सडक विभागमा कपनवासीको धर्ना : पिच हैन ढलानको माग



२८ कार्तिक २०७६, काठमाडौं

लामो समयदेखि आनिगुम्बा साततले सडक निर्माण कार्यमा भएको ढिलासुस्ती बारे बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ का जनप्रतिनिधि सहितको  टोलीले सडक विभागका प्रमुख ईन्जिनियर सुदर्शन कार्कीसँग छलफल गरेका छन् ।

करिव १०० जना स्थानीय र जनप्रतिनिधिको टोलीले सडक विभागमा साततले आनीगुम्बा निर्माण कार्यले गति नलिए अब चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

छलफलमा स्थानीय लगायत जनप्रतिनिधिले साततले आनीगुम्बा सडक बर्खामा बढी प्रभावित भई पिच भत्किने तथा उक्किने हुनाले अब उक्त ठाउँमा पिच नभई ढलानको माग समेत गरेका छन् । साथै जनप्रतिनिधिले पिचको सट्टा ढलान गर्दा लागत खर्च समेत कम हुने जानकारी गराए ।

 

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले शिवपुरी चोक देखि रुद्रमति चोकसम्म भएको पीचको गुणस्तर चेक गरी  पुन: गर्नुपर्ने, रोडको साईडवाल पुन: लगाउनुपर्ने, मंगालमा फोहोर तथा ढुङ्गा थुप्रिएको, मंगालमा कभर नहालिएको, पुरानो विग्रीएको मंगाल मर्मत गर्नुपर्ने, जताततै बाटोमा गिटी तथा बालुवा थुपारेर गाडी छिर्न समस्या भईरहेकाले आगामी दिनमा छिटोभन्दा छिटो कपनवासीले यसको समाधान खोजिरहेको जनाए ।

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले ठेकेदारले सडक विभागको काममा अवरुद्ध आएर काम नगरेको भनेर बाहाना बनाएको भन्दै काममा समस्या आयो कसरी समाधान गर्ने भनेर स्थानीय सरकारसँग समन्वय नगरेकोमा दु:ख व्यक्त गरे । वडाध्यक्ष अधिकारी भन्छन्, ‘काम अवरुद्ध भयो भनेर एक वडाध्यक्षलाई मात्र फोन गर्नुस् त्यसको समाधानका लागि ५–७ मिनेटमा हामी तीन वटै वडाका जनप्रतिनिधि जहाँ भन्नुहुन्छ त्यही सहभागी हुन्छौ ।’

बूनपा १२ का वडाध्यक्ष शम्भु भट्टराईले बर्खामा पानी परेर काममा समस्या देखाउने, हिउँदमा काममा अवरोध आयो भनेर बहाना बनाउने, ढल भत्काएर नबनाएको, मंगाल तथा ड्रेनको क्वालिटी गुणस्तरहिन रहेको जानकारी गराए । उनले भने, ‘ठेकेदारले अब काम हुन्छ हामी शुरु गर्छौ भनेर धेरै आश्वसन देखाए तर काम गरेनन् । त्यसैले त्यस किसिमका कामको जवाफ अब ठेकेदारले होइन सडक विभागले दिन आवश्यक छ ।’

स्थानीयहरुले सडक विभागमा, ‘नित्य सञ्जिवनी लामा एण्ड वाईवा जेवी’ कन्ट्रक्सनले सडक निर्माण कार्यमा पूर्णता दिनेमा आशंका व्यक्त गर्दै अब हामीलाई वाईवा जेवी प्रति विश्वास छैन बरु ठेकेदार कम्पनी फेर्नु भनी आक्रोश व्यक्त गरेका छन् ।

छलफलमा सडक विभागका डिई कैलाश श्रेष्ठले देखाएको गैरजिम्मेवारीपन प्रति बूनपाका वडाध्यक्ष लगायतको टोलीले घोर भत्र्सना समेत गरेका छन् । स्थानीय जनप्रतिनिधिसँगको छलफलमा विभागका डिई श्रेष्ठ अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्