नेकपा सचिवालय बैठक शुरु, मन्त्रिपरिषद् हेरफेरबारे छलफल हुँदै



०४ मंसिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा मन्त्रिपरिषद् पुनर्गठनमा पर्ने मन्त्रीको नाम, सभामुख चयन र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए।

सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। त्यस लगत्तै दुवै अध्यक्ष राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए।

सचिवालय बैठकपछि आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ। प्रधानमन्त्रीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव फेर्ने प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री ओलीले सभामुखका लागि पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको नाम प्रस्ताव गरेका छन्। सिंगापुरमा उपचारका लागि जाने समयमा सहमति भएअनुसार पार्टीको जिम्मेवारी पूर्णरुपमा प्रचण्डलाई दिन ओली सकारात्मक भएका छन्।

आजको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन, अध्यक्षको कार्यविभाजन, प्रधानमन्त्री ओलीको स्वास्थ्यलगायतका सबै विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्