अध्यक्ष प्रचण्डलाई उज्यालो दिने प्रकाश सबैलाई रुवाउँदै निभे !



०३ मङ्सिर २०७६, काठमाडौं

बाल्यकाल :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र आमा सीता दाहालको कोखबाट तीन छोरीहरु ज्ञानु दाहाल, रेणु दाहाल र गङ्गा दाहालपछि परिवारको कान्छो सन्तानका रुपमा २०३८ साल असार १७ गते बुधबार चितवन जिल्लाको शिवनगरमा जन्मिएका थिए – साकार दाहाल अर्थात कमरेड ‘प्रकाश’ !

क. प्रकाश जन्मिएको समयमा अध्यक्ष प्रचण्ड पार्टीको पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो । त्यसैले आफ्ना ४ सन्तानको लालनपालनको जिम्मेवारी आमा सीता दाहालको काँधमा थियो । यद्धपी परिवारको कान्छो सन्तान भएकोले प्रकाश परिवारका प्रिय पात्र थिए ।

२०४३ सालमा दिदी गंगा दाहालसँग नारायणगढको बालकुमारी प्राथमिक विद्यालयमा भर्ना भएका प्रकाश सानैदेखि असल, ईमान्दार र जिज्ञासु मात्र होईन कतिपय अवस्थामा हठी स्वभावका थिए ।  प्रकाश १४ वर्षका हुँदा २०५२ साल फागुन १ गते ने.क.पा. (माओवादी) ले दीर्घकालीन जनयुद्धको घोषणा गर्‍यो । आफ्नै बुवा प्रचण्ड पार्टीका महामन्त्री र जनयुद्धका कमाण्डर भएकाले प्रकाश समेत राज्यको निगरानीमा परे ।

सशस्त्र क्रान्तिको घोषणापछि प्रचण्ड परिवारको सुरक्षा निकै चुनौतिपूर्ण रह्यो । चितवन वा काठमाडौं बस्न असुरक्षित भएपछि प्रचण्ड परिवार भारत पलायन हुन पुग्यो । २०५७ सालमा +२ उतिर्ण गरेका प्रकाशलाई अध्यक्ष प्रचण्डले सोहि समयबाट पार्टीको पूर्णकालीन कार्यकर्ता बनाए ।

जनयुद्धको क्रान्तिदेखि बुवासँगै बालुवाटारको यात्रासम्म :
२०५७ सालपछि प्रकाश अध्यक्ष प्रचण्डको सचिवालयमा रहेरै रोल्पा–रुकुमका बस्तीहरु जनयुद्धमा खटे । जनमुक्ति सेनाको आधारभूत तालीम लिएका प्रकाशलाई पार्टीको निर्णय अनुसार नै हेडक्वार्टरको सुरक्षामा खटाईएको थियो ।

अध्यक्ष प्रचण्डले चाहनुभएको भए आफ्नो एकमात्र छोरोलाई विदेशी कलेजमा उच्च शिक्षा हासिल गराउन कुनै समस्या थिएन । तर अध्यक्षले आफ्नो छोरालाई युद्धमोर्चामा होमेर मृत्युको सङ्कल्पसहित आफ्नै सारथी बनाउनु भयो । प्रचण्ड सचिवालयमा रहँदा प्रकाशको जिम्मेवारी अध्यक्षको सूचना व्यवस्थापन, सचिवालय र सुरक्षा घेरामा रहेर काम गर्नु हुन्थ्यो । प्रविधि र हतियारसम्बन्धि तालीममा पोख्त प्रकाशले धेरै सहयोद्धालाई तालिम समेत दिएका थिए ।

०६३ असार २ गते सरकार र माओवादीबीच ८ बुँदे सम्झौता भएर प्रचण्ड पहिलोपटक सार्वजनिक हुँदा प्रकाश पनि बुवा प्रचण्डसँगै देखिए । खुला राजनीतिमा आएपछि समेत प्रकाशको जिम्मेवारी अध्यक्ष प्रचण्डकै सचिवालय सम्हाल्ने थियो । त्यो बेला प्रकाश प्रचण्डसँगै देशव्यापी चुनावी सभाहरुमा दौडिए । शान्तिकालमा समेत प्रचण्डको सुरक्षा चुनौति निकै उच्च थियो । त्यसैले अध्यक्षको सुरक्षामा प्रकाश आफैँ खटिन्थे ।

