अध्यक्षद्वय छुट्टाछुट्टै आन्तरिक छलफलमा: यी हुन् सम्भावित मन्त्रीहरु



०२ मंसिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टाछुट्टै छलफलमा जुटेका छन्।

मन्त्रिपरिषद्का सदस्य परिवर्तनका विषयमा ओली बालुवाटारमा र प्रचण्ड खुमलटारमा छलफलमा जुटेका हुन्। ओलीले महासचिव विष्णु पौडेलसहितका आफू निकटका नेतासँग छलफल गरेका छन्।

कुन कुन मन्त्री हटाउने र नयाँ जिम्मेवारी कसलाई दिने भन्ने विषयमा ओलीले आन्तरिक छलफल गरेका हुन्। यस्तै अर्का अध्यक्ष प्रचण्ड पनि बिहानैदेखि छलफलमा जुटेका छन्। पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेतासँग प्रचण्डले अनौपचारिक छलफल गरिरहेका छन्।

ओली र प्रचण्डबीच दिउँसो हुने निर्णायक छलफलका आधारमा सकभर आजै मन्त्रिपरिषद्का सदस्य परिवर्तन हुने एक सचिवालय सदस्यले बताए।

सम्भावित मन्त्रीहरुः

अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलका आधारमा कति मन्त्री नयाँ बनाउने भन्ने विषयले को को मन्त्री हुन्छन् भन्ने टुंगो लाग्नेछ।

तर, दुई अध्यक्षबीचको भेटवार्ताको समय भने अहिलेसम्म तय नभएको बालुवाटार स्रोतले जनाएको छ। एक सचिवालय सदस्यकाअनुसार पहिले तयार पारेको सूचीअनुसार कृषिमन्त्री चक्रपाणी खनाल, उद्योगमन्त्री मात्रिका यादव, समान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र वनमन्त्री शक्तिबहादुर बस्नेत परिवर्तन हुनेछन्।

पछिल्लो समय भने पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ५ गरी जम्मा आठ जना मन्त्री परिवर्तनको विषय पनि छलफलमा रहेको छ। स्रोतकाअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शहरी विकासमन्त्री मोहम्मद इस्तेयाक राई, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, कानुनमन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडा र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई कायम राखेर अन्य मन्त्री परिवर्तन गर्ने ओलीको इच्छा छ।

नयाँ मन्त्रीको सम्भावित नाममा घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ, महेश बस्नेत, अग्नी सापकोटा, लेखराज भट्ट, देवेन्द्र पौडेल, प्रभु साह, पम्फा भुसाल, पूर्णकुमारी सुवेदीलगायत रहेका छन्।

मन्त्री बन्नेहरुको सूचीमा कति जना हटाउने भन्ने निर्णयका आधारमा निर्धारण हुनेछ। जम्मा पाँच जना हटाउने वा ८ जना वा त्यो भन्दा पनि धेरै हटाउने भन्ने निर्णय अध्यक्षद्वयको छलफलका आधारमा निर्णय हुनेछ।

दुई अध्यक्षबीच सहमति नभएमा भने मन्त्रिपरिषद्का सदस्य परिवर्तन हुने छैनन्।

प्रतिक्रिया दिनुहोस्