ओली–प्रचण्डबीच छलफल शुरु, आजैदेखि पार्टीको जिम्मा प्रचण्डलाई



०१ कार्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यविभाजनका विषयमा छलफल शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच कार्यविभाजनका विषयमा छलफल भएको स्रोतले जनाएको छ। दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी छन्।

मन्त्रिपरिषद्का सदस्य परिवर्तन र अध्यक्षद्वयको कार्यविभाजनका विषयमा छलफल गर्न दिउँसो ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको थियो।

सचिवालय बैठकले आजैदेखि पार्टी बैठकको अध्यक्षता गर्ने, बैठक बोलाउने, निर्णय कार्यान्वयन गर्न लगाउनेलगायतका जिम्मेवारी प्रचण्डलाई प्रदान गर्ने स्रोतले जनाएको छ।

पूर्वसहमतिअनुसार पार्टीको सबै जिम्मेवारी प्रचण्डलाई दिने र ओलीले सरकारलाई प्रभावकारी पार्ने विषयमा दुई अध्यक्षबीच सहमति भएको एक सचिवालय सदस्यले बताए।

सचिवालय बैठकले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने अधिकार पनि अध्यक्षद्वयलाई दिनेगरी महासचिव पौडेलले प्रस्ताव गर्ने तयारी छ। पोलिटब्यूरो सदस्य गठनका विषयमा समेत आजको बैठकमा छलफल हुने स्रोतले जनाएको छ।

यसअघि शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण आइतबार (आज) ४ बजेका लागि डाकिएको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्