‘अस्तव्यस्त बूनपा १ लाई पर्यटकीय गन्तव्य बनाउँछु’ : वडाध्यक्ष सुरेन्द्र लामा



०५ मंसिर २०७६, काठमाडौं

साविक चपली भद्रकाली गाविस वडा नं ५ मा वि.सं.२०३१ सालमा जन्मिएका सुरेन्द्र लामा २०४६ सालको घरघरमा सदस्य बनाउने अभियानबाट कम्युनिष्ट राजनीतिमा प्रत्यक्ष रुपमा जोडिएका हुन् ।

वि.सं. २०५०/५१ सालको निर्वाचनमा सक्रिय भूमिका खेलेका लामाले साविक चपली भद्रकालीमा कम्युनिष्टको जमात कम भएका कारण काँग्रेससँग हार स्विकार्न बाध्य हुनुपरेको तितो अनुभव सुनाए । त्यसबेला बामपन्थी बिचारधाराका मानिस ज्यादै कम मात्रामा भएता पनि उनलाई कम्युनिष्ट विचारधारा छोड्न मन लागेन ।

युवा संघ गठन पश्चात साविक चपली भद्रकाली युवा संघको ईन्चार्ज भएर नेतृत्व सम्हालेका वडाध्यक्ष लामाले महासचिव प्रणालीबाट अध्यक्ष प्रणाली भए पछी विं सं. २०६८ सालमा चपली भद्रकाली गविसको पार्टी कमिटी उपाध्यक्ष समेत भएर काम गरेका थिए । उनले वि.सं. २०७१ साल मंसिरबाट बूढानीलकण्ठ नगरपालिका वडा नं १ तत्कालिन नेकपा एमालेको पार्टी कमिटी अध्यक्ष भएर पार्टीको काम गरेका थिए ।

समाज सेवा, राजनीति मात्र नभएर एक सफल युवा व्यवसायीको रुपमा समेत चिन्न सकिन्छ सुरेन्द्र लामालाई । वि.सं. २०५० सालबाट भन्सार एजेन्टको रुपमा काम गर्दै आएका युवा उद्यमी लामाले २०५७ सालमा आफ्नै कार्यालय स्थापना गरी हालसम्म पनि आयात निर्यातको कामलाई निरन्तरता दिईरहेका छन् ।

वडाध्यक्ष लामाले व्यापार र राजनीति मात्र नभएर विभिन्न सामाजिक काममा समेत आवद्धता जनाएका छन् । उनी नेपाल उशु एशोसिएशन, सनातन धर्म सेवा समाज, भन्सार एजेन्ट महासंघ लगायत विभिन्न संघ संस्थामा आवद्ध रहेका छन् ।

सामाजिक काममा समेत अब्बल रहेका वडाध्यक्ष सुरेन्द्र लामाले टोल छिमेक र स्थानीयरुपमा विगतदेखि नै योगदान पुर्‍याएका कारण २०७४ सालको स्थानीय चुनावमा उनलाई वडावासीले वडाध्यक्षमा सहज जित दिलाए ।

वडाध्यक्ष लामाले स्थानीय निर्वाचनको घोषणापत्रमा सहज रुपमा खानेपानी वितरण, सडक निर्माण, विजुली बत्ति, फ्रि ईन्टरनेट, गुणस्तरीय शिक्षा, पर्यटकीय वडा लगायतका एजेण्डाहरु समेटी पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

बूढानीलकण्ठ नगरपालिका भरिमै सबैभन्दा पिछडिएको वडा मानिने बूनपा १ मा आफू निर्वाचित भएपछि लगभग घोषणा पत्रमा उल्लेख भएका मागहरु प्राय सम्बोधन भएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘बूनपा १ को भौगोलिक बनावट र बिकटताका कारण अरुमा भन्दा यहाँ बिकास निर्माणका काम गर्न थप चुनौती छ ।’

खानेपानी
विगतमा चपली भद्रकाली गाविसका ५ वटा वडामा खानेपानी ब्यवस्थापन अस्तव्यस्त रहेकोमा हाल सबै वडालाई मर्च गरी खानेपानीको समस्या समाधान गर्न एकिकृत खानेपानी उपभोक्ता व्यवस्थापन समिति गठन गरिएको वडाध्यक्ष लामा बताउँछन् ।  उनी भन्छन्, ‘शिवपुरी राष्ट्रिय निकुञ्जसँग प्रत्यक्ष रुपमा जोडिएको बूनपा १ मा छरिएको बस्ती भएका कारण भूगोलको आधारमा ३०० घरधुरी लाभान्भित हुने गरि विभिन्न स्थानमा गरी ५ वटा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ ।’

सडक निर्माण
निर्वाचन पश्चात वडाको पहलमा केन्द्रीय सरकारको बजेट मार्फत निर्माण सम्पन्न गरिएको पञ्चकन्यादेखि निलोपुल सम्मको २ किलोमिटर सडक उत्तरी भेगकै पहिलो सडक भएको उनी दावी गर्छन् । वडा भित्रका विभिन्न स्थानमा ढलान सम्पन्न गरिएको १ हजार ९ सय मिटर बाटो, फुलबारी हुँदै दिपक खड्काको घरजाने साँघुरो १६ फिटे बाटोलाई ६ मिटर कायम गरी वडाको पहलमा निर्माणाधिन रहेको उनले बताए ।

