विकासमा फड्को मार्दै बूनपा ७ : सडक निर्माणदेखि जग्गा संरक्षणसम्म



२९ कात्तिक २०७६, काठमाडौं

वि.सं. २०४६ सालको प्रजातान्त्रिक आन्दोलनबाट राजनीतिमा जोडिएका बस नारायण महर्जन २०५१ सालदेखि तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको चुनावी अभियानमा जोडिएर राजनीतिक रुपमा सक्रिय हुन थाले ।

वि.सं. २०५१ देखि नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ, पिपुल्स भोलेन्टियर, जनसाँस्कृतिक मञ्च  हुँदै २०५७ सालमा पार्टी कमिटी तत्कालिन खड्का भद्रकाली गाउँ कमिटीको सदस्य भए । सदस्य भएको ठिक १० वर्षपछी २०६७ सालमा पार्टी गाउँ कमिटिको अध्यक्षमा चुनिए ।

नयाँ संघीय संरचना अनुसार ६ गाविस मिलेर बनेको बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ७ मा पहिलोपटक भएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित उनै महर्जनसँग स्थानीय विकास निर्माण सम्बन्धि गरिएको कुराकानीको सारसंक्षेप :

तपाईको वडामा भएका विकास निर्माणका मुख्य कामहरु के–के हुन ?
जनताको मतले बूनपा ७ को वडाध्यक्षमा निर्वाचित भए पश्चात वडावासीको मन जित्दै हामीले विकास निर्माणका मुख्य कामहरु सडक निर्माण, पुल निर्माण, साना बाटालाई ठुला बनाउने, विभिन्न स्थानमा सडक विस्तार, पार्क सहितको झर्ना, विभिन्न साना सडकमा ढुङ्गा र ब्लक विछ्याउने, सार्वजनिक जग्गा संरक्षण, सामुदायिक भवन निर्माण लगायतका विभिन्न काम गरेका छौं ।

विकास निर्माणमा वडावासीको सहयोग कत्तिको पाउनुभएको छ ?
खानेपानीको पाईपलाईन विस्तार, ट्याङ्की निर्माण, सामुदायिक भवन निर्माण, १३ फिट भन्दा साना बाटोमा ढुङ्गा तथा ब्लक छाप्ने काम, १३ फिट भन्दा ठूला सडक पिच गर्ने, सडक विस्तारको क्रममा १० फिटेलाई १८ फिटे सम्म बनाउने, सार्वजनिक जग्गा संरक्षण लगायतका काममा हामीलाई वडावासीले हरहमेसा सहयोग गरेका छन् ।

चुनावी घोषणापत्र अनुसार नै गर्नु भएको छ कि थप अरु पनि छन् ?
घोषणापत्रमा गरिएको प्रतिबद्धता अनुसार नै वडा भित्रका सम्पूर्ण बाटाघाटा निर्माण पुरा गर्ने, प्रत्येक घरमा पानी सहितको धारा उपलब्ध गराउने भनिएको थियो त्यो अहिले पुरा भएको छैन र चाँडै नै पुरा हुनेमा वडावासी ढुक्क भए हुन्छ । कान्तिपुर टोल र युनिक टोलमा सामुदायिक भवन निर्माणाधिन अवस्थामा रहेका छन् । डट्ठु गाउँमा पार्क निर्माण गरि पार्कमा झर्ना बनाई ढुङ्गा विछाएको, डट्ठु गाउँलाई कलात्मक बनाउने तयारी गरिरहेका छौं ।

आगामी योजनामा स्वास्थ्यचौकी व्यवस्थापन गर्ने, अतिक्रमण गरिएका सार्वजनिक जग्गा संरक्षण गर्ने तथा पार्क निर्माण गर्ने लगायत वडावासीलाई पर्याप्त खानेपानी उपलब्ध गराउन शिवपुरीबाट ल्याएको पानीलाई थप व्यवस्थित गर्ने र एउटा भएको बोरिङलाई थप दुई वटा बनाई वडावासीलाई पर्याप्त मात्रामा पानी वितरण गर्नेछु ।

घोषणापत्रमा जनाईए अनुसार वडा नं ७ मा एउटा अत्याधुनिक हल बनाउने भनिएता पनि त्यो अहिले सम्भव भएन त्यसको सट्टा पान्चोक भवनलाई नै कलात्मक बनाउने तयारीमा रहेका छौं ।

आगामी दिनमा तपाईँले चुनावी घोषणापत्र पुरा गर्नु हुन्छ कि हुदैन ?
आगामी दिनमा मैले वडावासीको मन जित्न चुनावी घोषणा पत्र अवश्य पनि पुरा गर्छु र मैले गरेका वाचा पुरा गर्नुपर्छ यो मेरो दायित्व हो । मैले घोषणापत्रमा गर्न नसक्ने कुनै पनि किसिमका योजना ल्याएको छैन त्यसैले मलाई कुनै समस्या छैन ।

तपाईले गरेका विकास निर्माणका काममा वडावासी सन्तुष्ट छन् त ?
विकास निर्माणको क्रममा गर्नैपर्ने काम धेरै छन् । सबै पुरा गर्न त बजेटको पनि आवश्यक्ता पर्छ र त्यसको लागि समय पनि बाँकि नै छ । त्यसकारण सबै वडावासी सन्तुष्ट नहुन पनि सक्छन् । विकासका काम समयमै सम्पन्न नहुदा वडावासी दु:ख व्यक्त गर्नु स्वभाविक नै हो । त्यसैले प्राय वडावासी सन्तुष्ट छन् थोरै मात्रामा असन्तुष्ट पनि छन् म वहाँहरुलाई पनि चाँडै नै खुशी पार्छु ।

विकास निर्माणको क्रममा तपाईले पाउनुभएका सफलता र भोगेका चुनौतिहरु के–के हुन् ?
सडक निर्माण र सार्वजनिक जग्गा संरक्षणमा धेरै समस्याहरु खेप्नुपर्‍यो र त्यो स्वभाविक हो ।  सार्वजनिक जग्गा मिची लगाई राखिएको पर्खाल भत्काउन बाध्य भएका छौं । विगतदेखि भोग चलन गर्दै आएको दावी गरी सार्वजनिक जग्गा हडप्न खोजेको देखियो । वडावासीको सहयोगमै त्यस किसिमका जग्गा संरक्षण गर्न हामी सफल भएका छौं ।

विकास निर्माणको क्रममा गर्न चाहेका तर गर्न नभ्याएका कामहरु केहि छन् कि ?
विकास निर्माणको क्रममा गर्न चाहेको र नभ्याएको भन्नु पर्दा सामाखुशी खोलो अतिक्रमण भएको छ त्यसलाई खोल्न र व्यवस्थापन गर्न आवश्यक छ । त्यसपश्चात वडास्तरीय जनचेतनामूलक कार्यक्रम गर्ने, युवा तथा महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी सक्षम बनाउने लगायतका कामहरु बाँकी छन् ।

अन्यमा, वडावसीलाई तपाई के भन्न चाहनुहुन्छ ?
विकास भनेको एकै दिनमा हुने काम होइन । यसको लागि योजना, समय र आवश्यक बजेट चाहिन्छ । त्यसैले आगामी दिनमा वडावासीको सरसल्लाह अनुसार नै सम्पूर्ण टोलमा ढल, साईडड्रेन सहितको बाटो निर्माण गरि आवतजावतलाई सहज बनाउन हामी जनप्रतिनिधि प्रतिबद्ध छौं ।

प्रतिक्रिया दिनुहोस्