आजको सम्पादकीय : नयाँ मन्त्रीमा ‘यथोचित पात्र’देखि असमावेशी दलहरुसम्म



०३ मङ्सिर २०७६, काठमाडौं

आज प्रकाशित विभिन्न दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्न लागेको, मेडिकल कजेजमा देखिएको वेथिती एवं अर्थतन्त्रमा देखिएको शंकुचनलगायतका विषयमा सम्पादकीय लेखेका छन् ।

नागरिक दैनिकले सरकारलाई थप गतिवान् बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको विषयलाई आजकोे सम्पादकीय बनाएको छ । ‘यथोचित पात्र’ शीर्षकमा सम्पादकीयमा भनिएको छ –प्रधानमन्त्री ओलीले त्यस्ता व्यक्तिलाई मन्त्री बनाउन्, जसले सिंगो मन्त्रिमण्डललाई ऊर्जा प्रदान गर्न सकुन् । जुटलाई भन्दा योग्यतालाई ध्यान दिन सक्ने हो भने सफलता अवश्यम्भावी छ ।

भारतले सार्वजनिक गरेको आफ्नो मुलुकको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय सीमाभित्र राखेपछि नेपालभित्र त्यसको व्यापक विरोध भएको विषयलाई सुल्झाउन सुझाव दिँदै आजको नेपाल समाचारपत्रले सम्पादकीय लेखेको छ । ‘कूटनीतिक प्रयासलाई प्राथमिकता’ शीर्षकमा लेखिएको सम्पादकीयमा कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद नेपालको भूमि भएकाले भारतसँग कूटनीतिक माध्यमबाट पहल गर्न सके प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीको महत्व रहनेछ ।
गोरखापात्रले सार्वजनिक महत्वको ऐतिहासिक टुँडिखेलको अनधिकृत अतिक्रमण रोकी सर्वसाधारणका लागि खुला हुनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनको विषयमा आज सम्पादकीय लेखेको छ । ‘टुँडिखेलको संरक्षण’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –आन्दोलनलाई कसैको विरोधभन्दा पनि विशुद्ध सामाजिक दायित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिँदै बढ्दो बसोवास र निर्माणले सहरलाई प्रदूषित तथा असुरक्षित बनाउँदै लगेकाले खुला स्थान, परम्परागत पानीको स्रोत, सांस्कृतिक–धार्मिक महत्वका क्षेत्रको सुरक्षा गर्दै सुन्दर सहरको विश्व अभियानमा नेपालले पनि योगदान दिनसक्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीनवटा मेडिकल कजेजमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको विषयलाई आजको नयाँ पत्रिकाले सम्पादकीय बनाएको छ । ‘मेडिकल कलेजमा छापा’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –तीनवटा मेडिकल कलेजमा छापा मारिएपछि लामो समयदेखि मेडिकल शिक्षमा ठगी भयो भन्दै उठिरहेको आवाजलाई सरकारले सुनेको सन्देश गएको छ ।्

आजको कान्तिपुरले लामो राजनीतिक जागरण र आन्दोलनको प्रतिफलस्वरुप मुलुकको मुहार समावेशी बन्दै जाँदा पनि राजनीतिक दलहरु अझै असमावेशी रहेको भन्दै सम्पादकीय लेखेको छ । सम्पादकीयमा राज्यको निकायमा महिलाको समानुपातिक सहभागीता भएपनि दलहरुमा नदेखिएको उल्लेख गरिएको छ । ‘असमावेशी दलहरु’ शीर्षकमा लेखिएको सम्पादकीयमा संविधान र कानुनले दलहरु पनि राज्यका निकायजस्तै समावेशी हुनुपर्ने प्रष्ट उल्लेख गरेको छ तर दलहरुले आफैंले बनाएको संविधानको मर्मलाई पालना नगरेको उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश वाणिज्य बैंकको नाफा संकुचित हुनुले अर्थतन्त्रमा संकुचनकोस संकेत भएको उल्लेख गर्दै आजको अन्नपूर्ण पोस्ट्ले ‘अर्थतन्त्रमा संकुचन’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादीयमा भनिएको छ –विकास खर्चकोको विद्यमान अवस्थामा सार्थक हस्तक्षेप नहुँदा सरकारले लक्ष्य गरेको उपलब्धी हासिल नहुने त छँदैछ, निजी क्षेत्रको विस्तारमा पनि अवरोध पुग्छ । यसले अर्थतन्त्रको अपेक्षित विस्तारमा धक्का पुग्ने देखिन्छ ।

आजको आर्थिक अभियानले मेडिकल कलेजमा देखिएको बेथितिकोे विषयमा सम्पादकीय लेखेको छ । ‘मेडिकल शिक्षामा बेथिति’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –धेरैले मेडिकल कलेज सञ्चालकहरु सत्ता र राजनीतिक दलको नजिक छन् । निजी मेडिकल कलेज एशोसिएशनले त्यही भएर शुल्क घटाउनु वा फिर्ता गर्नुपरे कलेज नै बन्द गर्ने चेतावनी दिन दुस्साहस गर्न सकेको हो ।

त्यस्तै अर्को आर्थिक दैनिक कारोबारले सरकार र निजी क्षेत्रले मनाइरहेको कर सप्ताहको विषयमा सम्पादकीय लेखेको छ । ‘करदाताको सम्मान गरौं’ शीर्षकमा लेखिएको सम्पादकीयमा ‘राजस्व बढाउन आर्थिक गतिविधि पनि बढाउनुपर्नेमा झन्झटिलो करकै कारण आर्थिक गतिविधि बढ्न सकेको छैन’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्