प्रेस रिभ्यू : भारतसँग वार्ताको तयारी, नख्खु जेलमा आलमसँग ४ जनाको भेट-सरकारी वकिलको सरुवा



०२ मङ्सिर २०७६, काठमाडौं

सोमबार मंसिर २ गते, काठमाडौँबाट प्रकाशित हुने प्रायः सबै राष्ट्रिय दैनिकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘देशको एक इन्च भूमि पनि मिच्न नदिने’ भनि दिएको अभिव्यक्तिलाई प्रमुखताका साथ छापेका छन् । ओलीले नेपाली भूमि मिचेर बसेको सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका छन् ।

यस्तै मन्त्रिपरिषद् आंशिक फेरबदल हुने, सीएमसी, नेशनल र नोबेल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको लगायतका समाचार पनि प्रमुखताका साथ छापिएको छ ।

मन्त्रिमण्डल पुनर्गठनको तयारी

अन्नपूर्ण पोस्टमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको खबर छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । उनले यसबारे पार्टीमा जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको र छिट्टै पुनर्गठन हुने बताएका हुन् ।

कान्तिपुर दैनिकले चाहिँ मन्त्रिपरिषद् आंशिक फेरबदल हुने खबर छापेको छ । ओलीले केही मन्त्रीहरुलाई मात्रै हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन् । ‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो, तर आइतबार कार्यसम्पादनका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ’, एक नेताले भने, ‘अरु प्रधानमन्त्रीको अधिकार हो हेरौँ के गर्नुहुन्छ ।

नागरिक दैनिकमा नेकपा बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको खबर छापेको छ। ‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ। त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस् । बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ। यसले सरकारको कामलाई ढिलासुस्ती गराउँछ’, बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको थिए। एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढिला नगर्ने बताएका थिए। ‘प्रधानमन्त्रीले ढिला नगर्ने भन्नुभएको छ। उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु हेरफेर गर्ने सम्भावना छ’, उनले भने । यस विषयमा ओलीले सोमबार निर्णय गर्न सक्ने बताइएको छ।

सेना फिर्ता लैजानुस्ः प्रधानमन्त्री

अन्नपूर्ण पोस्टले प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना हट्ने बताएको खबरलाई प्रमुखताका साथ छापेको छ । आफूलाई अरुको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च पनि कसैलाई नछाड्ने ओलीको भनाइ छ । उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका छन् । यस्तै गोरखापत्र, नागरिक, नयाँ पत्रिकालगायतले पनि प्रधानमन्त्रीको भनाइलाई महत्वका साथ छापेका छन् ।
अन्नपूर्णले नै अतिक्रमित भूमि फिर्ता गर्न सरकार भारतबीच कूटनीतिक तहमा वार्ता हुन लागेको खबर छापेको छ । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न निर्देशन दिएका छन् । लगत्तै त्यसको पहल भएको हो । ‘काम भइरहेको छ, छलफल पनि भइरहेका छन् । हामी छिट्टै वार्ताको चरणमा प्रवेश गर्नेछौँ’ परराष्ट्र सचिव शंकर वैरागीले भने, ‘यो विषयलाई किनारा लगाउनेतर्फ अग्रसर छौँ ।’
नागरिक दैनिकले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामस्थित सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको खबर छापेको छ। एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको छ।

तीन मेडिकल कलेजमा छापा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा हानेको खबरनयाँ पत्रिका दैनिकले छापेको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेशनल मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विभागबाट खटिएको टोलीले छापा हानेर कागजात लिएको हो । पत्रिकाले तीन बर्षमा विभिन्न मेडिकल कलेजले तीन अर्ब ठगेको पनि समाचारमा उल्लेख गरेको छ ।
यता गोरखापत्र दैनिकले मेडिकल शिक्षा नीति नियमनमा समस्या भएको खबर छापेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त देवकोटाले मेडिकल शिक्षालाई सुधार गर्न सरकार, विश्वविद्यालय र मेडिकल कलेजबीच समन्वय जरुरी रहेको बताएका छन् । मेडिकल कलेजलाई सिट दिने, नदिने विषयमा अख्तियारको हस्तक्षेप बेहोर्नु परेको स्मरण गर्दै अख्तियार अदालतजस्ता वैधानिक निकायको हस्तक्षेप भएको बताए ।

सेवाग्राहीलाई हानि गरे तलब कट्टा

गोरखापत्र दैनिकले सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पु¥याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको खबर छापेको छ । सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलपछि उक्त व्यवस्था थप गर्ने गरी मस्यौदा तयार पारिएको छ । विभागीय मन्त्री, सचिव तथा समितिको छलफलमा आएको रायअनुसार उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो । विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।
विधेयकका सम्बन्धमा सर्वपक्षीय छलफलको प्रारम्भिक मस्यौदा प्रतिवेदन अहिले समितिमा दफाबार छलफलमा छ ।

नयाँ पत्रिका दैनिकले ‘आलम आतंक’ भन्दै मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा भएको खबर छापेको छ । मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता फणीन्द्रराज कटवालको आइतबार मकवानपुर सरुवा भएको हो । असुरक्षा महसुश भएको भन्दै उनले सरुवा मागेका थिए ।

सोही पत्रिकाले आलमलाई नख्खु कारागारमा भेट्न धेरै इच्छुक रहेको तर चारजनालाई मात्रै भेटेको खबर छापेको छ । उनलाई भेट्न आइतबार रौतहटबाट १२ जना भन्दा धेरैको टोली नख्खु कारागार पुगेको थियो । तर, चारजनालाई मात्रै भेट्न पाए । उनलाई बिहान ११ बजेपछि रौतहट काँग्रेसका सभापति कृष्ण प्रसाद यादव तथा आफन्तले भेटेका थिए । अन्यलाई भने कारागारमा राजनीति नचल्ने भन्दै प्रवेश नै दिइएन ।

प्रतिक्रिया दिनुहोस्