आजको सम्पादकीय : साक्षीको सुरक्षा, कूटनीतिक सम्बन्ध र टुँडिखेल अतिक्रमणसम्म



२८ कात्तिक २०७६, काठमाडौं

आज प्रकाशित विभिन्न राष्ट्रिय अखबारले नेपाल भारतबीचमा देखिएको सीमा समस्या र शाक्तिशाली व्यक्ति संलग्न भएका अपराधका मुद्दाको साक्षीको सुरक्षासहित विविध समाजिक विषयमा सम्पादकीय लेखेका छन् ।

शक्तिशाली व्यक्ति संलग्न भएका गम्भीर फैजदारी अपराधका मुद्दाहरुमा साक्षीहरुलाई आरोपितले आर्थिक प्रलोभन देखाउने, डर र धम्की दिने घटनाहरु एकपछि अर्को गरी देखिरहेको उल्लेख गर्दै कान्तिपुर दैनिकले ‘साक्षीको सुरक्षा’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयम भनिएको छ –राज्यले पीडित र साक्षीको सुरक्षाका उपायहरु अपनाउन विशेष व्यवस्था गर्न आवश्यक छ । सम्बन्धित मुद्दामा सत्यको पक्षमा प्रमाण पु¥याई पीडितलाई न्याय र पीडकलाई कारबाही दिलाउन साक्षीलाई सुरक्षा प्रत्याभूति दिलाउनैपर्छ ।

चक्रपथ विस्तारका क्रममा सरकारीतवरबाट ४०० रुख काटिएको विषयलाई आजको नागरिकले सम्पादकीय बनाएको छ । ‘जथाभावी रुख नकाटौं’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –चक्रपथ विस्तारका लागि रुख काट्ने क्रममा सरकार र उसको निकाय काठमाडौं चक्रपथ सुधार योजना नराम्ररी चुकेको पाइएको छ ।

नयाँ पत्रिका दैनिकले नेपाल र बंगलादेशबीच रहीआएको सम्बन्धको चर्चा गर्दै आजकोको सम्पादकीयमा अहिले राष्ट्रपति महोम्मद अब्दुल हमिदको भ्रमणपछि द्वीपक्षीय भ्रमण आदान प्रदान र आर्थिक सहकार्यमा ठोस आधार तयार गर्नुपर्नेमा जोड दिएको छ । सम्पादकीयमा भनिएको छ –नेपाल र बंगलादेशबीच जेजति मात्रामा सहयोग आदानप्रदान र खासगरी आर्थिक लगानी र व्यापारिक सम्बन्ध विस्तार हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

विगत केही समयदेखि नेपालीमा केही उच्चस्तरीय कूटनीतिक भ्रमणहरु हुन थालेकाले त्यसलाई आर्थिक क्षेत्रको विस्तारम सदुपयोग गर्नुपर्ने सुझाव दिँदै आजको कारोबार दैनिकले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा नेपालले बलियो उपस्थिती देखाउनुपर्नेमा जोड दिएको छ । ‘द्वपक्षीय सम्बन्धको फड्को’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ – भारतकै कारण सार्क शिखर सम्मेलन रोकिएका र अहिलेको अवस्थामा सार्क मुलुकहरुबीचका द्विपक्षीय वा त्रिपक्षीय सम्बन्धालाई पुनर्ताजगी गराउनुपर्ने आवश्यकता छ ।

काठमाडौं उपत्यका देखिएको पार्किङ समस्यालाई उजागर गर्दै गोरखापत्र दैनिकले सम्पदा क्षेत्रमा भइरहेको पार्किङको विषयमा सम्पादकीय लेखेको छ । ‘सम्पदा क्षेत्रमा पार्किङ’ शीर्षकमा विश्वसम्पदा सूचीमा परेका वशन्तपुर दरबारस्वाएर क्षेत्रलगातका अन्य क्षेत्रमा पार्किङ गरेर पैदल यात्रुसहित आगन्तुक पर्यटकलाई समस्या सिर्जना भएको र सहरी क्षेत्रमा पार्किङसहितको भवन निर्माणमा जोड दिनुपर्ने उल्लेख गरेको छ ।

आजको अन्नपूर्ण पोस्ट्ले टुँडिखेलस्थित खुलामञ्चसँगैको जमिन अतिक्रमणमा परेको विषयलाई आजको सम्पादकीय बनाएको छ । अतिक्रमणमा महानगरपालिका र गुठी संस्थान संलग्न रहेको पाइएको उल्लेख गर्दै ‘टुँडिखेलबाट अतिक्रमण हटाऔं’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ –ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व रहेको टुँडिखेललगायत अक्रिमण तत्काल हटाउनुपर्छ ।

नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली २०७६’ को आठौं संशोधनका प्रावधानको विरोध गर्दै आन्दोलन गर्न लागेको विषयमा आजको आर्थिक अभियानले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –विकास निर्माणका ठेक्कामा धेरै नै बदमासी हुने गरेको छ । यस्तो बदमासी गर्ने कम्पनीलाई कारबाही गर्दा कसैले कारबाही गर्दैन । बरु जनसमर्थन नै मिल्छ ।

भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको विषयमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थनका विषयमा आजको नेपाल समाचारपत्र दैनिकले ‘प्रतिपक्षको प्रशंसा’ शीर्षकमा आजको सम्पादकीय लेखेको छ । सम्पादकीयमा ऐतिहासिक तथ्य र तथ्यांकका आधारमा वार्ता गरेर नेपाल र भारतबीचमा देखिएको सीमा समस्याहरु समाधान गर्नुपर्नेमा जोड दिइको छ ।

प्रतिक्रिया दिनुहोस्