इजरायली प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप



०६ मंसिर २०७६, काठमाडौं

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ।

प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महँगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो।

महान्यायाधिवक्ता अवीचै मन्डेपब्लिटले तीन छुट्टाछुट्टै विषयमा प्रधानमन्त्री नेतान्याहूले चरम भ्रष्टाचार गरेको आरोप लगाएका हुन्।

आरोपको खण्डन गर्दै प्रधानमन्त्री नेतान्याहूले आफूमाथि कलंकित आरोप लगाउने प्रयास भएको बताए। उनले बामपन्थी विरोधीहरुले आधारहीन आरोप लगाएको दावीसमेत गरेको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री नेतान्याहूले आफूमाथि लगाइएको आरोप राजनीतिक प्रतिशोधका लागि भएकाले छानविन गरेर पुष्टि गर्न चुनौतीसमेत दिएका छन्।

महान्यायाधीवक्ता मन्डेलब्लिटले इजरायलमा कानुनमाथि कोही नरहेकाले उक्त घटनाको पनि छानविन हुने बताए। उनले नेतान्याहूमाथिको आरोप प्रतिशोधका लागि नभएकोसमेत दावी गरे।

त्यहाँ गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनमा कुनै दलले स्पष्ट बुहमत ल्याउन नसकेपछि नयाँ सरकार गठन हुन सकेको छैन।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्