अध्यक्ष प्रचण्ड नेपालको ३३ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रकाश पनि प्रचण्डसँगै स्वकीय सचिवको रुपमा बालुवाटार छिरे । जनयुद्ध कालजस्तै त्यो बेलापनि प्रकाशले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई नजिकबाट सघाए ।

पार्टीका युवाहरुले संचालन गरेको ‘लुम्बिनी–सगरमाथा अभियान’को तर्फबाट २०६९ जेठमा कृष्ण केसी नेतृत्वको टोलीले सगरमाथाको सफल आरोहण गर्दा प्रकाश दाहाल, बीना मगर लगायत १२ जनाको युवा टोलीले सगरमाथाको चुचुरोमा नेपालको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा मात्र होइन, अध्यक्ष प्रचण्डको तस्वीर पनि पुर्‍याएका थिए ।

तनावपूर्ण दाम्पत्य जीवन :
प्रचण्डका सहयात्री पोष्टबहादुर बोगटी ‘दिवाकर’ कि छोरी प्रभा बोगटीसँग दिल्लीमा रहँदा प्रकाशको पहिलो विवाह २०६२ फागुन १२ गते भयो । वैवाहिक जीवन भौतिक रुपले सुखद् हुन नसकेपछि २०६४ जेठ २२ मा प्रभा बोगटीले प्रकाशसँग सम्बन्ध बिच्छेदका लागि पार्टीमा निवेदन दिइन् । ‘प्रभाको प्रस्तावमा आफूहरुबीच विवाह भएको, शारीरिक र भावनात्मक सम्बन्ध हुन नसकेको उल्लेख गर्दै आपसी समझदारीमै सम्बन्ध विच्छेद गरिदिन’ निवेदन दिएकी थिईन् । प्रकाश र प्रभाबीचको समझदारी र आग्रह बमोजिम पार्टीले २०६४ जेठमा उनीहरुको औपचारिक सम्बन्ध बिच्छेद गरिदियो ।

सम्बन्ध बिच्छेद पनि बिक्षिप्त बनेका प्रकाशलाई विक्षिप्तपनबाट मुक्ति दिन आमा सीताले माइतीसँग सल्लाह गरी पोखराकी सिर्जना त्रिपाठीसँग उनको दोश्रो मागी विवाह गरिदिनुभयो । २०६९ साल मंसीर १ गते पहिलो सन्तानको रुपमा प्रसिद्ध दाहालको जन्म भएपनि प्रकाश–सिर्जनाको सम्बन्धमा हार्दिकता आउन सकेन । त्यस्तै तनावपूर्ण अवस्थामा सिर्जना माइतीमा गएर बस्न थालिन् ।

सिर्जनासँग तिक्ततापूर्ण सम्बन्ध रहेकै समयमा प्रकाश लामो, कठिन र चुनौतिपूर्ण  सगरमाथा आरोहणमा लागे । जहाँ प्रकाश र बीना मगर भावनात्मक रुपमा जोडिए । सगरमाथा आरोहणबाट फर्केपछि प्रकाश–सिर्जना सम्बन्धमा थप तिक्तता बढ्यो । अन्तत: २०६९ असार २१ गते बीना मगरसँग प्रकाश औपचारिक दाम्पत्य जीवनमा गाँसिए ।

बीना मगरसँग बिहे गरेपछि पार्टीले प्रकाशलाई अनुशासनको कारवाही गरी जिम्मेवारीबाट मुक्त गर्‍यो । सोहि समयमा पार्टी हेडक्वार्टर बैठकले प्रकाश र सिर्जनाको सम्बन्ध बिच्छेद गरिदिने औपचारिक निर्णय पनि गर्‍यो । पार्टीको नीतिगत रुपमा प्रकाश र सिर्जनाबीच सम्बन्ध बिच्छेद भएपनि कानूनी रुपमा सम्बन्ध बिच्छेदको प्रक्रियामै रहेका बेला ३६ वर्षकै अल्पायुमा हृदयघातको कारण प्रकाशको ईहलिला समाप्त भयो । जुनबेला दोस्रो सन्तानका रुपमा बीना मगरको कोखबाट प्रणव दाहालको जन्म भईसकेको थियो ।

