प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा स्वीकृत



२९ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सहित ६ जनाले दिएका राजीनामा स्वीकृत भएको छ।

बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्रीको सचिवालयका सबै कर्मचारीले राजीनामा दिएका थिए।

राजीनामा दिएकामध्ये प्रेस सल्लाहकार कुन्दन अर्याल, विकास विज्ञ घनश्याम भट्टराई, जन–सम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटो ग्राफर कृष्ण पौडेल र स्वकीय अधिकृत उदय पोखरेलको राजीनामा स्वीकृत भएको हो।

राजीनामा स्वीकृत गरिएका कर्मचारीहरुलाई अहिलेसम्म आधिकारीक जानकारी दिइएको छैन। प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी, स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सहसचिवमा होम थापा, स्वकीय उपसचिवमा दिपेन्द्र दाहाल, रामशरण बजगाई र चेतन अधिकारी कार्यरत थिए।

यीमध्ये अधिकारी प्रेस संयोजकको जिम्मेवारीमा थिए भने बजगाईले सामाजिक संजाल हेर्ने जिम्मेवारी पाएका छन्। कृष्ण पौडेल र उदय पोखरेल पनि संचार टीमकै सदस्यका रुपमा कार्यरत थिए।

अस्गर अलि सहित अर्को टीम प्रधानमन्त्रीको अवैतानिक सल्लाहकारको रुपमा रहेको छ। यो टीमले आइटी हेर्ने जिम्मेवारी पाएको छ। राजीनामा बुझाएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामला सल्लाहकार राजन भट्टराईको भने राजीनामा स्वीकृत नभएको जनाइएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्