नेपाल–भारत सीमास्तम्भ डिजिटल प्रणालीमा लगिँदै



०१ मंसिर २०७६, काठमाडौं

सरकारले नेपाल–भारत सीमास्तम्भलाई डिजिटल प्रणालीमा लैजाने तयारी गरेको छ।

नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक गरेर डिजिटल प्रणालीमा लैजाने तयारी नापी विभागले गरेको हो।

त्यसका लागि प्रत्येक स्तम्भको अवस्थिति र निर्देशांक लगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताए।

‘नम्बर अनुसार प्रत्येक सीमास्तम्भको सम्पूर्ण तथ्यांकसहितको ‘डाटाबेस’ विभागले तयार गरेको छ,’ उनले भने, ‘यसमा नक्साको कोर्डिनेट (अवस्थिति) भएको हुँदा पिलर सार्ने सम्भावना हुँदैन, सारिएको खण्डमा पनि पुरानै ठाउँमा राख्न सकिन्छ।’

सुस्ता र कालापानीबाहेक क्षेत्रका आठ हजार पाँच सय ५३ वटा पिलरको लगत लिने काम सकिएको विभागले जनाएको छ। विभागका अनुसार चार हजार पिलरको लगत लिने काम भइसकेको छ।

त्यसमध्ये दुई हजार चार सय पिलर ठूला नदीमा पर्छन्। सीमाक्षेत्रमा साना–ठूला गरी ५७ वटा नदी छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्