प्रचण्डका दाहिने हात :
व्यवस्थापनमा निकै चतुर र पोख्त प्रकाश अध्यक्ष प्रचण्डको सचिवालयको सबै व्यवस्थापन आफै गर्थे । प्रशासन क्षेत्रमा समेत उनको सम्बन्ध र प्रभाव लोभलाग्दो थियो । प्रत्येक व्यक्तिसँग सहज र हार्दिकताका साथ कुराकानी गर्नु उनको दैनिकी नै थियो । काम गर्न र गराउन पोख्त प्रकाश देशभरिका नेता/कार्यकर्तालाई परेका समस्या आफैं समाधान गर्थे ।

सामान्य जीवनशैली बिताउने प्रकाश ठेलाको म:म र  सडकपेटीको चियामा रमाउथे । सामाजिक सञ्जालमा निकै सक्रिय प्रकाशलाई लाखौं युवाले पछ्याउँथे ।  अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा  १० महिने कार्यकालमा जति नमूनायोग्य काम भए त्यसको महत्वपूर्ण हिस्सा प्रकाशलाई नै दिन सकिन्छ ।

प्रकाश अध्यक्ष प्रचण्डका ‘सम्पर्क सूत्र’, असल छोरा, स्वकीय सचिव र सल्लाहकार पनि थिए । कतिपय विषयमा प्रचण्डसँग सहज बहस गर्न सक्ने उनको खुवीले गलत घेरा तोड्न प्रचण्डलाई निकै बल पुगेको थियो । आफ्नो बाबुप्रति अत्यन्तै समर्पित छोरा प्रकाशलाई आफ्नो जीवनभन्दा प्रचण्डको राजनीतिक भविष्य र देशकै चिन्ता लागिरहन्थ्यो ।

एमाले र माओवादी केन्द्रबीच नयाँ समीकरण र पार्टी एकताको तयारीको सूचना मात्र पनि सार्वजनिक हुँदा एकता सङ्कटमा पथ्र्यो, त्यो परिस्थितिमा प्रकाश अध्यक्षको सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मी र सवारी चालक समेत आफैं हुन्थे । असोज १७ को चुनावी तालमेल र पार्टी एकताको सङ्कल्पका लागि जे–जति बैठकहरु भए, त्यसको सम्पूर्ण तयारी र व्यवस्थापन प्रकाशले नै गरेका थिए ।

प्रकाश जनमुक्ति सेना हुँदै तत्कालीन ने.क.पा. (माओवादी केन्द्र) का पोलिट्व्यूरो सदस्यसमेत थिए । सबै नेताहरुसँग सन्तुलित र हार्दिक सम्बन्ध राख्ने उनी ‘वचनका पक्का’ थिए । बोलेको कुरा गरेरै छाड्ने प्रकाश प्रचण्डसँग जोडिने आधाजसो झमेला उनी आफैं मिलाउँथे । सरल स्वाभाव, सबैसँग छिटै घुलमिल गर्ने, ‘हाँसीमजाक’ गर्न रुचाउने उनको स्वाभावले लाखौं शुभेच्छुक जन्माएको थियो ।

निर्वाचनको दौरानमा निभेको प्रकाश :
देश प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमय भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड झापामा थिए । २०७४ साल मंसीर ३ गते बिहानै प्रकाश दाहालको हृदयघातका कारण निधन भएको खबर आयो । प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं आई नर्भिक अस्पतालका पुग्दा चिकित्सकहरुले हृदयघातका कारण निधन भएको घोषणा गरे । शवको पोष्ट मार्टम नै नगरी प्रकाशको शव पेरिसडाँडाको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखी  बेलुका पशुपति आर्यघाटमा प्रकाशको अन्त्येष्टी गरियो ।

प्रकाशको निधनले देश नै स्तब्ध भयो । अस्पताल–पार्टी केन्द्रीय कार्यालय हुँदै पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौं शुभेच्छुक स्वत स्फूर्त रुपमा जम्मा भए । प्रकाशको निधनले परिवारको सुयोग्य सन्तान मात्र गुमाएन, देशले सम्भावना बोकेको एक उदीयमान नेता गुमाएको छ । लाखौं युवाहरुले आफ्नो प्रिय साथी गुमाए, वामपन्थी आन्दोलनले एक होनाहार कार्यकर्ता गुमायो !

प्रतिक्रिया दिनुहोस्