नेकपा अध्यक्षद्वयबीच सघन छलफल हुँदै



२९ कार्तिक २०७६, काठमाडौं

मन्त्रीहरुको हेरफेर तथा पार्टी नेतृत्वको जिम्मेवारीबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच सघन छलफल हुने भएको छ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल हुने बालुवाटार उच्च स्रोतले जनाएको छ।

दुई अध्यक्षबीच बहिर्गमनमा पर्न लागेका र नयाँ आउने मन्त्रीहरुका बारेमा निर्णय हुने बताइएको छ। दुई अध्यक्षको छलफलपछि मात्रै सचिवालय बैठक बस्ने र उक्त बैठकबाट मन्त्रिमण्डल हेरफेरबारे ठोस निर्णय गर्ने नेताहरुको तयारी छ।

यसअघि गत बिहीबारै बस्ने भनिएको सचिवालय बैठक पर्याप्त गृहकार्य नपुगेको भन्दै स्थगित हुँदै आएको थियो। दुई नेताको छलफलमा कुरा मिले शुक्रबार साँझ मन्त्रिपरिषद्को बैठक समेत बोलाउने सम्भावना रहेको एक मन्त्रीको भनाइ छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्