सडक बत्ती
वडाका मुख्य स्थान तथा सडकमा पहिलो र दोस्रो चरण गरी १९ वटा सोलार लाईट र ५५ वटा स्मार्ट लाईट जडान गरिएपछि वडावासीले साँझ बिहान निर्धक्कसँग आवतजावत गर्न पाएकोमा उनी खुशी ब्यक्त गर्छन् ।

शैक्षिक कार्यक्रम
बूनपा १ मा एक मात्र आधारभूत विद्यालय श्री जय भद्रकाली अधारभूत विद्यालय भएका कारण शैक्षिक गुणस्तरमा सुधार ल्याउन वडाले खानेपानी, शैक्षिक सामग्री, कम्प्युटर, पूर्वाधार विकास, शिक्षकको दरबन्दी अपुग भएका कारण नीजि स्रोत मार्फत वडाबाट सहयोग गरिरहेको उनले बताए ।

वडाले गरिव, जेहेन्दार विद्यार्थीलाई बिभिन्न विद्यालयमा छात्रावृत्तिको ब्यवस्था गर्नुको साथै विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि समेत छलफल गरि त्यसै अनुरुप काम गरिरहेको बताए ।

पर्यटकीय वडा
वडाको पहलमा पर्यटन मन्त्रालयबाट ५० लाख बजेट विनियोजन गरि पर्यटन प्रवर्द्धनका लागि चौकी डाँडामा पार्क निर्माण गरिने, तौलुङ चतारा झ्याङदर गुम्बासँगै छेउछाउमा ढुङ्गा विछ्याउने, वाल लगाउने, ज्येष्ठ नागरिक बस्ने स्थान बनाईएको र सोही स्थानमा पार्क निर्माण गरि विभिन्न सार्वजनिक काम गर्न, वडावासीले प्रयोग गर्नको लागि तालिम दिन, सोही स्थानमा तीनतले सामुदायिक भवन बनाएको उनले जनाए ।

आर्थिक संलग्नता
वडावासीको आर्थिक सुधार तथा पर्यटन प्रवर्द्धनको लागि कम्युनिटी होमस्टे संचालन गर्ने मुख्य योजना रहेको । आर्थिक उन्नति वढाउन हाउस किपिङको लागि ६ जनालाई रोजगारीको अवसर दिएको, वडाका १५ जनालाई जव स्किल ट्रेनिङसँग सम्झौता गरि तालिम दिएर विभिन्न संघसंस्थामा रोजगारको व्यवस्था गरेको, होमस्टे प्रवर्द्धनका लागि वडाका ५५ जना निरक्षर महिलालाई अङ्ग्रेजी तथा नेपाली भाषा कक्षा संचालन गरिरहेको उनले जानकारी गराए ।

फोहोर व्यवस्थापन
महिलाहरु स्वरोजगार हुन् भन्ने उद्देश्यले फोहोर व्यवस्थापनको लागि बूढानीलकण्ठ महिला मञ्चलाई वडाको सक्रियतामा फोहोरलाई मोहोर बनाउने कार्य भईरहेको उनले बताए ।

आगामी योजना
आफ्नो कार्यकालमै वडाको भवन बनाउन सर्र्भे गरि जग्गा पहिचान भएको र डिपिआर निर्माण भईरहेको उनले सुनाए । डुकुर्नी सामुदायिक बनमा भएको पिकनिक स्पोर्टलाई व्यवस्थित गरि आर्थिक पाटोमा जोड दिन पार्क, मनोरञ्जनात्मक स्थान बनाउन पहल गरिने, पर्यटनसँग जोडेर नागी गुम्बा धार्मिक स्थान बनाउने, खप्तड बाबा समाधी, बाघद्वार, झ्याङदर गुम्बा, नेडुप शेडुप गुम्बा, शिवपुरी राष्ट्रिय निकुञ्जको मूख्य भाग समेत आफ्नै वडामा रहेकोले बौद्ध धर्मावलम्वीको मूख्य आकर्षण हुने भएकोले धार्मिक पर्यटकिय स्थल बनाउन सकिने उनको धारणा रहेको छ ।

हाल बूनपा १ मा २ वटा पाँच तारे होटल निर्माणाधिन अवस्थामा भएका कारण त्यसमा आफ्नो क्षमता अनुरुपको रोजगारीका लागि वडावासीलाई पहिलो प्रथामितामा राख्न समेत पहल गरिरहेको जानकारी गराए ।

खानेपानीका पाईपहरु खोलामा अस्तव्यस्त रुपमा रहेकाले त्यसलाई व्यवस्थापन गर्ने, वडालाई सफा सुन्दर बनाउन दुर्गन्धित खोलालाई सफा गर्ने, प्राविधिक खटाई खानेपानीका पाईपलाईनको व्यवस्थापन गर्ने लगायतका कामहरु भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्