सन् २००९ सालमा स्थापना भएको नेपाल चीन हिमालय मैत्री समाजले दुई देशका जनताको सम्बन्ध सुदृढ र प्रगाढ बनाउन बिभिन्न कार्यक्रम गरिरहेको जानकारी गराए ।

कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य आनन्द प्रसाद पोखरेलले राष्ट्रपति सी को भ्रमण समयमा गरिएका समझदारी अनुसार जनताजनता बिचको सम्बन्ध स्थापित गराउन आफ्नो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय आदानप्रदान विभागका डिभिजन डाइरेक्टर हु वाङ जुन, चिनियाँ कम्युनिष्ट पार्टी दक्षिण पूर्व एसियाकी सचिव चङ (कमरेड सरला), चिनियाँ कम्युनिष्ट पार्टी सदस्य ज्यान च्याङ चङ लगायत नेकपा केन्द्रिय कमिटीका सदस्य तथा ३ नं. प्रदेश कमिटीका बिभिन्न विभागमा रहेका र काठमाडौंका विभिन्न जिम्मेवारीमा रहेका जनप्रतिनिधि तथा पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्